मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
टेकराज थामी काठमाडौं
२०७७ असार ८ सोमबार ०४:१०:००
Read Time : > 7 मिनेट
मुख्य समाचार

सामाजिक दूरीले पनि रोक्न सकेन महिला हिंसा : लकडाउनमा हरेक दिन पाँच महिलामाथि बलात्कार

Read Time : > 7 मिनेट
टेकराज थामी, काठमाडौं
२०७७ असार ८ सोमबार ०४:१०:००

लकडाउनले परिवारमा आर्थिक अभाव र मानसिक तनाव बढेको छ, महिलाहरूले त्यसको सामना गरिरहेका छन् । थप उनीहरूमाथि घरेलु हिंसा, बलात्कार र हत्यासम्मका जघन्य अपराध पनि भइरहेका छन् । राष्ट्र संघका अनुसार लकडाउनमा विश्वभर घरेलु हिंसामा २० प्रतिशतसम्म वृद्धि भएको छ ।

 

अपराध १ : ११ लाख दाइजो ल्याउँदा पनि अपुग भएको भन्दै यातना, गर्भवती महिलाको रहस्यमय मृत्यु

रौतहटको ईशनाथ नगरपालिका– ५ लक्ष्मीनियाँकी २३ वर्षीया रेखादेवी ठाकुरको वर्षदिनअघि गाउँकै सञ्जय ठाकुरसँग विवाह भयो । सञ्जयको परिवारले ११ लाख नगद दाइजो पनि लिए । तर, दाइजो रकम सञ्जयका बुबा नागेन्द्र आफैँले राखे । सञ्जयले बुबासँग उक्त रकम माग्ने आँट गरेनन्, बरु पत्नी रेखादेवीलाई माइतबाट थप रकम ल्याउन भन्दै यातना दिन सुरु गरे । यातनाको शृृंखला बढ्दै गएपछि रेखादेवी ज्यान जोगाउँदै माइत गइन् । केही समयपछि सञ्जयले आगामी दिनमा यातना नदिने प्रतिबद्धता गरेर पत्नीलाई घर ल्याए । 

तर, रेखादेवीमाथिको यातना रोकिएन, झन् बढ्यो । यही क्रममा आठ महिनाकी गर्भवती रेखादेवी १८ वैशाखमा घरमै मृत फेला परिन् । मृतकका भिनाजु रोशन ठाकुरका अनुसार रेखादेवीको घाँटीमा नीलडाम थियो, अनुहारमा रगतका टाटा र कपाल असरल्ल छरिएका थिए । तन्नामा पोका पारिएको अवस्था भेटिएको शव हेर्दा हत्या गरिएको अनुमान सजिलै गर्न सकिन्थ्यो । ‘दाइजोको विषयमा विवाद थियो । ११ लाख रुपैयाँ त पहिले नै बुझाएको हो । पुगेन भनेर बहिनी (साली)माथि यातना दिइरहेका थिए । कुटपिट गरेरै हत्या भएको देखिन्छ । निष्पक्ष अनुसन्धान गरेर दोषीलाई कडा कारबाही हुनुपर्छ,’ उनले भने ।

ठाकुरका अनुसार जिल्ला प्रहरी कार्यालय रौतहटले सुरुमा मृतकको पोस्टमार्टम गर्न र पीडित पक्षको जाहरी लिनसमेत मानेको थिएन । तर, सबैतिरबाट दबाब भएपछि मात्रै प्रहरी बाध्य भयो । अहिले अनुसन्धानका लागि मृतक रेखादेवीका ससुरा नागेन्द्र र श्रीमान् सञ्जयलाई पक्राउ गरेको छ । पोस्टमार्टम रिपोर्टमा रेखादेवीको झुन्डिएर मृत्यु भएको उल्लेख गरिएको सूचना आफूहरूले पाएको ठाकुरले बताए । प्रहरीले औपचारिक रूपमा रिपोर्ट सार्वजनिक गरेको छैन । ‘पोस्टमार्टममा झुन्डिएर मृत्यु भएको उल्लेख भए पनि उनीहरू (रेखादेवीका श्रीमान् र ससुरा)ले कुटपिट गरी झुन्ड्याएको हो भन्ने हाम्रो आशंका हो । प्रहरीले निष्पक्ष छानबिन गरोस्,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रविराज खड्काले घटना अनुसन्धानकै क्रममा भएकाले पोस्टमार्टम रिपोर्ट सार्वजनिक नगरिएको बताए । ‘हत्या हो कि आत्महत्या भन्ने अनुसन्धानपछि खुल्छ । किटानी जाहेरी दर्ता भइसकेको छ, अनुसन्धानपछि मात्रै घटनाको सम्बन्धमा भन्न सकिएला,’ उनले भने ।

