१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार ६ शनिबार १४:०२:००
Read Time : > 1 मिनेट
समाचार

बेंसीसहर–चामे सडक स्तराेन्नतिका लागि सरोकार समिति गठन

Read Time : > 1 मिनेट
२०७७ असार ६ शनिबार १४:०२:००

बेंसीसहर नगरपालिकाको वडा नं. ६ र ७, मर्स्याङ्दी गाउँपालिका र मनाङका नागरिकको भविष्य बोकेको बेंसीसहर–चामे सडक निर्माण थालिएको २५ वर्ष पुग्दा पनि स्तराेन्नति हुन सकेको छैन । सडक स्तराेन्नति हुन नसक्दा वर्खायामको बाढिपहिरो र हिउँदको धुलोमैलोबाट यात्रुहरू समस्यामा पर्दै आएका छन् । 

यही सडक भएर दैनिक सयको हाराहारीमा सवारी गुड्ने गर्छन् । पर्यटकीय मौसममा दैनिक तीन सयको हाराहारीमा बाह्य पर्यटक हिँड्ने गर्छन् । अन्नपूर्ण पदमार्गमा पर्ने भएकाले आन्तरिक तथा बाह्य पर्यटकको चाप रहेको यो सडक स्तराेन्नति हुन सकेको छैन ।

यसैलाई मध्यनजर गरी हिमाली जिल्ला मनाङ जोड्ने बेंसीसहर–चामे सडक स्तराेन्नतिका लागि दबाब तथा पहल गर्न सरोकार समिति गठन गरिएको छ । मर्स्याङ्दी गाउँपालिकाको वडा नं. ३ खुदीबजारमा भएको एक भेलाले २५ सदस्यीय बेंसीसहर–चामे सडक स्तराेन्नति सरोकार समिति गठन गरेको हो । 

समितिको संयोजकमा सूर्यप्रकाश कतिला, उपाध्यक्षमा जुनामाया थापा, सचिवमा नवीनराज कुइँकेल र कोषाध्यक्षमा कुलबहादुर विक रहेका छन् । वरिष्ठ सदस्यमा जितबहादुर गुरुङ, सदस्यहरूमा रामबहादुर गुरुङ, सोमबहादुर तामाङ, बिर्ख गुरुङ, वीरेन्द्र भण्डारी, अमृत तामाङ, रवि थापा, राम थापा, धर्मराज तामाङ, भक्तबहादुर गुरुङ छन् ।

मर्स्याङ्दी गाउँपालिकाको सबै वडा र बेंसीसहर नगरपालिकाका केही वडासमेत समेटेर समिति विस्तार गरिने संयोजक कतिलाले बताए । सडक स्तराेन्नतिका लागि मनाङका बासिन्दासँग पनि समन्वय र सहकार्य गर्ने समितिले जनाएको छ ।

सरोकार समितिले सडक निर्माणमा तदारुकता दिन विभिन्न निकायमा समन्वय गर्ने, निर्माण कम्पनीलाई सहज रूपमा काम गर्ने वातावरण सिर्जना गर्ने, निर्माणमा ढिलाइ भएमा दबाब तथा संर्घषका कार्यक्रमहरू गर्ने सचिव नवीनराज कुइँकेलले बताए ।

सडक डिभिजनले बेंसीसहर–चामे सडक मर्मतको जिम्मा लामा कान्छाराम नाना जेभीलाई दिएको थियोे । बेंसीसहरदेखि रामबजारसम्म सडक स्तरवृद्धि तथा मर्मतका लागि आर्थिक वर्ष ०७४/७५ मा विनियोजित २२ करोडमा ठेक्का पाएको लामा कान्छाराम नाना जेभीले समयमा काम नसक्दा आव ०७६/७७ मा विनियोजित ३२ करोड रकमको ठेक्का नै लाग्न सकेन । आगामी आर्थिक वर्षका लागि बहुवर्षे योजनाअनुसार साढे पाँच अर्ब बजेट प्रस्ताव गरिएको छ ।

सडक विभागले आर्थिक वर्ष ०५१/५२ मा बेंसीसहर–चामे सडक निर्माण थालेको थियो । द्वन्द्वका कारण सडक निर्माणमा कठिनाइ भएपछि ०५७ मा तत्कालीन शाही नेपाली सेनालाई जिम्मा लगाएको थियो । निर्माण सुरु भएको १९ वर्षपछि सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको थियो । सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ ।