मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार ७ आइतबार ११:१३:००
Read Time : < 1 मिनेट
प्रदेश

पहिरोका कारण तम्घासनजिकै सात घर विस्थापित, एक दर्जन घर जोखिममा

Read Time : < 1 मिनेट
२०७७ असार ७ आइतबार ११:१३:००

पहिरोका कारण रेसुंगा नगरपालिकाका सात घरपरिवार विस्थापित भएका छन् । पहिरोका कारण उच्च जोखिममा भएका रेसुंगा नगरपालिका– ७ बेदुखर्कका रामबहादुर खड्का, लक्ष्मी कुँवर, पदम विष्ट, मुमेन्द्र थापामगर, पोमनारायण सुवेदी र विष्णु कुँवरको परिवारलाई अन्यत्र व्यवस्थापन गरिएको वडाध्यक्ष मोहनप्रसाद पाण्डेले जानकारी दिए । 

त्यस्तै, सोही ठाउँका आठ घरपरिवार पहिरोको जोखिम छन् । स्थानीय रिदम पाण्डेका अनुसार रातिदेखिको अविरल वर्षाले तम्घास–नेटा सडक र तम्घास–खाम्सेपानी सडकको दुवैतर्फबाट बस्ती जोखिममा परेको छ । तम्घास–खाम्सेपानी सडकअन्तर्गत ओख्रेनीमा पाँच वर्षदेखि लगातार पहिरो खसिरहेको छ । 

झरेको माटो फाल्ने तर भित्तामा वाल उठाउने काम नभएकाले बस्ती जोखिममा परेको पाण्डे बताए । त्यस्तै तम्घास–नेटा सडकको कारण पनि केही घर जोखिममा परेका छन् । सडक निर्माणको क्रममा नाली तथा निर्माण सामग्रीको उचित व्यवस्थापन नगरेको कारण आफूहरू जोखिममा परेको विस्थापितमध्येका रामबहादुर खड्काले गुनासो गरे । 

उनले सडक निर्माणको क्रममा निर्माण व्यवसायीलाई निर्माण सामग्री र नालीको उचित व्यवस्थापन गर्न आग्रह गरे पनि नमानेका कारण वाल नै फुटेर घरहरू बग्ने अवस्थामा पुगेको बताए । तम्घास–खाम्सेपानी सडकअन्तर्गत ओख्रेनीमा वर्षौंदेखि पहिरो खस्ने भएकाले आमनागरिकलाई आवत–जावतमा समेत समस्या भइरहेको छ ।