अपराध २ : राजधानीमै सामूहिक बलात्कार  

भक्तपुरको ठिमी नगरपालिका– ६ स्थित पुरानो थिमी बस्ने २० वर्षीया युवती गत ८ जेठमा चिनजानकै साथीको योजनामा सामूहिक बलात्कारमा परिन् । नजिकै डेरा गरी बस्ने २२ वर्षीय रोहित गिरी चिनजानकै थिए । उनले युवतीलाई ललाइफकाई डेरामा लगेर बलात्कार गरे । पीडित युवती घर जान चाहन्थिन्, तर रोहितले जान दिएनन् । बरु, छिमेकमा बस्ने २९ वर्षीय कवाङ लामासहितका चार साथीलाई समेत कोठामा बोलाए । र, युवतीलाई रातभर पालैपालो बलात्कार गरे । 

पीडित युवतीले दोस्रो दिन नै प्रहरीमा जाहेरी दिएकी थिइन् । गिरी पक्राउ परे पनि अन्य चार युवक भने फरार छन् । भक्तपुर प्रहरीका प्रमुख एसपी सविन श्रेष्ठले सामूहिक बलात्कार भएको र घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताए । 

अपराध ३ : श्रीमान्ले नै गरे पत्नीको हत्या 

पूर्वी चितवनको खैरनीस्थित सिमलटाँडीका कृष्णप्रसाद अधिकारीका दुई श्रीमती थिए । जेठी शर्मिला र कान्छी मञ्जुबीच मिलाप थिएन । दुई पत्नीबीचको झगडामा कृष्णप्रसादले भने प्रायः शर्मिलालाई नै साथ दिन्थे । गत वैशाखको अन्तिम साता मञ्जु र कृष्णप्रसादबीच भएको विवादले झडपको रूप लियो । शर्मिलाले स्वाभाविक रूपमा श्रीमान्को साथ दिइन् । आवेगमा कृष्णप्रसादले मञ्जुलाई यति कुटपिट गरे कि उनको प्राण नै गयो । घटनाको अनुसन्धानपछि प्रहरीले कृष्णप्रसाद र जेठी श्रीमती शर्मिलालाई पक्राउ ग¥यो । भरतपुर जिल्ला अदालतले घटना सुनियोजित ढंगले गराइएको भन्दै उनीहरूलाई पुर्पक्षका लागि जेल चलान गरेको छ । 

अपराध ४ : कैलालीको क्वारेन्टाइनमै सामूहिक बलात्कार, स्वयंसेवक नै भए हिंस्रक 

कैलालीको लम्कीचुहा नगरपालिका– १ स्थित सहिद स्मृति माविको क्वारेन्टाइनमै ३१ वर्षीया महिलाको सामूहिक बलात्कार भयो, त्यो पनि क्वारेन्टाइनमा खटिएका स्वयंसेवकहरूबाटै । 

पीडित महिला तीन साताअघि भारतको बेंग्लोरबाट फर्केर गाउँमै बनाइएको क्वारेन्टाइनमा बसेकी थिइन् । ३१ जेठको क्वारेन्टाइनमा उनी एक्लै थिइन् । ठूलो कोठामा चुकुल पनि थिएन । भित्रको टेबुलकुर्सीले ढोकामा टेको लगाएर सुतिन् । मध्यरातमा कसैले ढोका ढकढक्याएपछि उनी तर्सेर ब्युँझिन् । परिचित स्वयंसेवकको आवाज भएको पक्का भएपछि उनी ढुक्क भइन् । तर, स्वयंसेवकले ढोका खोलेर भित्र पसी महिलालाई भुइँमा पछारे । अनि, जबर्जस्ती गरे । 

