मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १० बुधबार १६:३५:००
Read Time : > 4 मिनेट
समाचार

काठमाडौं महानगरपालिकाको १६ अर्ब ४२ करोडको बजेट, काेराेनाले पारेकाे प्रभावमा राहत दिने प्रयास

Read Time : > 4 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १० बुधबार १६:३५:००

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि १६ अर्ब ४२ करोड ७३ लाख रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले बुधबार नगर सभाको सातौँ अधिवेशनमा बजेट प्रस्तुत गरेकी हुन् । 

उनले प्रस्तुत गरेको बजेटमा विकासतर्फ १७ करोड २३ लाख विनियोजन गरिएको छ ।  यो कुल बजेटको १ दशमलम ५ प्रतिशत हो । 

त्यसैगरी कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रको लागि १ अर्ब ७८ करोड २७ लाख ५० हजार विनियोजन गरेको छ । यो कुल बजेटको १० दशमलव ८५ प्रतिशत हो ।  

काठमाडौं महानगरपालिकाले पूर्वाधार विकास क्षेत्रका लागि ८ अर्ब  ४३ करोड ४३ लाख ७१ हजारको बजेट विनियोजन गरेको छ । यो कुल बजेटको ५१ दशमलव ३४ प्रतिशत हो ।  

सामाजिक विकास क्षेत्रका लागि २ अर्ब ४९ करोड ९८ लाख बजेट विनियोजन गरेको छ । जुन कुल बजेटको १५ दशमलव २२ प्रतिशत हो । 

त्यसैगरी सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि रु. ९६ करोड ३० लाख  बजेट विनियोजन गरेको छ । जुन कुल बजेटको ५ दशमलव ८६ प्रतिशत हो । 

ससर्त अनुदानतर्फ २ अर्ब ५७ करोड ५१ लाख विनियोजन गरिएको छ । जुन कुल बजेटको १५ दशमलव ६८ प्रतिशत हो ।  

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष ०७७/७८ का लागि  रु. १६ अर्ब  ४२ करोड ७३ लाख २६ हजार आम्दानी हुने प्रक्षेपण गरेको छ ।  

जसमध्ये अन्तरिक स्राेतबाट कुल रु. ६ अर्ब  ७६ करोड ६५ लाख आम्दानी हुने प्रक्षेपण गरेको छ । यो कुल आम्दानीको ४१ प्रतिशत हो ।  

त्यसैगरी बाह्य स्रोततर्फ निसर्त अनुदानबाट १ अर्ब  ४२ करोड ४८ लाख, ससर्त अनुदानबाट २ अर्ब  ५७ करोड ५१ लाख, सामाजिक सुरक्षा भत्ताबापत १ अर्ब २० करोड, जग्गा एकीकरणबाट ९६ करोड ८ लाख गरी कुल रु. ६ अर्ब  १६ करोड ८ लाख आम्दानी हुने प्रक्षेपण गरिएको छ । जुन कुल आम्दानीको ३७ दशमलव ५० प्रतिशत हो । 

कुल आम्दानीमा नपुग हुने रकम ३ अर्ब ५० करोड बैंक मौज्दातबाट व्यहोर्ने महानगरपालिकाले प्रस्तुत गरेको बजेटमा उल्लेख गरिएको छ । यो  कुल आम्दानीको २१ दशमलव ३० प्रतिशत हो ।  

महानगरपालिकाको आन्दानी प्रक्षेपण यस्तो छ    
आन्तरिक स्रोतबाट महानगरपालिकाले ६ अर्ब ७६ करोड ६५ लाख आन्दानी गर्ने लक्ष्य लिएको छ । 

जसअन्तर्गत प्रमुख स्रोतका रूपमा रहेको बहाल करबाट १ अर्ब ५० करोड असुल गर्ने लक्ष्य लिएको छ भने सम्पत्ति करबाट ८० करोड उठाउने लक्ष्य लिएको छ ।
त्यसैगरी  व्यवसाय करबाट ४० करोड, विज्ञापन करबाट ६ करोड असुली गर्ने लक्ष्य पनि महानगरपालिकाले लिएको छ भने शुल्क आयबाट १ अर्ब ५० करोड असुल गर्ने लक्ष्य लिएको छ । 

कवाडी करलगायतबाट पनि महानगरपालिकाले आम्दानी गर्ने लक्ष्य लिएको छ । 

महानगरपालिकाले आन्तरिक स्रोतबाट कुल बजेटको ४१ दशमलब १९ प्रतिशत असुल गर्ने लक्ष्य लिएको छ । 

