१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार ६ शनिबार ०८:४८:००
Read Time : > 2 मिनेट
खेलकुद

कर्मचारी नियुक्तिमा पनि  एन्फाको विवादास्पद निर्णय

Read Time : > 2 मिनेट
२०७७ असार ६ शनिबार ०८:४८:००

पछिल्लो समय एकपछि अर्काे विवादमा तानिएको अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वले कर्मचारी नियुक्तिमा पनि नियमविपरीत निर्णय गरेको पाइएको छ । केही महिनाअघि निर्णय गरेको फाइनान्स डाइरेक्टरको नियुक्तिमा एन्फा नेतृत्वले आफ्नै पदपूर्ति समितिको सिफारिसलाई उल्ट्याएर आफूअनुकूलको व्यक्तिलाई नियुक्ति दिएको देखिएको छ । यसले एन्फा आफैँँले निर्माण गरेको नियम, कानुनको उल्लंघन त गरेकै छ, उनीहरू आफैँले उठाउँदै आएको सुशासन र पारदर्शिताको नारालाई प्रहार गर्ने काम भएको छ । 

गत १९ कात्तिकमा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ संयोजक रहेको पदपूर्ति समितिले रमेशप्रसाद न्यौपानेलाई पहिलो नम्बर र नीरञ्जन शाहलाई दोस्रो नम्बरमा राखेर नियुक्तिका लागि सिफारिस गरेको थियो । सिफारिस निर्णयमा भनिएको छ, ‘सहभागी उम्मेदवारसँग अन्तर्वार्ता लिई दुईजनालाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरिएको छ ।’

त्यसपछि पहिलो नम्बरमा न्यौपाने र दोस्रो नम्बरमा शाहको नाम लेखिएको छ । यही सिफारिसपत्र पदपूर्ति समितिले एन्फामा बुझाएको हो । एन्फा नेतृत्वले सिफारिस समितिको यो निर्णय कहिल्यै सार्वजनिक गरेन । तर, समितिको सिफारिसविरुद्ध एन्फा नेतृत्वले पहिलो नम्बरका न्यौपानेलाई जानकारीसमेत नदिई शाहलाई नियुक्ति दियो । त्यसयता शाह एन्फामा कार्यरत छन् ।

फाइनान्स डाइरेक्टर एन्फामा बजेट बनाउनेदेखि हरेक आर्थिक कारोबारमा जिम्मेवार कर्मचारी हो । अर्बको हाराहारीमा वार्षिक बजेट हुने एन्फामा नेतृत्वले आफूअनुकूल हुने गरी फाइनान्स डाइरेक्टर नियुक्तिका लागि नियम मिचेको देखिएको हो । वरिष्ठ उपाध्यक्ष नेम्वाङ भन्छन्, ‘यस्तै समस्या हुन सक्छ भनेर एकजनाको मात्रै नाम सिफारिस गर्ने तयारी गरेका थियौँ । तर, सहयोगका लागि बोलाइएका विज्ञले समेत एकजना वैकल्पिक व्यक्तिको नाम पनि सिफारिस गरौँ भनेपछि दुईजनाको नाम पठाइएको हो । तर, नेतृत्वका सीमित व्यक्तिहरूले आफ्नो स्वार्थ पूरा गर्न हाम्रो सिफारिसलाई लत्याए ।’ पदपूर्ति समितिमा अर्का उपाध्यक्ष कृष्ण थापा र पूर्वफुटबलर भीम थापा सदस्य छन् । एन्फा महासचिव इन्द्रमान तुलाधर, कोषाध्यक्ष रवीन्द्र जोशी, आर्थिक समितिका संयोजक शिक्षित पराजुली पनि आमन्त्रित सदस्यका रूपमा सहभागी छन् । 

नियुक्तिका लागि पहिलो नम्बरमा सिफारिसमा परेकालाई फालेर दोस्रो नम्बरकालाई नियुक्ति, पदपूर्ति समितिको संयोजकको जिम्मेवारी पनि खोसियो

