१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार १० बुधबार ०४:१२:००
Read Time : > 7 मिनेट
समाचार

नागढुंगा र साँगा आइपुगेका सर्वसाधारणलाई असाधारण कष्ट : आरडिटीको रिपोर्ट देखाउँदा पनि राजधानी प्रवेश कठिन

Read Time : > 7 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार १० बुधबार ०४:१२:००

साँझको ६ बजेको छ, काठमाडौं र धादिङको सीमा सिस्नेखोलामा गाडीको जाम छ, मोटरसाइकलमा आएका यात्रु निथु्रक्क भिजेका छन् । गन्तव्य काठमाडौं त नजिक आइपुग्यो, प्रहरीको व्यवहार कस्तो हुने भन्नेमा यात्रुहरूको मनमा आशंका छ ।

विनोद चौहान, शम्भु बैठा पर्साको पोखरियाबाट आएका हुन् । रोकिएको मोटरसाइकलनजिक आएर प्रहरीले सोधे, ‘पास छ ?’ 

‘पास छ सर, कोरोना टेस्ट गरेको रिपोर्ट पनि छ,’ विनोदले जवाफ फर्काए ।

पोखरिया नगरपालिकाले जारी गरेको सवारी पास हेरेपछि प्रहरीले तत्कालै आदेश सुनाए, ‘जताबाट आएको हो उतै जानू ।’

अलमल्ल परेका उनीहरूलाई तर्साउँदै प्रहरीले भने, ‘भनेको सुनिएन, जताबाट आएको हो उतै जाने । काठमाडौं जान पाइँदैन ।’

ललितपुरको हात्तीवनमा निर्माण मजदुरको काम गर्ने विनोद र शम्भु घरमा खर्च सकिएपछि रोजगारी जारी राख्न राजधानी आउने प्रयासमा थिए । तर, सार्वजनिक यातायात नचलेकाले उनीहरू छिमेकीको मोटरसाइकल मागेर आउँदै थिए ।

काठमाडौं नाकामा कोरोनाको रिपोर्ट देखाउनुपर्छ भनेर उनीहरूले वीरगन्ज हेल्थ केयर हस्पिटलमा आरडिटी परीक्षण पनि गराए । यसमा १५ सयका दरले पैसा खर्च भयो । रिपोर्ट नेगेटिभ आएकाले काठमाडौं छिर्न पाइन्छ भन्ने उनीहरूको आशा थियो । तर, अस्पतालको स्वास्थ्य रिपोर्ट र नगरपालिकाको पास प्रहरीले तत्कालै खारेज गरिदिए । 

‘जब आरडिटी परीक्षण अर्थहीन छ भने सरकारले त्यस्तो परीक्षण गर्ने अनुमति स्वास्थ्य संस्थालाई किन दिइरहेको छ ? देशको ढुकुटी खरिद गरेर सरकारले आरडिटी किन खरिद गरिरहेको छ ?’ विनोद सोध्ने कोसिस गर्छन्, तर प्रहरीसँग जवाफ छैन, उनको मुखमा आदेश मात्र झुन्डिएको छ, ‘रिपोर्ट त पिसिआर नै चाहिन्छ ।’

विनोद र शम्भु दुवैजनाको खुट्टामा चप्पल मात्र छ । ‘जुत्ता किन्ने पैसाले कोरोना जाँच गराएका,’ शम्भुले भने, ‘घरमा छाक टार्न पनि पैसा छैन । पाँचजनाको परिवार छ । परिवारमा कमाउने म एक्लै हो । काठमाडौंमा काम सुरु भएको खबर पाएकोले आएको हुँ, अरू जान हुने, हामी जान नहुने किन ?’