कोरोनाको असर र रोकथाम न्यूनीकरणलाई प्राथमिकता 
कोरोना भाइरसको असर, त्यसको रोकथाम र यसबाट पर्न सक्ने प्रभावहरूको न्यूनीकरणका लागि विशेष कार्यक्रमहरू बजेट विनियोजनमा उल्लेख गरिएको छ ।  

महानगरका लागि विशेष महत्व मानिने योजनाहरू काठमाडौं महानगरपालिकाको कार्यालय भवनको निर्माण, भर्टिकल पार्किङ भवन निर्माण, पर्यटन पदमार्ग विकास, कोटेश्वर–तिनकुनेमा बुद्ध पार्क निर्माण, मेघा हल निर्माण, सार्वजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवर्द्धन, नदी नियन्त्रण तथा कोरिडोर निर्माण, सहरी यातायात व्यवस्थापनजस्ता कार्यक्रमहरुलाई बजेटमा प्राथमिकतामा राखिएको छ ।  

समृद्धिका लागि सहकारी अभियान, एकीकृत सीप विकास कार्यक्रम, मेड इन काठमाडौं, जीवन निर्वाहका लागि पारिश्रमिक कार्यक्रम, हप अन हप अफ बस सञ्चालन, प्रविधिमैत्री सहरी पुस्तकालय, महानगर महिला सहजीकरण केन्द्र स्थापना तथा सञ्चालन, युवासँग मेयर कार्यक्रम र वडा–वडामा मेलमिलाप शिविर सञ्चालनजस्ता महत्वपूर्ण कार्यक्रमहरुका लागि पनि महानगरपालिकाले बजेट विनियोजन गरेको छ ।    

गोष्ठी, तालिममा बजेट कटौती, सम्पदा संरक्षण र पूर्वाधारमा जोड 
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षमा सम्पदा संरक्षण तथा संवर्द्धन र पूर्वाधार विकासलाई महत्व दिई बजेट विनियोजन गरेको छ । 

गोष्ठी, तालिम, सम्मेलन र अन्य प्रशासनिक खर्चमा केही बजेट कटौती गरिएको छ । 

‘महानगरबाट सञ्चालित विकास कार्यक्रमको सुनिश्चितताको लागि सूत्रमा आधारित बजेट प्रणाली, महानगरपालिकाको प्रशासनिक सुधार, मितव्ययिता र पारदर्शितापूर्ण कार्य प्रणाली, भ्रष्टाचारमा शून्य सहनशीलताजस्ता पारित नीति तथा  कार्यक्रमहरूले महानगरले निर्धारित गरेका लक्ष्य हासिल हुने विश्वास लिएका छौँ,’ बजेट प्रस्तुत गर्दै उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठ भनिन्, ‘हामीबाट सञ्चालित विकासका गतिविधिहरूले समयमा नै लक्ष्य हासिल गरी जनअपेक्षा पूरा गर्न हामी जनप्रतिनिधि,सम्बद्ध कर्मचारी सबैको उच्च निष्ठा, प्रतिबद्धता र सकारात्मक सोच आवश्यक छ भन्ने कुरामा कुनै शंका छैन ।’ 

कर बक्यौतामा लाग्ने जरिवानामा पूर्ण छुट 
काठमाडौं महानगरपालिकाले कोभिड–१९ को प्रभावका कारण करदाताहरूबाट असुल हुन बाँकी रहेको आर्थिक वर्ष ०७६/७७ को सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा पूरै छुट दिएको छ । 

त्यसैगरी कोभिड–१९ का कारण महानगरवासीमा परेको प्रभावलाई मध्यनजर गरी आर्थिक वर्ष ०७७/७८ को पुस मसान्तभित्र सम्पत्ति कर दाखिला गरेमा यस आर्थिक वर्षमा लाग्ने सम्पत्ति करमा दश प्रतिशत छुट दिने जनाएको छ । 

‘घरजग्गा कर वा सम्पत्ति करको बक्यौताको हकमा त्यस्तो छुट दिइनेछैन,’ आज प्रस्तुत आर्थिक विधेयकमा भनिएको छ, सर्वसाधारणहरूको सवारीसाधन पार्किङ प्रयोजनका लागि व्यावसायिक रूपमा निर्माण गरिने भवनको हकमा भवन निर्माण सम्पन्न भएको मितिले पाँच वर्षसम्म सम्पत्ति कर छुट हुनेछ ।’

