मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ असार ७ आइतबार ०६:४८:००
Read Time : < 1 मिनेट
समाचार

सुक्खा बन्दरगाह र रसुवागढी हाइड्रोमा बाढीको वितण्डा, उपकरण बगे 

क्षतिको विवरण आउन बाँकी

Read Time : < 1 मिनेट
२०७७ असार ७ आइतबार ०६:४८:००

रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह र रसुवागढी जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्‍याएको छ । अविरल वर्षासँगै लेन्दे खोलामा आएको बाढी भोटेकोसी नदीमा मिसिँदा टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह र रसुवागढी जलविद्युत् आयोजनामा बाढीले नोक्सान पुर्‍याएको हो । 

गएराति करिब तीन बजेतिर अविरल वर्षासँगै आएको बाढीले टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहमा रहेको एउटा टिपर, एउटा जेसिभी, एउटा लोडर बगाएको सशस्त्र प्रहरीको २१ नम्बर गुल्म टिमुरेका डिएसपी लक्ष्मण थापाले बताए । बाढीको जोखिममा परेका सुक्खा बन्दरगाहका अन्य ६ वटा सवारीलाई भने सुरक्षित स्थानमा सारिएको उनले बताए । 

त्यस्तै बन्दरगाह निर्माणका लागि कामदार बस्दै आएको आवासमा समेत बाढीले क्षति पुगेको थापाले बताए । ‘कामदार बस्ने घरको पछिल्लोतर्फको छेउको साइट पानीको छालले हान्दा भत्किएको छ। ११ जना कामदारलाई राति नै सुरक्षित ठाउँमा सारेका छौँ,’ उनले भने, ‘सुक्खा बन्दरगाह बाढीको उच्च जोखिममा परेको छ ।’

पुलमा समेत  क्षति

त्यस्तै सुक्खा बन्दरगाहनजिकै रसुवागढी जलविद्युत् आयोजनामा जाने पुलमा समेत बाढीले क्षति पुर्‍याएको थापाले बताए । उनले भने, ‘छेउछेउको केही छैन, जलविद्युत् आयोजनामा आवतजावत बन्द भएको छ ।’

बाढीले वितण्डा मच्चाउन थालेपछि सशस्त्र प्रहरीको २१ नम्बर गुल्म टिमुरेका डिएसपीको नेतृत्वमा ४५ जनाको टोली राति नै घटनास्थलमा खटिएको छ । क्षतिको विवरण भने आउन बाँकी छ ।

त्यसैगरी शनिबार बिहान अविरल वर्षासँगै लेन्देखोलामा आएको बाढीले रसुवागढी जलविद्युत् आयोजनाको बाँधस्थलमा क्षति पुर्‍याएको छ । आयोजनाको ड्याम भत्किएको छ भने बाढीले आयोजना निर्माणमा प्रयोग हुने उपकरणसमेत बगाएको छ ।