मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १० बुधबार २२:०६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

जब स्थायी समितिमा माधव नेपालले कुर्सी सारेर अध्यक्षसँगै बसे...

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १० बुधबार २२:०६:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बुधबार बालुवाटारमा बिहान ११ बजेपछि सुरु भएको स्थायी समिति बैठकमा प्रस्तावित एजेन्डा माथि ‘घम्साघम्सी’ चलिरहेका वेला एउटा घटनाले केहीबेर नेताहरूको ध्यान मोडिएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासको मिटिङ हलमा बैठक प्रारम्भ हुनासाथ सबैको ध्यान मोड्ने पात्र हुन्– वरिष्ठ नेता माधवकुमार नेपाल ।

मिटिङ हलको मञ्चको अघिल्लो पंक्तिमा दायाँतिर अध्यक्षतिर केपी ओली, बायाँतिर समानान्तर कुर्चीमा रहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्थायी समिति सदस्यहरूले सरकार र पार्टी कामको समीक्षा एजेन्डामा नआएको भन्दै असन्तुष्टि जनाउन सुरु गरेकै वेला कुर्सी र टेबल सार्दै दुई अध्यक्षकै लहरमा अकास्मात् देखिए उनै नेपाल ।  दुई अध्यक्षमध्ये ओलीको ठीक पछाडि दायाँतिर वरिष्ठ नेता झलनाथ खनाल र प्रचण्डको पछाडि बायाँतिर थिए नेपाल । तर, नेपालले कार्यालय सचिव ईश्वरी रिजाललाई बोलाएर अध्यक्षकै समानान्तर लहरमा टेबल सार्न लगाए, आफैँले कुर्सी सारेर अघिल्तिर देखिए ।

नेपालले त्यस्तो गर्नुको कारण थाहा नपाएका थुप्रै स्थायी समितिका सदस्यहरूमा केहीबेर हाँसो चलेको थियो । ‘उहाँले किन अकास्मात् कुर्सी र टेबल सार्नुभयो जानकारी नै भएन,’ स्थायी समिति सदस्य गणेश शाहले भने, ‘सायद सिटिङ एरेन्ज नमिलेर पो हो कि ।’ नेपालले कुर्सी सार्नुअघि उनीनिकट स्थायी समिति सदस्य रघुजी पन्तले नेताहरूको बसाइ नै नमिलेको र सामन्ती चिन्तन देखिएको भन्दै आपत्ति जनाएका थिए । वरिष्ठ नेता नेपाल भने सुझबुझपूर्वक नै अध्यक्षको लहरमा बसेको उनको सचिवालयले जनाएको छ । 

‘को अगाडि–पछाडि, को तल–माथि बस्ने, कसलाई त्यसरी राख्ने भन्ने कम्युनिस्ट आचरण नै होइन, त्यसैले उहाँले बैठकमा एकप्रकारको मनोवैज्ञानिक विद्रोहको संकेत गर्नुभएको मात्र हो,’ उनको सचिवालय स्रोतले भन्यो, ‘तत्कालीन एमालेमा छैटौँ महाधिवेशनपछि केन्द्रीय कमिटीले महासचिव इज द फस्ट एमोङ द इक्वल (समान हैसियत र अधिकार राख्ने पहिलो व्यक्ति) भने जस्तै अध्यक्ष भनेको पनि फस्ट एमोङ द इक्वल हो भन्ने सन्देश मात्रै उहाँले दिनुभएको हो, उहाँ पार्टी व्यक्तिले होइन, विधिले सामूहिक नेतृत्व प्रणालीले चल्छ भन्ने मान्यतामा दृढ हुनुहुन्छ ।’

सिट परिवर्तन गरेर अध्यक्षहरूकै लहरमा बसेका वरिष्ठ नेता नेपालले ओलीले लिडरसिपले ठूलो मूल्य चुकाएर मिहिनेत गरेर पार्टी एकता गरेको र त्यही कारण बहुमत आएको भन्दै भनाइ राखिरहेकै वेला पनि सामूहिक नेतृत्वलाई कम आँकिएको भन्दै बीचैमा प्रतिवादमा उत्रिएका थिए ।

पार्टी कार्यालयको सट्टा सरकारी निवासमा बैठक आयोजना गर्ने, नेताहरूका लागि फरक–फरक कुर्सीको प्रयोग गर्ने शैलीप्रति नेपालले पार्टीभित्र विरोध जनाउँदै आएका छन् । नेकपाको बैठक र भेलामा वेला–वेला ‘सिटिङ एरेन्ज’ र सामन्ती चिन्तन–शैलीका बारेमा नेताहरूले प्रश्नसमेत उठाउँदै आएका छन् । गत माघमा सम्पन्न केन्द्रीय कमिटी बैठकमा ब्यानरमै अध्यक्ष ओली र प्रचण्डको ठूलो आकर्षक फोटो राखिएकोमा कतिपय केन्द्रीय सदस्यहरूले गम्भीर आपत्ति जनाएपछि हटाइएको थियो ।   

थप समाचार

बैठकमा ओली–नेपाल घोचपेच, ‘आत्मप्रशंसा नगर्नुस्’ : नेपाल, ‘बोल्न पाउनुहुन्छ, आफ्नै पालामा बोल्नुस्’ : ओली

शर्माले स्थायी कमिटी बैठकमा किन उठाए सचिवालय खारेजीको मुद्दा ? 

अब जिम्मेवार नबने जनताले नेकपाको विकल्प खोज्न सक्छन् : प्रचण्ड 

पार्टी बैठकमा प्रधानमन्त्रीको प्रस्ताव : गुट अन्त्य गरौँ, कमजोरी सच्याऊँ 

नेकपा स्थायी समिति बैठक : दुई अध्यक्षले गरे सम्बोधन, दुवै अध्यक्ष भन्छन्– पार्टी र सरकारबारे खुलस्त छलफल गराैँ