१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ८ सोमबार १९:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

शुल्क असुल नगर्न निजी विद्यालयलाई अनेरास्ववियु र नेविसंघको चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ८ सोमबार १९:५७:००

विद्यार्थी संगठनले अहिलेको परिस्थितिमा कुनै पनि शुल्क असुल नगर्न निजी विद्यालयलाई चेतावनी दिएका छन् । लकडाउनको समयमा विद्यार्थी र अभिभावक आफै समस्यामा परेको समयमा शुल्क माग्न नहुने भन्दै अनेरास्ववियु र नेविसंघले सोमवार चेतावनी दिएका हुन् । 

आइतवार प्याब्सन र एनप्याब्सनले संयुक्त बिज्ञप्ती जारी गरी शुल्क लिन सक्ने गरी निर्णय गरी संयुक्त अपिल गरेका थिए । 

सत्तारुढ नेकपा निकट अनेरास्ववियुले लकडाउनको समयमा कुनै पनि प्रकारको शुल्क नअसुल्न निजी विद्यालय सञ्चालकहरुलाई चेतावनी दिएको छ ।

प्याब्सन र एनप्याब्सनद्धारा शुल्क असुल गर्ने अभिप्रायले संयुक्त अपिल जारी गरेको भन्दै अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले प्रेस विज्ञप्ति जारी गरी भत्र्सना गरेका छन् । 

अहिलेको अवस्थामा विद्यार्थी र अभिभावकले बेहोरेको संकटलाई वेवास्ता गरी एकतर्फिरुपमा शुल्क उठाउने आवाहान आपत्तिजनक रहेको उल्लेख गरेका छन् । विद्यार्थी र अभिभावकलाई आह्वान अवज्ञा गर्न अनेरास्ववियुले अपिल गरेको छ । 

नेविसंघले पनि प्रेस विज्ञप्ति जारी गरी अहिले कुनै पनि शुल्क नलिन चेतावनी दिएको छ । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले विद्यालय नखुलुन्जेल कुनै पनि शुल्क लिन नपाइने उल्लेख गरेका छन् । प्याब्सन र एनप्याब्सनको शुल्क असुल्ने निर्णय तत्काल फिर्ता गर्नुपर्ने र संस्थागत विद्यालयका मर्का र जायज समस्या समाधानका लागि सरकार जवाफदेही हुनुपर्ने नेविसंघको माग छ ।