विवश महिलाले गुहार मागिन् । घटनास्थलमा अन्य अर्का एक स्वयंसेवी र हेल्थ असिस्टेन्ट पनि आए । तर, उनीहरूले महिलाको उद्धार गरेनन् । बरु बार्गेनिङ गर्न भन्दै मोबाइलबाट भिडियो खिचे । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनामा तीनैजनालाई अनुसन्धानका लागि पक्राउ गरिएको छ । ‘सामूहिक बलात्कार भएको भन्दै तीनजनाविरुद्ध जाहेरी प¥यो । अहिले पक्राउ गरेर अनुसन्धान भइरहेको छ,’ कैलालीका एसपी अनुपमशमशेर जबराले भने ।

अपराध ५ : श्रीमान्को यातनाले घर छाड्न विवश मनु दूधेबालकसहित अलपत्र

२६ वैशाखको अपराह्न जडीबुटीस्थित डेरामै थिइन्, दोलखा कालिञ्चोक–२ बाबरेकी २५ वर्षीया मनु थामी । श्रीमान् बाहिर निस्किएका थिए । काखे छोरा रुन थालेपछि भुलाउन ढाडमा मजेत्रोले बाँधिन् । ढोकाबाट बाहिर चिहाइन् । कोही नदेखिएपछि बाहिर निस्किएकी मात्रै के थिइन्, श्रीमान् राजु बुढामगरसँग जम्काभेट भयो । उनको अनुमतिविनै ढोकाबाहिर पाइला राखेर ठूलो ‘अपराध’ गरेकी थिइन् मनुले ।

क्रोधित श्रीमान्ले मनुको चुल्ठो समातेर घिसार्दै कोठाभित्र लगे र भकाभक कुट्न थाले । आमासँगै रोइरहेको अबोध छोराको चिच्याहटले पनि राजुको मन पगालेन । कुट्दा–कुट्दा थाकेपछि मात्रै रोकिए । ‘बाहिर निस्किस् भने तँलाई म यहीँ काट्छु,’ ढोका बन्द गरेर फेरि बाहिर निस्कँदै गर्दा उनले थप चेतावनी दिए ।

श्रीमान्को निर्घात कुटाइ यो पहिलोपटक थिएन मनुका लागि । प्रत्येक दिन कुटाइ खानुपथ्र्यो उनले । श्रीमान्ले कोठाबाट बाहिर निस्कन दिँदैनथे, विवश र लाचार मनु कोठामै रोएर बस्थिन् । खासमा बिहे गरेको वर्षदिनबाटै यातनाको शृंखला सुरु भएको थियो उनीमाथि । राजुले ज्यान मार्ने धम्की दिन्थे । वेलावेला त मर्ने गरी नै घाँटी अठ्याउँथे । सास रोकिएर उनी अररो परेपछि मात्रै छाड्थे । यसक्रममा कैयौँपटक उनको टाउको फुट्यो, शरीरमा चोट लागे । तैपनि काखे छोराको मायाले सबै सहिन् । वेलावेला छोरालाई छाती कस्थिन् र आफ्नै भाग्यलाई सराप्दै रुन्थिन् । 

लकडाउनपछि मनुमाथिको यातना अझै बढेको थियो । २६ वैशाखको घटनापछि ज्यान जोगाउन पनि भाग्ने योजना बनाइन् । र, साँझ ६ बजे काखीमा छोरालाई च्यापेर उनी कोठाबाट निस्किइन् । श्रीमान्को आँखा छल्दै बल्लबल्ल जडीबुटीस्थित मेनरोडमा त पुगिन् । तर, अर्को समस्या अगाडि तेर्सियो, अब आयो जाने कहाँ ? करिब आधा घन्टा सडकमै घोत्लिएपछि कपन बस्ने दिदी सीतालाई सम्झिइन् । त्यहीँ गएर शरण लिने योजना बनाइन् । हिँड्दै रातको करिब १० बजे मनु चाबहिल पुगिन् । तर, कपन जाने बाटो भुलिसकेकी थिइन् । सुनसान सडकमा कसैलाई सोध्ने आँट पनि थिएन उनीसँग, न त कोही आफन्तको नम्बर थियो । थकित र त्रसित मनु सडकपेटीमै थचक्क बसिन् । 

केहीबेरमा प्रहरीले देखेपछि मनुलाई सोधपुछ ग¥यो । प्रहरीकै सहयोगमा उनी राति २ बजे कपनस्थित दिदीको डेरामा पुगिन् । भोक र शरीरभरिको चोटका कारण उनको अवस्था दयनीय थियो । छोराको पनि ओठमुख सुकिसकेको थियो । बहिनीको अवस्था देखेर दिदी सीता पनि भावविह्वल भइन् । तर, भोलिपल्टदेखि नै सीताको परिवारमा असन्तुष्टि देखियो । कोरोनाको त्रासका कारण उनको परिवारले मनुलाई शरण दिन रुचि देखाएन । त्यसैले उनी आफैँ त्यहाँबाट बाहिरिइन् । अहिले उनी बौद्ध महांकालस्थित दोलखाकै एक डेरावालको शरणमा पुगेकी छिन् । 

‘श्रीमान्को यातना सहन सकिनँ । बल्लतल्ल ज्यान जोगाएर कोठाबाट भागेँ । शरण लिन दिदीकोमा त पुगेँ, तर त्यहाँ पनि बस्ने अवस्था रहेन । अहिले गाउँकै दाइकहाँ आइपुगेकी छु । दूधेबच्चा छ, भोलि के हुने हो, कसरी बाँच्ने हो केही थाहा छैन,’ मनुले पीडा सुनाइन् । 

कमजोर पारिवारिक अवस्थाकी मनु चार वर्षअघि काठमाडौं आएकी थिइन् । बालाजुस्थित गेस्टहाउसमा उनले काम पाइन् । त्यही गेस्टहाउसमा कुक भएर काम गर्थे बाग्लुङ भगोटका राजु बुढामगर । त्यहीँ दुईजनाबीच प्रेम बस्यो र विवाह गरे । एक वर्षसम्म दुईजनाबीचको सम्बन्ध ठीकै थियो । तर, त्यसपछि राजुले यातना दिन सुरु गरे । 

‘बिहेपछिको करिब एक वर्षसम्म सबै ठीकठाकै थियो । त्यसपछि यातना दिन थाल्यो । शरीरभरि घाउ छ । कसैलाई भनिस् भने मारिदिन्छु भन्छ । डरले कसैलाई भन्न सकेकी छैन । अब त म त्योसँग बस्दिनँ, मार्छ । छोरालाई कसरी पाल्ने मात्रै चिन्ता छ,’ मनुले भनिन् ।

राष्ट्रिय महिला आयोगकी प्राविधिक सल्लाहकार पलिता थापाले पीडित मनुको घटना सम्बन्धमा जानकारी भएको, तर लकडाउनका कारण प्रभावकारी सहयोग गर्न नसकिएको बताइन् । ‘मनुको घटना सन्दर्भमा जानकारी भएको छ । उनी ट्रमामा रहेको मैले बुझेकी छु । त्यसो हुँदा अहिले नै कानुनी कारबाहीमा जान सक्ने अवस्थामा छैनन् । उनलाई काउन्सिलिङको आवश्यकता देखिएको छ । टेलिफोनमार्फत काउन्सिलिङ भइरहेको छ । त्यसबाहेक अन्य केही गर्न सकिएको छैन,’ उनले भनिन् ।

लकडाउनका ८३ दिन : नेपालमा बलात्कारका तीन सय ७३ घटना

लकडाउनको अवधिमा महिला हिंसाका घटना बढेका छन् । ११ चैतदेखि ३२ जेठसम्म देशभर महिला हिंसासँग सम्बन्धित पाँच सय ४१ घटना भएको प्रहरीले जनाएको छ । यो संख्या यही अवधिमा भएको संगठित अपराधको तुलनामा झन्डै ३१ प्रतिशतले धेरै हो । संगठित अपराधका घटना तीन सय ७६ भएका छन् ।