विनोद र शम्भुजस्तै अरू सर्वसाधारण पनि रोकिएका छन्, उनीहरू सबै अलमल परेर सिस्नेखोलाको छेउमा उभिएका छन् । लगातार परेको पानीले माटो पग्लिएको छ, तर निमुखाको अवस्थाले प्रहरीको मन पग्लिएको छैन । 

पर्साको वीरगन्जबाट आएका हुन् विलाल अन्सारी । मोटरसाइकलमा आएका उनीसँग रेनकोट पनि छैन् । झरीले होइन, उनको मनोबल प्रहरीको आदेशले कमजोर बनाइदिएको छ । 

विलालको यो पहिलो प्रयास होइन । काभ्रेको भकुन्डेबेंसीमा मोटरसाइकल ग्यारेजमा काम गर्ने उनी अघिल्लोपटक बिपी राजमार्गबाट आएका थिए । ‘तर, त्यहाँ (नमोबुद्ध नगरपालिका)को मेयरले कोरोना जाँच गरेको रिपोर्ट नल्याएसम्म बस्न दिन्न भन्नुभयो, त्यसैले फर्किएँ,’ विलालले भने ।

वीरगन्ज गएर उनले पनि १५ सय रुपैयाँ तिरेर आरडिटी परीक्षण गराए । परीक्षणको रिपोर्ट र नगरपालिकाले जारी गरेको पास बोकेर आएका थिए । तर, सिस्नेखोलामा उनलाई पनि प्रहरीले रोके । 

आम्दानी शून्य भएपछि परिवार भोकै मर्ने अवस्था आएको सुनाउँछन् विलाल । ‘१८ जनाको परिवार छ । कतारमा भएको दाइलाई कोरोना लागेको छ, कम्पनीले तलब रोकिदिएको छ, अहिले कमाउने म मात्रै हो । मैले पनि कमाइनँ भने परिवार के खान्छ ?’ विलालले प्रहरीलाई प्रश्न गरे ।

‘तिमी भोकको कुरा गर्छौ, यहाँ रोग लागेर अस्पताल जान्छु भनेर आएकालाई त रोकिएको छ, हामीले त माथिको आदेश मान्ने हो, तिमीलाई हाम्रो भनाइ विश्वास लागेन भने माथि कुरा गर,’ प्रहरीले विलाललाई सुझाब दिए । मोटरग्यारेजमा काम गर्ने विलाल बिलखबन्दमा परे, ‘माथि’ कसलाई चिन्ने, कसलाई सोध्ने ? 

गोर्खा छेबेटारका प्रकाश वाइबाकी बिरामी आमा ट्याक्सीमा छटपटाइरहेकी छिन् । मुटुरोगी प्रकाशकी आमा सानुमायालाई एम्बुलेन्स, ट्रक र गाडीको चर्को आवाजले झन् गाह्रो बनाएको छ । प्रकाश ट्राफिक प्रहरीसँग बिन्ती गर्दै छन्, ‘खाली साइडबाट त जान दिनुहोस् । आमाको ज्यान जाला भन्ने डर भइसक्यो ।’

बिरामी आमालाई ट्याक्सीमा राखेर प्रकाशले पालो पर्खेका छन् । तर, सडकको एक किनारा खाली भए पनि बिरामी बोकेका सवारीसाधन जान दिइएको छैन ।

पाठेघरको समस्या भएकी महिला बोकेर धादिङको मलेखुबाट आएको एम्बुलेन्स साइरन बजाउँदै अगाडि जान खोज्छ । ट्राफिक प्रहरीले सिटी फुक्दै एम्बुलेन्सलाई सडक किनारमा रोक्छन् र भन्छन्, ‘लाइनमा बस्ने ।’

एम्बुलेन्सभित्र पीडाले छटपटाइरहेकी लक्ष्मी अर्यालका छिमेकी गणेश अर्याल ट्राफिकसँग हात जोडेरै बिन्ती गर्छन् । तर, एम्बुलेन्सलाई पनि लाइनमा क्रमशः जान दिने मुडमा छन् प्रहरी । 

उनी नियम कडा छ भन्ने मुडमा छन्, तर त्यहीवेला फोनमा आएको सन्देशको भरमा उनले केही निजी गाडीलाई भने अगाडि बढ्न दिइरहेका छन् । तर, मोटरसाइकल र कतिपय गाडीलाई भने प्रहरीले त्यहाँ पर्खन पनि नदिई फर्काइरहेको छ । नियमका नाममा भइरहेको यो तमासा हेर्न सर्वसाधारण विवश छन् ।