यस्तै, आमन्त्रित विशेषज्ञका रूपमा मनमोहन काफ्ले उपस्थित थिए । निर्णयमा उनीहरू सबैको हस्ताक्षर छ । बैठकमा बसेर निर्णय प्रक्रियामा सहभागी भएका महासचिव तुलाधरले फरक धारणा व्यक्त गरेका छन् । ‘सिफारिस समितिले यसलाई नै नियुक्ति गर्नु भनेको छैन । दुईजना सिफारिस गरेपछि जसलाई नियुक्ति गर्दा पनि हुन्छ,’ महासचिव तुलाधरले भने, ‘पहिलोलाई नै गर्नुपर्ने र दोस्रोलाई गर्नैनहुने भन्ने छैन ।’ पदपूर्ति समितिले नियुक्तिका लागि सिफारिस गरिसकेपछि एन्फाले नियुक्तिमा केही ढिलाइ ग¥यो । त्यही समय फिफाबाट सदस्य राष्ट्र हेर्ने विभाग (मेम्बर एसोसिएसन डिपार्टमेन्ट)का प्रमुख थियोडोर जियान्निकोस नेपाल आएका थिए । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले पदपूर्ति समितिले सिफारिस गरेका ती दुईजनालाई पुनः थियोडरबाट अन्तर्वार्ता दिन लगाए । 

वरिष्ठ उपाध्यक्ष नेम्वाङले त्यतिवेलै प्रश्न गरेका थिए । उनको प्रश्नमा नेतृत्वले ‘उनी आफैँले भेट्छु भनेकाले भेटाएको मात्रै हो’ भन्ने जवाफ दिएको नेम्वाङ बताउँछन् । नेपाल घुम्न आएका फिफा अधिकारीसँग अन्तर्वार्ताको नाटक गरेर पदपूर्ति समितिको सिफारिसलाई लत्याएर नियुक्ति दिइएको उनको बुझाइ छ ।

फाइनान्स डाइरेक्टरको सिफारिस र नियुक्तिको विषयले समितिको नेतृत्व नै परिवर्तनसम्मको काम भएको देखिएको छ । बैठकमा सहभागी एक सदस्यका अनुसार पदपूर्ति समितिको बैठकमा आर्थिक समितिका संयोजकको हैसियतले सहभागी शिक्षित पराजुलीले शाहलाई पहिलो नम्बरमा राखेर नियुक्ति सिफारिस गर्नुपर्ने अडान लिएका थिए । उनको दाबीअनुसार समितिले सिफारिस गरेन । त्यसका बाबजुद शाहले नियुक्ति पाइछाडे । अहिले पदपूर्ति समितिको संयोजकको जिम्मेवारी पनि उनै पराजुलीले पाएका छन् । गत मंगलबार बसेको एन्फाको केन्द्रीय समितिको आपत्कालीन बैठकले नेम्वाङबाट खोसेर पदपूर्ति समितिको संयोजकको जिम्मेवारी उनै पराजुलीलाई दिएको छ ।

‘एक नम्बरकैलाई गर्नुपर्छ भनेको छैन’ : इन्द्रमान तुलाधार, महासचिव
कसलाई नियुक्त गर्ने भन्ने कुरा व्यवस्थापनको अधिकारको कुरो हो । एक नम्बरकैलाई गर्नुपर्छ भन्ने केही छैन । एक नम्बरलाई नै गर्नुपर्ने हो भने दुईजनालाई सिफारिस किन गरेको त ? त्यहाँ वैकल्पिक पनि भनिएको छैन । पहिलो नम्बरकैलाई नियुक्ति दिनुपर्छ पनि भनिएको छैन । दुईजनालाई सिफारिस गरेपछि दुईमध्ये एक जसलाई नियुक्त गर्दा पनि हुन्छ । पहिलो नम्बरकोलाई गर्नैपर्ने वा दोस्रो नम्बरकोलाई नियुक्त गर्नैनहुने भन्ने हैन । यो व्यवस्थापनको अधिकार हो । त्यहीअनुसार नियुक्त गरिएको हो ।

‘दोस्रो व्यक्ति वैकल्पिककै रूपमा सिफारिस गरिएको हो’ : पंकज नेम्वाङ, वरिष्ठ उपाध्यक्ष
सिफारिसमा पहिलो नम्बर र दोस्रो नम्बर भनेर स्पष्टसँग सिफारिस गरिएको छ । नियुक्त गर्ने अधिकार व्यवस्थापनको हो । तर, त्यसको जिम्मेवारीसहित समिति गठन गरेपछि त्यो समितिले गरेको सिफारिस त मान्नुपर्छ नि । यस्तो समस्या पर्न सक्छ भनेरै हामीले एकजनाको मात्रै नाम सिफारिस गर्ने तयारी गरेका थियौँ । तर, सहयोगका लागि बोलाइएका विज्ञले समेत एकजना वैकल्पिक व्यक्तिको नाम पनि सिफारिस गरौँ भनेपछि हामीले त्यहीअनुसार दोस्रो नाम पनि पठाएका हौँ । तर, व्यवस्थापनले त्यसबाहेकको पनि नाटक रचेर विधिसम्मत छानिएका सही उम्मेदवारलाई पन्छाउने काम गरेको छ ।