मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार १२ शुक्रबार ०४:५६:००
Read Time : > 1 मिनेट
समाचार

चट्याङ लागेर सप्तरीमा चार र  मकवानपुरमा दुईको मृत्यु

Read Time : > 1 मिनेट
२०७७ असार १२ शुक्रबार ०४:५६:००

चट्याङ लागेर सप्तरी र मकवानपुरमा बिहीबार ६ जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । सप्तरीमा वर्षासँगै परेको चट्याङ लागेर डाक्नेश्वरी नगरपालिका–९ लक्षणपटीकी ३० वर्षीया ललितादेवी यादव, राजगढ गाउँपालिका–४ बेल्हीचपेनाका ४६ वर्षीय केसीलाल साह, महादेवा गाउँपालिका–२ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादवको मृत्यु भएको छ ।

ललिता धान रोप्दा र केसीलालको आफ्नै खेतमा काम गरिरहेका वेला चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले बताए । केसीलाल शिक्षक हुन् । छेदी र बेचनको कोसी ब्यारेज किनारमा पूजाको सामग्री सेलाउन गएको वेला चट्याङ लागेको हो । दुवैको नदी किनारमै मृत्यु भएको डिएसपी भारतीले बताए । 

चट्याङ लागेर राजगढ गाउँपालिका–२ बेल्ही चपेनाकी १८ वर्षीया आशा मण्डल, कञ्चनरूप नगरपालिका–११ की ३० वर्षीया नदीमा खातुन र ३५ वर्षीय बद्री सरदार तथा हनुमाननगर कंकालिनी नगरपालिका–१ का ५५ वर्षीया रुना सदा घाइते भएका छन् । आशा घरमै तथा खातुन, सरदार र सदा खेतमा काम गर्दा चट्याङ लागेर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । एकजना बिहीबार नै डिस्चार्ज भएका छन् भने अन्य तीनजनाको अवस्था सामान्य रहेको छ । 

यस्तै, मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिकामा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार बिहान अविरल वर्षासँगै चट्याङ लागेर बकैया गाउँपालिका–२ कालापानीस्थित घरमै बसिरहेकी १७ वर्षीया सम्झना घिसिङ र २५ वर्षीया विना घिसिङको मृत्यु भएको हो । सम्झनाको घटनास्थलमै र विनाको उपचारका क्रममा मृत्यु भएको डिएसपी इन्द्रबहादुर रानाले बताए । 

चट्याङ लागेर १४ वर्षीय किरण जिम्बा घाइते भएको छन् । उनको दोभान स्वास्थ्य चौकीमा उपचार भइरहेका छन् । किरणको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।