काठमाडौं प्रवेश गर्न नपाउनेको भिडमा छन् नुवाकोट बट्टारका प्रवेश खनाल र अमिता खनाल । लकडाउनअगाडि नुवाकोट घर गएका उनीहरू घरबेटीले सामान फालिदिने धम्की दिएपछि कोठाको सामान सार्न काठमाडौं जान आएका हुन् । 

‘घरबेटीले सामान नै फाल्दिन्छु भनेपछि आएका हौँ । तर, प्रहरीले पास देखाउँदा पनि जान दिँदैनन्,’ प्रवेशले गुनासो गरे । 

हेटौँडाकी मुना बिसंखेका डेढ वर्षको बच्चा बिरामी छन् । त्यसैले झरीमा भिज्दै मोटरसाइकल चलाएका श्रीमान्को पछाडि उनी बच्चा समातेर बसेकी छिन् । तर, स्थानीय तहले दिएको पास काम लाग्दैन भनेर प्रहरीले फर्काउन खोजेपछि मुनाले डेढ वर्षको छोरालाई काखको ओतबाट झिकिन् ।

र, प्रहरीको अगाडि तेस्र्याउँदै भनिन्, ‘यसको उपचार गर्दिनुहुन्छ तपाईं ? पानीमा भिजाउँदै हामी घुम्न काठमाडौं जान लागेको हो ? मान्छेको ज्यान गए जाओस्, तमासा हेर्नु भनेर सरकारले आदेश दिएको छ ?’ तर, एउटी आमाको यो रोदनले पनि प्रहरीलाई गलाउन सकेन । ‘यहाँबाट छोड्यो भने माथि नागढुंगाबाट फोन आउँछ, हामीलाई कारबाही हुन्छ,’ उनी भन्छन् । 

बालबालिका मात्र होइन, अशक्त र अपांगलाई समेत प्रहरीले झरीमा भिजाउँदै रोकेर राखेको छ । लमजुङ सुन्दर बजारका सरोज सेढाईंको मेरुदण्डमा स्टिल राखिएको छ । हरेक तीन महिनामा उनले जाँचका लागि काठमाडौं आउनुपर्छ । यसपालि ढिलो आउँदा पनि प्रहरीले रोक्यो । 

अपांगता भएको नागरिकको परिचयपत्र, नगरपालिकाको पास देखाउँदा पनि प्रहरीले उनलाई काठमाडौं छिर्न दिएन । भाइसँग मोटरसाइकलमा आएका सरोजलाई प्रहरीले ‘बरु हिँडेर जानुहोस्, तर मोटरसाइकल भने जान दिन्नौँ’ भन्यो । प्रहरीले मान्छेबाट होइन, मोटरसाइकलसँग समस्या छ भन्ने सन्देश दियो । 

‘ढाँटेको छैन, लुकाएको छैन, ढाडको घाउ हेर्दा पनि हुन्छ,’ सरोजले प्रहरीसँग हारगुहार गरे । तर, प्रहरीले उनको कुरै सुनेन । त्यसपछि उनी ओत लाग्न किनारको रूखतर्फ लागे ।

सवारी पास जाँचका नाममा प्रहरी प्रशासन कतिसम्म त्रूmर बनेको छ भने वीर अस्पतालमा एक्लै छटपटाइरहेका बिरामी बुबाको स्याहार गर्न आएका यात्रुको पीडाले पनि प्रस्ट पार्छ । वीर अस्पतालमा भर्ती भएका बुबाको हेरचाह गर्न भन्दै धादिङ खाल्डेबेँसीबाट विष्णु रम्तेल काठमाडौं जान हिँडे । दुई घन्टा हिँडेपछि धादिङको गल्छी पुगेका उनलाई काठमाडौं पुर्याउन कोही तयार भएनन् ।

हिँड्दै काठमाडौं आउन लागेका विष्णुलाई बाटोमा एउटा ट्याक्सीचालकले लिफ्ट दिए । तर, उनीहरूलाई प्रहरीले सिस्नेखोलाबाटै फर्कायो ।

काठमाडौं आउनेको यो भिडमा अधिकांश उपचार गराउन आउने छन् । अरू कतिपय टुटेको रोजगारी जोड्न आउने छन् । कपितय भने आफुले गरिरहेको व्यवसाय फेरि सञ्चालन गर्न उद्देश्यले फर्किएका छन् । 

