मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार १२ शुक्रबार १२:३२:००
Read Time : > 1 मिनेट
अर्थ

बागमती प्रदेशले छुट्यायो सडक आयोजना र सुरुङमार्ग निर्माणलाई दुई अर्ब ३९ करोड बजेट 

Read Time : > 1 मिनेट
२०७७ असार १२ शुक्रबार १२:३२:००

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेटमा प्रदेशका जिल्लाहरूलाई समेट्ने गरी सडक आयोजना र सुरुङमार्ग निर्माणलाई प्राथमिकतामा राखेको छ ।

दीर्घकालीन आयोजनामा समेटिएको सडक र सुरुङमार्ग निर्माणका लागि प्रदेश सरकारले आगामी आवमा दुई अर्ब ३९ करोड ६० लाख बजेट विनियोजन गरेको छ । 

आर्थिक मामिला तथा कानुन मन्त्रालयले तयार पारेको कार्यक्रम विवरणअनुसार तीनवटा सडक आयोजना र भीमफेदी–कुलेखानी सुरुङमार्गका लागि आगामी आवको बजेटमा दुई अर्ब ३९ करोड ६० लाख छुट्याइएको छ ।

अर्थ विविध शीर्षकमा छुट्याइएको सडक आयोजना र सुरुङमार्गको बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहनेछ ।  

प्रदेश सरकारले दोलखामा ४४ किलोमिटर सडक निर्माणका लागि नाै करोड २५ लाख रकम छुट्याएको छ । 

दोलखाको सीताको थान–झ्याँकु हुँदै जुँगु गाउँपालिका–५ जोड्ने सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । 

सिन्धुपाल्चोकको बलेफी–जलबिरे–तोम्बाथानका लागि दुई  करोड ६५ लाख र बाह्रबिसे–धुस्कुन–पिस्कर सडक आयोजनाका लागि सात करोड ९० लाख रकम विनियोजन गरिएको छ ।

सुरुङमार्गका लागि एक अर्ब
बागमती प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा लिएको हेटौँडा–काठमाडौं छोटो सडक खण्डअन्तर्गत पर्ने भीमफेदी–कुलेखानी सुरुङमार्गका लागि आगामी आर्थिक वर्ष ०७७/७८ मा एक अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

१५ अर्ब लागत अनुमान गरिएको सुरुङमार्ग तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइने प्रदेश सरकारको दाबी छ । 

प्रदेश सरकारले सुरुङमार्गकै लागि भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत विभिन्न शीर्षकमा तीन करोड ६० लाख रुपैयाँ थप बजेट बिनियोजन गरेको छ । 

सुरुङमार्ग निर्माण खर्चका लागि दुई करोड, आयोजनाका लागि एक करोड, आवश्यक इन्जिनियरिङ तथा अन्य मेसिनरी औजार, ल्याबका सामग्री खरिदका लागि २० लाख, डिजाइन रिभ्यु कार्यका लागि २० लाख, प्रोक्युरमेन्ट डकुमेन्ट रिभ्यु कार्यका लागि २० लाख छुट्याइएको मन्त्रालयले जनाएको छ । 

निर्माणाधीन मदन भण्डारी मार्ग र सुरुङमार्ग निर्माणका लागि मुआब्जा वितरण गर्न एक करोड रुपैयाँ छुट्याइएको बजेटमा उल्लेख छ । 

आगामी आवको सुरुवातमै सुरुङमार्गको टेन्डर आह्वान गर्ने मन्त्रालयको तयारी रहेको सचिव तेजराज भट्टले बताए । 

वातावरणीय प्रभाव मूल्यांकन, माटो परीक्षणलगायत केही प्राविधिक परीक्षणहरूको अध्ययन अन्तिम चरणमा पुगेको मन्त्रालयका सचिव भट्टले जानकारी दिए । 

यस सुरुङमार्ग २.२५ किलोमिटर लम्बाइ, ११ मिटर फराकिलो र दुई लेनको हुनेछ ।