Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ माघ १५ मंगलबार ०८:४१:००
Read Time : > 1 मिनेट
अर्थ

‘फेक रेस्क्यु’मा हेलिकोप्टरको  संलग्नता छैन : सञ्चालक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ १५ मंगलबार ०८:४१:००

हेलिकोप्टर सञ्चालकहरूको संस्था हेलिकोप्टर सोसाइटी अफ नेपालले पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकहरूलाई बिरामी बनाई रकम असुली तथा फेक रेस्क्यु गर्नेजस्ता क्रियाकलापमा कुनै किसिमको संलग्नता नभएको स्पष्टोक्ति प्रस्तुत गरेको छ । पर्यटकको स्वास्थ्य समस्या तथा अन्य विपद्को उद्धारको नाममा हुने गरेका कुनै पनि अनिधिकृत क्रियाकलापमा संस्थाका सदस्यहरूको संलग्नता नरहेको तथा रेस्क्युको प्रकियामा हेलिकोप्टर कम्पनीकहरूको केवल उद्धार मात्रै गर्ने गरेको सोमबार पत्रकार सम्मेलन गर्दै हेलिकोप्टर सोसाइटीका महासचिव योगराज कँडेल शर्माले बताए । उनले उद्धारबापतको रकम सम्बन्धित कम्पनीहरूबाट लिने गरेको र बिमा कम्पनीहरूले हेलिकोप्टर अपरेटरहरूलाई सीधै उडान दिनेसमेत नगरेको बताए । ‘यस्तो अवस्थामा पटक–पटक अवाञ्छनीय आरोप लगाई समाचारमा प्रकाशन गर्नुले यसमा सीमित व्यक्तिहरूको ठूलो खेल रहेको छ कि भन्ने शंका उब्जाएको छ,’ उनले भने । 

ट्रेकिङ एजेन्सी र अस्पताल सञ्चालकसँग साँठगाँठ गरी पर्वतारोही तथा पर्यटकलाई ठग्ने गरेको समाचारले व्यवसायमा लाञ्छना लगाउने काम भएको प्रेस विज्ञप्तिमा उल्लेख छ । सञ्चारमाध्यममा आएका यस्ता विषयप्रति गम्भीर ध्यानाकर्षण भएको हेलिकोप्टर सोसाइटीले जानकारी दिएको छ ।  

देशका विभिन्न स्थानमा पदयात्रा पर्वतारोहणमा रहेका पर्यटकहरूलाई लेक लाग्ने, स्वास्थ्य तथा विपद् पर्दा समयमा जीवनरक्षाका लागि तत्काल उद्धार कार्य गर्ने गरिएको हेलिकोप्टर सोसाइटीका महासचिव योगराज कँडेल शर्माले बताए । त्यसका लागि सबै हेलिकोप्टर कम्पनीका दक्ष प्राविधिकलाई ‘हाई अल्टिच्युड रेस्क्यु’सम्बन्धी तालिम गराई उद्धार कार्य गरिरहेको उनले बताए । 

नेपालमा हुने पर्यटक उद्धारसम्बन्धी सरकारले छानबिन कार्यदल बनाएको र सो कार्यदलले आफ्नो प्रतिवेदन मन्त्रालयलाई बुझाइसकेको छ । कार्यदलको प्रतिवेदनपश्चात् व्यवस्थित गर्न पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि २०७५ लागूसमेत गरिसकेको छ । 

हेलिकोप्टर सोसाइटीले सरकारसँग गलत गर्नेलाई आवश्यक छानबिन गरी कारबाही गर्न आग्रह गरेको छ । साथै सबै अन्तर्राष्ट्रिय इन्सुररलाई नेपाल सरकार, नेपाल पर्यटन बोर्डको वेबसाइटमा रहेको दररेटमा उद्धार उडान गर्न अनुरोध गरेको छ ।