फरक–फरक उद्देश्यले आएका सबैको नियति एउटै छ काठमाडौं नाकामा । तर, माथिको आदेश भन्दै सबैलाई प्रहरीले रोकेर दुःख दिएपछि हामीले थानकोटको इन्चार्जका रूपमा खटिएका डिएसपी घनश्याम श्रेष्ठलाई केही जिज्ञासा राख्ने प्रयास ग¥यौँ ।

‘अहिले जिल्लाभित्रको आन्तरिक सवारी मात्र खुलेको हो । एक जिल्लाबाट अर्को जिल्ला जानका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जारी गरेको पासका आधारमा मात्र सवारीसाधन छिर्न दिने सरकारको नीति छ,’ उनले भने, ‘स्थानीय तहको पास बोकेका मान्छेलाई हामीले फर्काइरहेका छौँ । त्यस्तै, अस्पतालको पिसिआर रिपोर्ट मात्र पनि पुग्दैन । जिल्ला प्रशासन कार्यालयले जारी गरेको अनिवार्य छ ।’

तस्बिर : विनाेद विष्ट र दिपेन्द्र ढुंगाना / नयाँ पत्रिका 

 

साँगामा पनि उस्तै !

उपत्यका प्रवेश गर्ने पूर्वीनाका साँगा भञ्ज्याङमा पनि काठमाडौं फर्किनेहरूको भिड छ । साँघुरो सडकमा सवारीसाधन रोकेर सवारी पास जाँच गरिरहेको प्रहरीको वरिपरि गुनासा गर्ने सर्वसाधारण झुम्मिएका छन् । ‘पाइँदैन भनेपछि पाइँदैन । जताबाट आएको हो उतै फर्किने,’ प्रहरी एउटै आदेश ‘रिप्ले’ गरिरहेका छन् । 

साँगा भञ्ज्याङमा नेपाल प्रहरी मात्र होइन, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रूपमा सवारी चेक जाँच गरिरहेका छन् । लकडाउन भएसँगै बालाजुको होटेल र किराना पसल बन्द गरेर रौतहट, बागमती नगरपालिकास्थित आफ्नो घर गएका थिए कमलबहादुर भण्डारी । उपत्यकामा व्यापार–व्यवसाय चल्न थालेको संकेत पाएपछि उनी फर्कन खोजेका हुन् । तर, साँगा भञ्ज्याङ काट्न उनलाई महाभारत भइरहेको छ । 

‘गृह मन्त्रालयको पास ल्याऊ भन्छन्,’ प्रहरीले फर्काउनुको कारण सुनाउँदै कमलले भने, ‘त्यतिमाथि हाम्रो पहुँच कसरी पुर्याउनु ?’

पेप्सिकोलास्थित कपडा कारखानामा काम गर्ने निर्मला न्यौपानेलाई कारखानाले तोकिएको समयमा हाजिर नभएमा जागिरबाट निकाल्ने चेतावनी दिएको छ । ‘तपार्इंलाई जान दिने हो भने हाम्रो जागिर जान्छ,’ प्रहरीको भनाइ छ । सिन्धुपाल्चोकको बाह्रबिसेबाट आएकी उनलाई बाटोमा रोकिएन, भक्तपुर आइपुग्दा किन रोकियो ? उनी आश्चर्यमा छिन् । 

निर्मलाको पाँचजनाको परिवार उनकै कमाइबाट चल्छ । ‘कारखाना बन्द भएपछि तलब पाइएन । गाउँमा केही छैन,’ निर्मला दुःखेसो गर्छिन् ।

घाँटीमा जस्तोसुकै परिचयपत्र भए पनि झुन्ड्याएका व्यक्तिलाई भने निर्वाध उपत्यका प्रवेश गर्न दिइरहेको छ । तर, अस्पताल र स्थानीय तहको पास देखाउन खोज्नेलाई भने रोकेको छ । भक्तपुरको नयाँठिमीमा लुगा पसल चलाउने उत्सव ढकाल सुनसरीको इनरुवाबाट आएका हुन् । उपत्यका छिर्न सहज हुन्छ भनेर उनले १२ सय रुपैयाँ तिरेर आरडिटी परीक्षण पनि गराए । वडा कार्यालयबाट पास पनि बनाए । ‘वडाको पास, आरडिटी जाँच गराएको रिपोर्ट देखाउँदा नि मलाई फर्कायो,’ उत्सवको दुःखेसो छ, ‘लकडाउनमा पसल बन्द भयो । सटरको भाडा नै लाखभन्दा माथि पुगिसक्यो ।’

