Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
जीवन बस्नेत काठमाडौं
२०७७ असार ११ बिहीबार ०७:४१:००
Read Time : > 1 मिनेट
अर्थ

काठमाडौंवासीको मेलम्चीको पानी पिउने सपना याे वर्ष पनि पूरा नहुने

Read Time : > 1 मिनेट
जीवन बस्नेत, काठमाडौं
२०७७ असार ११ बिहीबार ०७:४१:००

-काठमाडौंमा झार्ने दिन तोक्न सकिँदैन : खानेपानी सचिव    

- साउनमा पानी वितरण थाल्छाैँ : मन्त्री मगर

बहुप्रतीक्षित राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना निर्माण पूरा हुने दिन तोक्न नसकिने खानेपानी तथा सरसरफाइ मन्त्रालयले स्पष्ट पारेको छ । बुधबार संघीय संसद्को विकास समितिमा उपस्थित मन्त्रालयका सचिव माधव बेल्बासेले मेलम्चीको पानी कुन दिन काठमाडौं आइपुग्छ भनेर किटान गर्न नसकिने बताए । ‘मिति तोकेर मन्त्रालय विवादित हुन पनि चाहँदैन,’ उनले भने । मन्त्रालयले अधिकतम प्रयास गरिरहेको र सकेसम्म चाँडै पानी काठमाडौं ल्याउने ध्याउन्नमा रहेको स्पष्ट पारे ।

समितिमा उपस्थित मन्त्री विना मगरले भने आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रमअनुसार नै काम भइरहेको बताइन् । ‘बजेटमा मेलम्ची खानेपानी आयोजनाको आधारभूत पूर्वाधार निर्माण कार्य चालू आवभित्र सम्पन्न गरी आगामी आवको थालनी (साउन)देखि काठमाडौंमा पानी वितरण गरिने उल्लेख छ । यही लक्ष्यमा मन्त्रालय अडिग छ,’ मन्त्री मगरले भनिन् ।

समितिकी सभापति कल्याणीकुमारी खड्काले तोकिएको समयमा पानी ल्याउन मन्त्रालयलाई निर्देशन दिइन् । साथै, मेलम्चीको पानी झरेपछि वितरणका लागि आवश्यक सञ्जाल तयारी अवस्थामा पुर्‍याउन भनिन् । 

४१ प्रतिशत मात्र कामदार उपलब्ध
मेलम्ची खानेपानी आयोजनामा लकडाउनअघि दैनिक ४ सय कामदार सक्रिय रहेकामा अहिले ६० जना चिनीयाँसहित १ सय ६४ मात्र कार्यरत छन् । यो बन्दाबन्दीअघि सक्रिय कामदारको ४१ प्रतिशत हो । यसले समग्रमा आयोजनाको कामको गतिलाई घटाएको आयोजना प्रमुख तिरेसप्रसाद खत्रीको भनाइ छ ।  

त्यस्तै, आयोजनालाई निर्माण सामग्रीको आपूर्ति तथा ढुवानीमा सहजीकरण गर्ने भनेपछि पूर्ण रूपमा सहज हुन नसकेको आयोजना कार्यालयको भनाइ छ । सहजीकरणको व्यवस्था भए पनि उद्योगबाट निर्माण सामग्री ल्याउन कठिन भइरहेको आयोजनामा संलग्न अधिकारीहरूको भनाइ छ । त्यसबाहेक इटालिएन ठेकेदार सिएमसीले काम गर्दा सामान आपूर्ति गरेका आपूर्तिकर्ताले भुक्तानीको माग राखेर पटक–पटक अवरोध गरेका कारण पनि समस्या भइरहेको आयोजना कार्यालयले जानकारी दिएको छ ।    

हेडवर्क्स निर्माणमा ६५ प्रतिशत मात्र प्रगति
आयोजनाको हेडवर्क्स निर्माण अहिलेसम्म ६५ प्रतिशत मात्र प्रगति भएको छ । तर, वैकल्पिक उपाय रहेकाले हेडवर्क्सको काम तत्काल सम्पन्न नभए पनि काठमाडाैँमा पानी झार्ने काम नरोकिने अधिकारीहरूको भनाइ छ । मुख्य बाँधमा फाउन्डेसनको काम सम्पन्न भएको छ । स्टिलिङ बेसिनको ७० प्रतिशत र बाँधको १० मिटरमध्ये ६ मिटर उचाइसम्मको कंक्रिट गर्ने कार्य सम्पन्न भएको छ । हेडवर्क्स निर्माणमा पुल निर्माण, एप्रोच रोड निर्माण, हाइड्रो मेकानिकल उपकरण डजान, एसफोर जडान, इन्स्ट्रुमेन्टेसन जडानलगायतका काम बाँकी छन् । त्यस्तै, सुरुङ तथा पानी प्रशोधन केन्द्रबीचको पाइप जडान कार्य अझै १० मिटर रहेको छ । आयोजनाको कोफर ड्याम निर्माण र डिआई पाइप निर्माण सम्पन्न भएको छ । हाइड्रो मेकानिकल गेट ६ वटा जडान गर्ने काम सम्पन्न भएको छ ।

सुरुङ सञ्चालन परीक्षण कार्ययोजना
आयोजना कार्यालयले सुरुङ सञ्चालन परीक्षण कार्ययोजनाअनुसार सञ्चालन कार्यविधि तयार भइसकेको छ । सुरुङ सञ्चालन परीक्षणको संरचना स्वीकृत भइसकेको छ । त्यस्तै, सूचना व्यवस्थापन तथा सम्प्रेषणको कार्ययोजना तथा विधि तयार भइरहेको छ ।