१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार १० बुधबार १०:२१:००
Read Time : > 1 मिनेट
सम्पादकीय

सम्पादकीय : ठमेलको सुरुवात

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार १० बुधबार १०:२१:००

ठमेलमा महँगोमा सटर या घर भाडामा लिएर पर्यटनसम्बन्धी विभिन्न व्यवसाय गर्ने व्यवसायी र तिनलाई घर वा सटर भाडामा लगाएर लगानबाट धन कमाउने या जीविका गर्नेबीच एक वर्षसम्म घरभाडा आधा घटाउने सहमति भएको छ । यो हाम्रो अर्थतन्त्रले सामना गर्दै गएको संकटको एउटा महत्वपूर्ण संकेत हो । कोरोना के आएको थियो, मानिसले सहज र स्वाभाविक ठानेका अनेक विषय अस्वाभाविक र असहज हुन थालेका छन् । गइरहेको ठाउँ जान नहुने, खाइरहेको ठाउँमा खान नपाइने, बनाइरहेका योजना रद्द गर्नुपर्ने । गरिरहेको पेसा गर्न नपाइने । आफ्नै जीवनको पूरै पुनः व्यवस्था गर्नुपर्ने । आरम्भमा यस्तै होला भनेर अनुमान गर्न नसकिने । भोलि त होला, पर्सि त होला भन्दाभन्दै तीन महिना भयो लकडाउन सुरु भएको । कतिपय पेसा व्यवसाय बन्द भए । कतिपय बन्द हुने डिलमा पुगेका छन् भने थोरै मात्र नयाँ व्यवसाय आफ्नो खुट्टामा उभिन सक्लान् । बाँकी त पुरानैले काम चलाउनुपर्ने हो, तर त्यो पुरानो अवस्था तत्काल फर्केला जस्तो छैन । 

महामारीसँगै मानिसले आफूलाई पुनः व्यवस्थापन गर्न थालेका छन् । ठमेलका पर्यटन व्यवसायी र घरबेटीबीच भएको सहमति त्यसैको एउटा उदाहरण हो, यो एउटा महत्वपूर्ण थालनी हो ।
 

कमसेकम कोरोनाको भ्याक्सिन सर्वव्यापी रूपमा उपलब्ध नहोउन्जेलका लागि हाम्रो जीवन सरल र सहज हुनेछैन । कोरोना महामारीसँगै मानिसले आफूलाई पुनः व्यवस्थापन गर्न थालेका छन् । ठमेलको पर्यटन व्यवसायी र घरबेटीबीच भएको सहमति त्यसैको एउटा उदाहरण हो । यो एउटा महत्वपूर्ण थालनी हो । ठमेल नेपालको मुख्य पर्यटन गन्तव्य हो । पर्यटकहरू हिमाल चढ्न आए पनि वा तराई घुम्न आए पनि एकपटक ठमेल पुग्ने गर्छन् । पाँचतारे होटेलदेखि सामान्य लज, महँगा रेस्टुरेन्टदेखि सामान्य खाजा र खाना घर, क्युरियोका सामानदेखि ब्रान्डेड कपडासम्म सबै पाइने ठमेल काठमाडौंको एक मात्र रात्रिजीवन सञ्चालन हुने केन्द्र पनि हो । 
पर्यटनलक्षित व्यापार गर्नैै यहाँ चिनियाँदेखि कस्मिरीसम्म आएका छन् । नेपालका सबै जिल्लाका मानिस थुप्रिएका छन् । अहिले यहाँ पर्यटनसँग सम्बन्धित पाँच हजारजति व्यवसाय सञ्चालनमा रहेको अनुमान छ । लकडाउन सुरु नहुँदै खस्केको यहाँको व्यवसाय लकडाउनसँगै थला परेको छ । कतिपय व्यवसायीले सधँैका लागि पेसा छाडेर हिँडिसकेका छन् । महँगो भाडा तिरेर विनाव्यापार बस्न कसैलाई पनि सम्भव हुँदैन । अझै एक वर्षयता त्यहाँ व्यापार गरेर कमाइ गर्ने सम्भावना अत्यन्तै न्यून छ । यस्तो अवस्थामा ऋण खोजेर भाडा तिर्दै व्यवसाय धान्न सक्ने थोरै नै हुन्छन् । यता खाली घर राखेर पनि घरवालालाई फाइदा हुने कुरा भएन । भाडा घटाउने र सटर छाड्नु नपर्ने यो सहमति कोरोनाका कारण सिर्जित आर्थिक संकट सामान गर्ने निजी क्षेत्रको आफ्नै प्रयास हो । 

ठमेलमा मात्र होइन, यस्तो समस्या न्युरोड वा पुतलीसडक, गोंगबु वा पोखरा, सौराहा अथवा भैरहवा जता पनि हुन सक्छ । पर्यटनमा मात्र होइन, अन्य क्षेत्रमा पनि यो समस्या जेलिने नै देखिन्छ । यस्तो अवस्था सामना गर्न भाडा लगाउने र लिने, कारखाना चलाउने र काम गर्ने, व्यवसाय गर्ने र कर्मचारीबीच समस्या ढाकछोप नगरीकनै सहमतिमा यस्तो व्यवस्थापन गरियो भने अल्पकालका लागि दुवै पक्षलाई भरथेग हुनेछ । यस्तै अवस्थामा सरकारले दुवै पक्षलाई सहयोग गर्नुपर्ने हो । अहिलेसम्म यस्तो सहयोगको कुनै व्यवस्था सरकारले गरेको देखिँदैन । ठमेल मोडेल सबैले पालना गर्नुपर्ने नभए पनि यसलाई एउटा सकारात्मक उदाहरण मान्न सकिन्छ ।