सिन्धुलीका मीनबहादुर थिङले आफ्नो ट्याक्सीका सम्पूर्ण कागजात देखाए । सवारीचालक अनुमतिपत्र देखाए । तैपनि प्रहरीले उनलाई उपत्यका छिर्न नपाउने भन्दै फर्किन आदेश दियो । ‘काठमाडौंमा ट्याक्सी चलाउँथँे, तर चलाउन नपाएको तीन महिना भयो । एक महिनाको किस्ता मात्र २५ हजार तिर्नुपर्छ । कमाउने भाँडो त्यही ट्याक्सी हो,’ मीनबहादुर दुःख पोख्छन्, ‘गरिखान नपाए के गर्ने ?’ 

उपत्यकामा रोजगारी गर्न आएका मात्र होइन, पढाइ छुटेपछि अनलाइन क्लासमा सहभागी हुन आएका विद्यार्थी पनि रोकिएका छन् । सिन्धुपाल्चोक तातोपानीकी सामन्ता प्रधान हिमालयन ह्वाइटहाउसमा होटेल व्यवस्थापन अध्ययनरत छिन् । लकडाउनको दोस्रो महिनाबाट उनको कलेजले अनलाइन क्लास लिन सुरु गर्यो । ‘गाउँमा इन्टरनेट चल्दैन, क्लास लिन पाइएन । अहिले गाडी चल्न थालेपछि अनलाइन क्लास लिउँ भनेर आएको । सरकारले त सबै विषय समेटेर नीति बनाउनुपर्ने हो नि, पढाइ खोल्ने, तर यातायात रोक्ने के नीति हो ?’ उनको प्रश्न छ । 

रेस्टुरेन्ट काम गर्ने ओखलढुंगा रुम्जाटारका दावा शेर्पा होटेल सुचारु भएपछि काठमाडौं फर्किंदै छन् । काठमाडौं बूढानीलकण्ठस्थित न्यु सब–वे रेस्टुरेन्टमा काम गर्ने दावाले लकडाउन अवधिको तलब पाएनन् । ‘यतिका समय तलब नपाई बसियो । अब काम हुन्छ, पैसो हुन्छ भनेर आएको,’ दावाले सुनाए । उपत्यका छिर्ने गाडीहरूको लस्करमा दावा आफ्नो पालो पर्खेर बसिरहेका छन् । तर, छिर्न पाउने–नपाउनेमा निश्चिन्त छैनन् । 

सवारीसाधन चढेकालाई मात्र होइन, हिँड्दै उपत्यका छिर्न खोज्नेलाई पनि प्रहरीले नाकाबाटै फर्काएको छ । काभ्रे रोसीपारिका दिलीपकुमार मोक्तान र उनका चारजना साथी बनेपासम्म ट्रक चढेर आए । बनेपाबाट उपत्यकातर्फ हिँडिरहेका उनीहरूलाई प्रहरीले साँगा भञ्ज्याङबाट अगाडि बढ्न दिएन ।

निर्माण मजदुरको काम गर्ने दिलीप र उनका साथीहरू उपत्यका छिर्न नपाइने प्रहरीको आदेशपछि रनभुल्लमा परेका छन् । ‘ठेकेदारले काम छ आइजो भनेको छ । यहाँ पुलिसले छिर्न दिँदैन । कसो गर्ने होला ?’ दिलीप प्रश्न गर्छन् । 

सरकारले पूर्वाधार निर्माणको काम अघि बढाउने घोषणा गरेको दुई महिनाअघि हो । तर, ट्रकमा चढेर निर्माणस्थलमा पुग्न खोजेका मजदुर भने बाटोबाटोमै रोकिएका छन् ।