प्रहरीका अनुसार लकडाउनको अवधिमा बलात्कारका घटना मात्रै तीन सय ७३ भएका छन् । प्रत्येक दिन औसत पाँचजना महिला बलात्कृत भएका छन् । सामान्य अवस्थामा दैनिक औसत सात महिला बलात्कारको सिकार हुने गर्थे । त्यस्तै, जबर्जस्ती करणीका तीन सय ७३, जबर्जस्ती करणी उद्योगका एक सय एक, बोक्सी आरोपका आठ, बहुविवाह ३४, अप्राकृतिक मैथुनका सात तथा बालविवाह र मानव बेचबिखनका नौ–नौ घटना भएका छन् ।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी नीरज शाहीले संगठित अपराधको तुलनामा महिला हिंसाका घटना अलि धेरै भए पनि सामान्य दिनको तुलनामा भने केही कम भएको बताए । ‘संगठित अपराधको तुलनामा महिला तथा बालबालिकासँग सम्बन्धित अपराधका घटना केही बढेका हुन् । प्रहरीको सक्रियताका कारण अनुसन्धान भएको र प्रहरीले रेस्पोन्स गरेको अर्थमा पनि यसलाई बुझ्नुपर्छ । भएको पनि त्यही हो । हामीले महिला तथा बालबालिकासँग सम्बन्धित कुनै पनि घटनामा कम्प्रोमाइज गरेका छैनौँ । आवश्यक अनुसन्धान गरेका छौँ,’ उनले भने ।

महिला आयोगले पनि लकडाउन अवधिमा महिला हिंसाका उजुरी बढेको जनाएको छ । आयोगमा यस अवधिमा दर्ता भएका ६ सय चार घटनामध्ये ७७ प्रतिशत घरेलु हिंसा र १३ प्रतिशत यातनासँग सम्बन्धित छन् । यस अवधिमा एक हजार तीन सय घटनाको उजुरी त टेलिफोनबाट मात्रै आएको आयोगले जनाएको छ । आयोगकी सचिव शान्ता अधिकारीले लकडाउन अवधिमा महिला हिंसाका घटना बढेको बताइन् । 

महिला तथा बालबालिकामन्त्री पार्वत गुरुङ भन्छन्– महिला हिंसा बढेको देखिन्छ, न्यूनीकरणका प्रयास पनि भएका छन्

लकडाउनको अवधिमा महिला हिंसा र त्यससँग सम्बन्धित अपराधका घटना सतहमा आएका छन् । तथ्यांक हेर्दा बढेको हो कि जस्तो देखिन्छ । जे होस् यस्ता घटना न्यूनीकरण गर्नु सरकारको मुख्य दायित्व हो । यसका लागि सरकारका फरक–फरक निकायले फरक–फरक जिम्मेवारी बोकेका छन् । काम पनि भइरहेको छ ।

अपराधसँग सम्बन्धित घटनाको रेस्पोन्स गर्ने जिम्मा गृह मन्त्रालयको हो । हिंसा हुन नदिन सचेतना गर्ने काम महिला मन्त्रालयको हो । त्यसअन्तर्गत हामीले हिंसाविरुद्धको सचेतना कार्यक्रमलाई तीव्रता दिएका छौँ । स्थानीय तहमा पीडितहरूका लागि कोष खडा गरिएको छ । उद्धारका काम भएका छन् ।

लकडाउनको अवधिमा मात्रै विपत्मा परेका २२ गर्भवती महिलाको उद्धार गरिएको छ । यसको अर्थ हिंसाजन्य घटना न्यून भयो भन्ने होइन । तर, न्यूनीकरण गर्ने प्रयास भएका छन् । अब पनि यस्ता घटना न्यूनीकरण गर्न मन्त्रालयले सबै विकल्प अपनाउनेछ ।

समाजशास्त्री डा. टीकाराम गौतम भन्छन्– महिला हिंसा परिवारभित्रै ज्यादा हुने भएकाले लकडाउनमा बढेका हुन्

