१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल तस्बिर
२०७७ असार ११ बिहीबार ०६:३५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

कागजात किर्ते गरी सुनचाँदी व्यवसायीले  निकाले बैंकबाट सवा एक करोड कर्जा

कर्जा स्वीकृत गर्ने बैंकका कर्मचारी अनुसन्धानको दायरामा

Read Time : > 1 मिनेट
२०७७ असार ११ बिहीबार ०६:३५:००

नेपालगन्ज उपमहानगरपालिका–११, भठी टोलका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढले कागज किर्ते गरी बैंकबाट एक करोड २५ लाख रुपैयाँ कर्जा निकालेका छन् । उनले विभिन्न सरकारी कार्यालयको कागजात र छाप किर्ते गरी नेपालगन्जको त्रिभुवन चोकस्थित राष्ट्रिय वाणिज्य बैंकबाट दुई करोड रुपैयाँको कर्जा स्वीकृत गराएका थिए । स्वीकृत रकममध्ये एक करोड २५ लाख रुपैयाँ लिइसकेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास खड्काले बताए । 

नेपालगन्ज उपमहानगरपालिकाको कागजात र सहीछाप किर्ते गरेको सूचनाको आधारमा उपमहानगरले उनीविरुद्ध प्रहरीमा उजुरी गरेको डिएसपी खड्काले बताए । उजुरीका आधारमा अनुसन्धान गर्दै जाँदा कर्जा लिन जसगढले किर्ते कागजात खडा गरी नभएको जमिनको लालपुर्जा तयार गरी बैंकमा पेस गरेको उनले बताए । ‘नेपालगन्ज उपमहानगरपालिका–११, भठी टोलमा चार–चार धुरको नक्कली लालपुर्जा बनाएर बैंकमा पेस गरेको फेला परेको छ,’ उनले भने । 

सरकारी कागजात किर्ते गरेको आरोपमा प्रहरीले जसगढलाई २७ जेठमा घरबाटै पक्राउ गरी अनुसन्धान थालेको छ । ‘प्रारम्भिक अनुसन्धानबाट जसगढले कैयौँ सरकारी कागजात र सहीछाप किर्ते गरेर बैंकबाट सवा एक करोड रुपैयाँ कर्जा लिएको फेला परेको छ । अनुसन्धानपछि थप कुरा खुल्दै जानेछ,’ उनले भने । 
प्रहरीले जसगढसँगै सरकारी कागजात किर्ते गर्न सहयोग गर्ने र नक्कली कागजातलाई आधार मानेर दुई करोड रुपैयाँ कर्जा स्वीकृत गर्ने बैंकका कर्मचारी पनि अनुसन्धानको दायरामा रहेको बताए । ‘यो मुद्दामा मालपोत, नापी शाखा, नेपालगन्ज उपमहानगरपालिका, बैंकका कर्मचारी र इन्जिनियर पनि तानिन सक्छन्,’ डिएसपी खड्काले भने । 

प्रहरीका अनुसार बैंकबाट कर्जा लिन जसगढले चारवटा धितो राखेका छन् । त्यसमध्ये भवानीयापुर र उदयपुरका १९ र १५ धुर जमिन सक्कली भए पनि नेपालगन्ज–११ को चार–चार धुरको जमिन नक्कली हो । धितो राखेको चार–चार धुरका दुईवटा कित्ता अहिलेसम्म फेला नपरेको खड्काले बताए । ‘सो जमिनको नक्कली कागजात खडा गरिएको अनुसन्धानबाट देखिएको छ,’ उनले भने ।

जसगढले जग्गाको लालपुर्जा, तिरो तिरेको रसिद, नक्सा पास, ट्रेस नक्सा, नक्सा कसरी बनाए भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । उनले मालपोत कार्यालय, नेपालगन्ज उपमहानगरपालिकाको लेटरप्याड, हस्ताक्षर, छाप र प्रमुखको हस्ताक्षरसमेत किर्ते गरेका छन् । नक्कली धितो बनाएरै उनले बैंकबाट दुईपटक ऋण लिइसकेका छन् । ‘२२ मंसिर ०७६ मा ५० लाख र २५ जेठ ०७७ मा ७५ लाख कर्जा लिएका थिए । स्वीकृत भएको बाँकी रकम लिन नपाउँदै उनी पक्राउ परेका छन्,’ खड्काले भने । 

ऋण लिँदा पेस गरेको धितो नेपालगन्ज उपमहानगरपालिकामा रुजु गर्दा जसगढले कागजात किर्ते गरी नक्कली कागजात बनाएर बैंकमा पेस गरेको फेला परेको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाले बताए । कागजात किर्ते र नक्कली भेटिएपछि छानबिनका लागि प्रहरीलाई अनुरोध गरिएको उनले बताए । ‘किर्ते गरेर बनाएका नक्कली कागजात पेस गरेर ऋण लिएको फेला परेपछि अनुसन्धानका लागि प्रहरीमा उजुरी दियौँ,’ उनले भने । सरकारी कागजात किर्ते गरेको आरोपमा संघका एकजना सदस्य पक्राउ परेको सुनचाँदी व्यवसायी संघ नेपालगन्जका अध्यक्ष सलाउद्दिन जसगढले बताए ।