१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार ७ आइतबार ०९:२३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

श्रीमानलाई आरडिटी नेगेटिभ देखिएर घर गएको ११ दिनपछि श्रीमतीमा कोरोना पोजेटिभ

Read Time : < 1 मिनेट
२०७७ असार ७ आइतबार ०९:२३:००

श्रीमानलाई आरडिटी नेगेटिभ देखिएको ११ दिनपछि श्रीमतीमा कोरोना संक्रमणको पुष्टि भएको छ । गुल्मी दरबार गाउँपालिकाकी २१ वर्षीया महिलामा शनिबार कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

गर्भवतीसमेत रहेकी उनलाई गाउँमा सुत्केरी बेथाले च्यापेपछि गुल्मी अस्पताल ल्याइएको थियो । श्रीमान् भारतबाट आएकाले गुल्मी अस्पतालले पहिला उनको आरडिटी परीक्षण गरिएकाे थियाे । परीक्षणपछि आरडिटी रिपोर्ट पोजेटिभ आएपछि उनलाई पाल्पा रिफर गरिएको सूचना अधिकारी आचार्यले बताए ।

शुक्रबार पाल्पाकाे लुम्बिनी मेडिकल कलेज प्रभासमा उनी सुत्केरी भएकी छिन् । महिला र नवजात शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

लुम्बिनी मेडिकल कलेज प्रभासबाट स्वाब संकलन गरेर भैरहवा पठाएकोमा ती महिलाको शनिबार पिसिआर रिपोर्ट पनि पोजेटिभ आएको छ । भर्खर जन्मिएकी नवजात शिशु र आमाको सम्पर्कमा रहेका घरपरिवारको पिसिआर परीक्षणको तयारी भइरहेको गुल्मी दरबार गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले जानकारी दिए । 

संक्रमित महिलाका श्रीमान् भारतबाट जेठ ११ गते गाउँ आएका थिए ।  १४ दिन क्वारेन्टाइनमा बसेपछि जेठ २७ गते आरडिटी नेगेटिभ आएकाले उनलाई घर पठाइएको गुल्मी दरबार गाउँपालिकाका स्वास्थ्य संयोजक अर्यालले जानकारी दिए।

अहिलेसम्म गुल्मी दरबार गाउँपालिकामा २१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । ४२ जनामा आरडिटी पोजेटिभ देखिएको छ भने ४९ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको गाउँपालिकाले जनाएको छ । गुल्मीमा अहिलेसम्म एक सय ७४ जनाको कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।