होटेल तथा पर्यटन क्षेत्रलाई सम्पत्ति करमा भारी छुट 
महानगरपालिकाले हाल विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को प्रभावले होटेल तथा पर्यटन क्षेत्रमा पर्न गएका असरलाई मध्यनजर गरी होटेल, रिसोर्टका नाममा घरजग्गा भई वा लिजमा लिई होटेल, रिसोर्ट निर्माण गरी सञ्चालन भएको करदाताको हकमा आर्थिक वर्ष ०७६/७७ सम्मको घरजग्गा कर–सम्पत्ति कर चुक्ता गरेमा आर्थिक वर्ष ०७७/७८ को सम्पत्ति करमा थप ७५ प्रतिशत छुट दिने जानकारी दिएको छ । 

०७७ पुस मसान्तभित्र सम्पत्ति कर बुझाएमा हुने १० प्रतिशत छुटसमेत जोड्ने हो भने होटेल, रिसोर्ट क्षेत्रलाई ८५ प्रतिशत सम्पत्ति करमा छुट हुन आउँछ ।  

वार्षिक बहाल करमा १० प्रतिशत छुट
काठमाडौं महानगरपालिकाले हाल विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को प्रभावले घर भाडामा बस्ने नगरवासीहरूलाई पर्न गएको असरलाई मध्यनजर गरी कम्तीमा एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरी आर्थिक वर्ष ०७६/७७ मा बुझाउनुपर्ने घर बहाल कर चुक्ता गर्न आएमा वार्षिक बहाल करमा १० प्रतिशत छुट गर्ने भएको छ । 

‘तर, आर्थिक वर्ष ०७६/७७ मा घर, जग्गा तथा सम्पत्ति भाडामा लगाएबापतको बहाल कर छुट नलिई चुक्ता गरिसकेका करदाताहरूका हकमा कोभिड– १९ का कारण कम्तीमा एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरेमा आर्थिक वर्ष ०७७/७८ मा बुझाउनुपर्ने वार्षिक बहाल करमा १० प्रतिशत छुट दिई बहाल कर मिलान गरिनेछ,’ आर्थिक विधेयकमा उल्लेख गरिएको छ ।

व्यवसाय करमा ५० प्रतिशतसम्म छुट
काठमाडौं महनगरपालिकाले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ रोकथामका लागि नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दीका कारणले काठमाडौं महानगरपालिका क्षेत्रमा व्यापार व्यवसाय गरी बस्ने करदाताहरूलाई व्यवसाय करमा ५० प्रतिशतसम्म छुट दिएको छ ।

महानगरपालिकाले आर्थिक वर्ष ०७७/७८ मा लाग्ने व्यवसाय करमा होटेल, पर्यटन तथा मनोरञ्जन क्षेत्रसँग सम्बन्धित व्यवसायीहरूले तिर्ने व्यवसाय करमा पचास प्रतिशत र अन्य सबै व्यवसायीहरूले तिर्ने व्यवसाय करमा २० प्रतिशत छुटको व्यवस्था गरेको छ ।   

होटेल, पर्यटन तथा मनोरञ्जन व्यवसायमा पाँचतारे होटेल, चारतारे होटेल, तीनतारे होटेल, दुईतारे होटेल, एकतारे होटेल, चलचित्र प्रदर्शनी घर, साधारण होटेल, लज, गेस्हाटउस, होमस्टे, होस्ट, रेस्टुरेन्ट एन्ड बार, ट्राभल र ट्रेकिङ एजेन्सी, रिक्रियसन खेललगायत रहेका छन् । 

त्यसैगरी होटेल, पर्यटन तथा मनोरञ्जन व्यवसायमा विदेशी विमान सेवा, स्वदेशी विमान सेवा, हस्तकला निर्यात व्यवसाय, क्यासिनो, वायुयान भाडामा लगाउने व्यवसाय, ट्रेकिङ सामान पसल, डिस्को थेक, नाइट क्लब, विविध मनोरञ्जन सेवा प्रदान गर्ने व्यवसाय, थान्का पसल, वैदेशिक रोजगार सम्पर्क व्यवसाय, डान्स ट्रेनिङ सेन्टर, संगीतसम्बन्धी सेवा प्रदान गर्ने व्यवसायलगायत पर्दछन् ।