मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
ज्ञानेन्द्रविक्रम महत
२०७७ असार ७ आइतबार ०६:५७:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली

भाइरसविरुद्ध प्रतिरोधी क्षमता विकासमा योग

सन्दर्भ : अन्तर्राष्ट्रिय योग दिवस

Read Time : > 2 मिनेट
ज्ञानेन्द्रविक्रम महत
२०७७ असार ७ आइतबार ०६:५७:००

सेप्टेम्बर २०१४ मा संयुक्त राष्ट्रसंघ महासभाले २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवस घोषणा गर्‍यो । २१ जुन २०१५ मा पहिलोपटक योग दिवस मनाइयो । हाम्रो हिमालयको कुनाकन्दराबाट सिर्जना भएको योगशिक्षाले अन्तर्राष्ट्रिय मञ्चमा मान्यता पाएको छैटौँ वर्ष पूरा भएको छ ।

पूर्वीय दर्शनमा प्राचीनकालदेखि कुटीको सहारामा ऋषि, महर्षीहरूले योगको सच्चा साधना गरी ऋषिमन प्राप्ति गरेको पाइन्छ । योगशिक्षाले अन्तर्राष्ट्रिय मञ्चमा मान्यता पाउन भने हजारौँ वर्ष लाग्यो । ढिलै भए पनि योगले अन्तर्राष्ट्रिय मान्यता पाउँदा हामी गौरवान्वित छौँ ।

पतञ्जली योग समिति नेपालले पनि सरकारको पूर्ण सहयोगमा हरेक वर्ष २१ जुनमा योग उत्सव मनाउने गरेको छ । कोभिड-१९ महामारीका कारण विगतझैँ यस वर्ष २१ जुन (७ असार)मा विशेष र भव्य रूपमा अन्तर्राष्ट्रिय योग दिवस मनाउन सम्भव भएन । संक्षिप्त रूपमै किन नहोस्, यसको निरन्तरता भने अवश्य हुनेछ ।

योग एउटा पूर्ण विज्ञान हो । पूर्ण जीवनशैली, पूर्ण चिकित्सा पद्धति र पूर्ण अध्यात्म विद्या पनि हो । समग्रमा योग मनुष्यलाई स्वस्थ राख्दै सकारात्मक चिन्तनको पथमा ल्याउने अद्भुत उपाय हो ।

मानव सभ्यताको विकाससँगै विश्वभर योगको महत्व पनि तीव्र गतिमा फैलिँदै छ । योग विज्ञानको विकासबाट मानिसले स्वस्थ रहने कलाबारे जानकारी पाए । पूर्वीय दर्शनले विकास गरेका योग र आयुर्वेद विज्ञान हाम्रा अमूल्य निधि हुन् ।

योगको अर्थ मानवता, अध्यात्म, समता, सत्य, असल विचार, प्रसन्नता र खुसीसँग जोडिनु हो । योग कुनै धर्म, सम्प्रदायसँग जोडिएको दर्शन होइन । जो मानव बन्न चाहन्छ, असल बन्न चाहन्छ, प्रिय बन्न चाहन्छ, ईश्वर र सत्यलाई चिन्न चाहन्छ, विभेदलाई फाल्न चाहन्छ, अनि सुख शान्तिको पर्याय बन्न चाहन्छ, ती सबैका लागि अति उत्तम साधनाको राजमार्ग हो ।

योग अभ्यासले मानिसमा असत्, अविद्याको तमस (अँध्यारो)बाट हटेर आफ्नो दिव्य स्वरूप ज्योतिर्मय, आनन्दमय, शान्तिमय, परम् चैतन्य आत्मालाई परमात्मासम्म पुग्नमा सामथ्र्य प्राप्त हुन्छ । योग एउटा पूर्ण विज्ञान हो । पूर्ण जीवनशैली, पूर्ण चिकित्सा पद्धति र पूर्ण अध्यात्म विद्या पनि हो । समग्रमा योग मनुष्यलाई स्वस्थ राख्दै सकारात्मक चिन्तनको पथमा ल्याउने अद्भुत उपाय हो ।

०६४ सालयता पतञ्जली योग पीठ हरिद्वारबाट योगऋषि स्वामी रामदेव र आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण पटक–पटक नेपाल आउनुभएको छ । स्वामी रामदेवले २० वर्षयता योग शिविरका क्रममा २० लाख किलोमिटर यात्रा र करिब २० करोड मानिससँग सीधा संवाद गरिसक्नुभएको छ ।

दुवैजनाले नेपाल आएर आमनागरिकको स्वस्थ जीवनका लागि सरल तथा सशक्त माध्यम योगासन, प्राणायाम, दण्ड बैठक (युवाका लागि), सूर्य नमस्कार, सरल व्यायामलगायत ७९ अभ्यास गराएको पाइन्छ । सोही कारण नेपालीको घरघरमा योगले लोकप्रियता हासिल गरेको छ।

केन्द्र, प्रदेश, जिल्ला, नगर, गाउँ र वडास्तरसम्म ५८ हजार योगशिक्षकले यसलाई नेपालीका घरघरमा पुर्‍याइरहेका छन् ।

योगलाई नेपालीका घरघरमा पुर्‍याउन पतञ्जली योग समिति नेपाल क्रियाशील छ । यसका लागि समितिका केन्द्रीय प्रमुख वरिष्ठ योगगुरु लवदेव मिश्रको प्रत्यक्ष–अप्रत्यक्ष निगरानीमा देशभरका केन्द्र, प्रदेश, जिल्ला, नगर, गाउँ र वडास्तरसम्म ५८ हजार योगशिक्षक प्रशिक्षणमा व्यस्त छन् ।

कोभिड-१९ महामारीका वेला योगको महत्व अझ बढी छ । योगको प्राणायाम पक्षको अभ्यासबाट शरीरमा रोगप्रतिरोधी क्षमता बढ्छ, जसले भाइरससँग लड्ने क्षमता राख्छ । त्यसकारण वडास्तरसम्मका चार सय २७ वटा क्वारेन्टाइनस्थलमा ३२ जेठसम्म भौतिक दूरी कायम गरी योगाभ्यास गराइएको थियो, जसको सकारात्मक प्रतिक्रिया आएको छ ।

कोभिड-१९ महामारीले यस वर्ष अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा मनाउन कठिनाइ परेको छ । तर, यस दिवसको उपादेयतालाई मध्यनजर राख्दै पतञ्जली योग समिति नेपालले १–७ असारमा क्वारेन्टाइनमा रहेका नेपालीमाझ सात सय ५० भन्दा बढी स्थानमा योगाभ्यास गराएको छ । 

(महत पूर्वप्रहरी नायब महानिरीक्षक तथा पतञ्जली योग समिति नेपालका संरक्षक हुन्)