मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार ७ आइतबार ०५:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

चीनसँग जोडिएको हिल्सा नाकामा सशस्त्रको बिओपी

Read Time : < 1 मिनेट
२०७७ असार ७ आइतबार ०५:००:००

चीनसँग जोडिएको हुम्लाको हिल्सा नाकामा शनिबारदेखि सशस्त्र प्रहरीको टोली खटिएको छ । समुद्री सतहबाट तीन हजार चार सय ४० मिटरको उचाइमा रहेको नाम्खा गाउँपालिका– ५ हिल्सामा सशस्त्रको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरिएको हो । 

बिओपीमा सशस्त्र प्रहरी बलको हुम्लास्थित ४४ नम्बर गुल्मका इन्स्पेक्टरको नेतृत्वमा २५ जनाको टोली राखिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताए । ११ जेठमा हुम्लाबाट इन्स्पेक्टर मोहन विष्टको नेतृत्वमा २५ जनाको टोली चार हजार मिटर अग्लो नारा लेकको हिउँ छिचोलेर हिल्सा पुगेको थियो । बिओपीले सीमा सुरक्षासँगै आपराधिक र गैरकानुनी गतिविधिको पनि निगरानी गर्ने गिरीले बताए । 

अहिले घर भाडामा लिएर बिओपी राखिएको छ । स्थायी पूर्वाधार तयार नहुँदासम्म सशस्त्रको टोली भाडाकै घरमा बस्ने सशस्त्र प्रहरी बलको सुर्खेतस्थित ६ नम्बर महेश्वरी बाहिनीका डिआइजी प्रजाभक्त श्रेष्ठले बताए । बिओपीका लागि जग्गाको व्यवस्थापन गरेर भवन निर्माण गरिने उनले बताए ।

बिओपी स्थापना गर्न सशस्त्रका डिआइजी श्रेष्ठ, प्रजिअ गिरीलगायतका सुरक्षा निकायका प्रमुखहरू हिल्सा पुगेका थिए ।