मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
क्वारेन्टाइनमा रहेका आफ्ना आफन्तलाई खानेकुरा दिँदै एक व्यक्ति
२०७७ असार ८ सोमबार १२:११:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

१८ घन्टासम्म खाना र पानी नपाएपछि सिराहाकाे आइसोलेसनमा नाराबाजी

Read Time : > 1 मिनेट
२०७७ असार ८ सोमबार १२:११:००

आइसोलेसनमा राखेकाे १८ घन्टासम्म खाना र पानी नदिएकाे भन्दै सिराहामा संक्रमितले साेमबार नाराबाजी गरेका छन् ।

सदरमुकामकाे चन्द्र माध्यमिक विद्यालयमा स्थापना गरिएको आइसोलेसनमा बसेका ७० जनालाई १८ घन्टापछि मात्र खाना दिएपछि आक्राेशित भएका उनीहरूले नाराबाजी गरेका हुन् ।  

बिहान नास्ता र पिउने पानी व्यवस्थापन पक्षले नदिएपछि उनीहरूले नाराबाजी गरेका थिए । खाना नपाएपछि आफन्तलाई फोन गरेर घरबाटै खाजा मगाउने गरेको उनीहरूले बताएका छन् ।

पिउने पानी, खाजा र खाना समयमा दिन माग राख्दा व्यवस्थापन पक्षले कुनै वास्ता नगरेको आइसाेलेसनमा बसेका एकजनाले बताए । 

आइतबार साँझ ६ बजे आइसोलेसनमा लगिएका संक्रमितहरूलाई आज (सोमबार) साढे १० बजेपछि मात्रै खाना दिइएको थियो । 

रातिदेखि नै पिउने पानी नपाएकाे उनीहरूले गुनासाे गरे । बिहान पनि समयमा खाजा र पानी नपाएपछि उनीहरू नाराबाजीमा उत्रिएका थिए । 

‘तीनपटक खाने औषधि थमाइएको छ,’ एक संक्रमितले भने, ‘तर, पिउने पानी र खाजा समयमा नपाउँदा औषधि खान पाइएको छैन ।’

संक्रमितलाई सिटामोल, डक्सिसाइक्लिन, भिटामिन बी कम्प्लेक्स, डाइजिन (एन्टासिड) लगायतका औषधि दिइएको छ । 

ती औषधि सेवन गर्न आवश्यक पर्ने खाना, खाजा र पानी आवश्यक भने छैन । 

कतिपयले आइसोलेसनको बाहिरबाट पानी, खाजा, फलफूलहरू मगाउने गरेको बताए । 

समुदायमा संक्रमण नफैलियोस् भन्दै आइसोलेसनमा राखिए पनि सुरक्षा भने निकै फितलाे छ । 

सदरमुकामको बीचबजरमा रहेको आइसोलेसनमा समयमा खाजा, पानी र खाना उपलब्ध नहुँदा आफन्तले पुऱ्याउने क्रममा संक्रमण फैलिन सक्ने जाेखिम बढेकाे स्थानीयहरूले बताएका छन् । 

उक्त आइसोलेसनको जिम्मा जिल्ला अस्पताल सिराहालाई दिइएको छ । जिल्ला अस्पताल प्रमुख डा. नागेन्द्रप्रसाद यादवले दुईपटक खाना खुवाउने टेन्डर भएकोले त्यसैअनुसार खुवाउने गरेको बताए । 

‘खाजा खुवाउने कुनै सेड्युल छैन,’ डा यादवले भने, ‘बिहान र बेलुका खाना दिने गरिएकाे छ । अरू समयमा मिलेअनुसार खाजाको व्यवस्था हुन्छ ।’