अपराध वा हिंसा समाजको अन्तत्र्रिmया र परिवेशले निर्धारण गर्ने विषय हुन् । महिला हिंसाको सन्दर्भमा पनि त्यही लागू हुने हो । सामान्य दिन र लकडाउनमा समाजको अन्तक्रिया र परिवेश फेरिएको छ ।

यतिवेला मानिसको बाहिरभन्दा पनि परिवारमा ज्यादा अन्तक्रिया भएको छ । घरेलु हिंसा भनौँ या महिला हिंसा परिवारमै ज्यादा हुने हुन् ।

अहिले परिवारमा नै ज्यादा अन्तक्रिया हुने भएकाले त्यससँग सम्बन्धित हिंसा तथा अपराधजन्य घटना पनि बढेका हुन् । महिला हिंसासँग सम्बन्धित नै भए पनि बाहिर गएर हुने अपराध तथा हिंसा भने घटेका हुन सक्छन् । 

विश्वभर छ समस्या

कोभिड– १९ महामारीविरुद्धको लडाइँमा ‘सोसल डिस्टेङ’ अर्थात् सामाजिक दूरीलाई प्रमुख अस्त्र मानियो, त्यसैले दुनियाँभरका सरकारले धमाधम लकडाउन घोषणा गरे । कोभिडको कुनै औषधि र खोप पत्ता नलागेकाले विश्व स्वास्थ्य संगठनले सामाजिक दूरीलाई नै निर्विकल्प उपाय ठान्यो । हिँडडुल गर्न नपाइने र सामाजिक दूरी कायम गर्नुपर्ने यो अनौठो अवस्थामा पनि महिला हिंसाका धेरै घटना सतहमा आएका छन्, महिलाहरू बलात्कार र हत्याजस्ता जघन्य अपराधका सिकार भएका छन् । 

नेपालमा मात्रै होइन, विश्वभर नै लकडाउनमा अस्वाभाविक रूपमा महिला हिंसा भएको भन्दै संयुक्त राष्ट्र संघले चिन्ता व्यक्त गरेको छ । राष्ट्र संघका अनुसार लकडाउनमा विश्वभर घरेलु हिंसामा २० प्रतिशतसम्म वृद्धि भएको छ । ‘लकडाउनले सामाजिक दूरी बढाए पनि पारिवारिक दूरी घटाएको छ । योबीचमा कतिपयले परिवारसँग बिताउन सकिने समयको महत्व बुझेका छन्, तर कतिपय अवस्थामा अभावले घर–घरमा तनाव पनि बढाएको छ,’ राष्ट्रसंघको रिपोर्ट भन्छ । 

संसारभर महिलाले परिवार, समाज र अपराधीबाट उत्पीडिन भोगेका छन् । ‘लकडाउनले परिवारमा आर्थिक अभाव बढेको छ, महिलाले त्यसको पनि सामना गरिरहेका छन् । थप उनीहरूमाथि घरेलु हिंसा, बलात्कार र हत्यासम्मका जघन्य अपराध पनि भइरहेका छन्,’ राष्ट्र संघको प्रतिवेदन भन्छ, ‘अझ परिवारबाट टाढा रहेका महिलाले लकडाउनमा अकल्पनीय मानसिक तनाव भोगेका छन् । कतिपय महिलाले सहयोगका लागि सामाजिक सञ्जालको प्रयोग गरिरहेका छन् । इन्स्टाग्राम र ह्वाट्सएप प्रयोग गरेर पीडित महिलाले उद्धार र सहयोग मागेका छन् ।’ विश्वका कैयौँ सहरमा दाम्पत्यजीवन खतरामा पर्दै आएको छ । 

विश्वका कतिपय देशमा सामाजिक कार्यकर्ताले हिंसामा परेका महिलालाई कानुनी सुविधा उपलब्ध गराएका छन् । जानकारहरू महामारीकै बीचमा र त्यसपछि अचानक मनोचिकित्साको आवश्यकता बढ्न सक्ने बताउँछन् । २००३ मा सार्स महामारी सकिएपछि लामो समयसम्म मानिस तनावको सिकार भएका थिए ।