मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार ९ मंगलबार १७:३६:००
Read Time : < 1 मिनेट
समाचार

कोरोना परीक्षणको रिपाेर्ट नआउँदा ६ दिनदेखि जिल्ला अस्पताल बन्द

Read Time : < 1 मिनेट
२०७७ असार ९ मंगलबार १७:३६:००

६ दिनदेखि पर्वत जिल्ला अस्पताल बन्द हुँदा बिरामीहरू उपचार सेवाका लागि अर्कै जिल्ला जानुपर्ने बाध्यतामा छन् । अस्पतालमा कार्यरत पाँचजना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण देखिएपछि ४ असार रातिदेखि पर्वत अस्पतालको इमर्जेन्सीबाहेक सम्पूर्ण सेवाहरू बन्द गरिएको हो ।

इमर्जेन्सीका बिरामीलाई सेवा प्रवाह गर्ने अस्पतालले जनाए पनि सेवा नपाएको सर्वसाधारणको गुनासो छ । कुश्मा नगरपालिका–९ कटुवाचौपारीबाट खुट्टा भाँचिएको बिरामी लिएर अस्पताल आएका ४५ वर्षीय सुवास शर्माले फिर्ता जानुपरेको बताए । ८ असारमा अस्पतालमा आउँदा परिसरबाटै प्रवेश निषेध गरेपछि निजी अस्पताल गएर उपचार गराएको उनले बताए । 

यस्तै कुश्मा नगरपालिका– १३ खौलालाँकुरीकी २१ वर्षीया आशा कुँवरको ५ असारमा घरमै मृत्यु भयो । उनका परिवारले शव पोष्टमार्टम गराउन पर्वत अस्पताल बन्द भएपछि धौलागिरि अञ्चल अस्पताल पुऱ्याएको बताए । पोष्टमार्टमका लागि शव बोकेर बाग्लुङ पुग्नुपरेको मृतकका पति प्रताप कुँवरले बताए । 

अस्पतालमा कार्यरत पाँचजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि उनीहरूको सम्पर्कमा रहेका ८१ जनाको स्वाब संकलन गरेको छ । स्वाब परीक्षणको रिपोर्ट आउन ढिला भएकाले अस्पताल खोल्न ढिलाइ भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले बताए । ८१ जनाको स्वाब संकलन गरी परीक्षण गर्न पठाएकोमा मंगलबारसम्म ६२ जनाको मात्रै रिपोर्ट आएको र जसमध्ये तीनजना थप पोजेटिभ देखिएको उनले बताए ।

स्वास्थ्य कार्यालय पर्वतले २ देखि ४ असारसम्म जिल्ला अस्पतालमा सेवा लिन आएका सेवाग्राहीलाई पनि खोजी गरी स्वाब संकलन गर्ने भएको छ ।  दोस्रो दिनमै आउने भनिएको कोरोना परीक्षण रिपाेर्ट ६ दिनसम्म नआएपछि स्वास्थ्यकर्मी अस्पतालमै थुनिएका छन् भने अस्पतालको सेवा सुचारु पनि हुन सकेको छैन ।