मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार ६ शनिबार ०५:४२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

नेपालीको रोग प्रतिरोधात्मक क्षमता बलियोबारे प्रधानमन्त्रीका तर्क

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार ६ शनिबार ०५:४२:००

सरकारले पर्याप्त समय पाएर पनि क्वारेन्टाइन र आइसोलेसनको अवस्था सुधार गरेको छैन । पर्याप्त पूर्वाधार र जनशक्ति नभएकाले संकलित नमुना प्रयोगशालामा थन्किएका छन् । तर, यी सबको जिम्मेवारी लिएर सुधार गर्नुको सट्टा प्रधानमन्त्री केपी ओलीले नेपालीको इम्युनिटी पावर (रोग प्रतिरोधात्मक क्षमता) धेरै रहेको भन्दै आफ्नो दायित्वबाट विमुख हुने प्रयास गरिरहेका छन् । पछिल्लो एक महिनामा एकपटक देशवासीका नाममा सम्बोधन गर्दै तथा तीनपटक संसद्मा बोल्दै उनले नेपालीको प्रतिरोधात्मक क्षमतामाथि मात्र बोलेका छन् । 

पछिल्लोपटक प्रधानमन्त्री ओलीले बिहीबार नेपालीको रोग प्रतिरोधात्मक क्षमता बलियो रहेको दाबी गरेका थिए । ‘नेपालीमा इम्युन सिस्टम धेरै राम्रो छ भनेर मैले धेरैपल्ट भनेको छु । कतिपयले इम्युन सिस्टम बुझेका छैनन् । नेपालीहरूमा असाधारण इम्युन सिस्टम छ । एकाध उस्तै कमजोर भएका मान्छेहरूलाई मात्रै खतरा हुन सक्छ । नत्र साधारणतया नेपालीहरूमा जुन इम्युन सिस्टम छ, त्यसले कोरोना लागे पनि लगिहाल्न सक्दैन,’ ओलीले राष्ट्रिय सभामा सम्बोधनमा भने । 

रोग प्रतिरोधात्मक क्षमता बलियो भएकाले नै कोरोनाबाट नेपालमा धेरैको मृत्यु नभएको उनको तर्क थियो । जसले गर्दा एक हजार एक सय ६७ जना कोरोनाबाट निको भएर घर फर्केको उनको भनाइ थियो । ‘उच्च मनोबल राख्नुपर्छ । कोरोना लागिहाल्यो भने पनि लान सक्दैन । कोरोनाले छोयो भन्नेबित्तिकै अब मर्छु, अब गएँ भन्ठान्यो भने बाँच्न गाह्रो हुन्छ । कोरोना भनेको रुघाखोकीजस्तै हो । लागिहाल्यो भने हाच्छिउँ–साच्छिउँ गर्नुपर्छ, तातो पानी खानुपर्छ, उडाइदिनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने । 

२८ जेठमा प्रधानमन्त्रीले नेपालीको प्रतिरोधात्मक क्षमता बलियो भएको चर्चा गरेका थिए । प्रधानमन्त्रीको दाबीपछि पूर्वस्वास्थ्यमन्त्री गगन थापाले नेपालीको प्रतिरोधात्मक क्षमता धेरै छ भनेर कसले भन्यो ? भन्ने प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्रीले भनेका थिए, ‘एकजना माननीयज्यूले प्रश्न गर्नुभएको छ– नेपालीको रोग प्रतिरोधात्मक क्षमता राम्रो भनेर कसले भनेको ? भर्खंरै मैले भनेको सुन्नुभएन ?’ 

यो प्रसंगलाई अझै लम्ब्याएका थिए, ‘नेपालीको प्रतिरोध क्षमता बढी छ । आधा नेपाली स्वच्छ हिमाली र पहाडी भेगमा बसेका छन् र त्यहाँ स्टामिना छ । तराईमा बस्नेले पनि, मरुभूमिबाट आएको तातो हावा, हिमालबाट ठोक्किएर बरफ भई आएको स्वच्छ हावापानी पाउँछन् । ढुंगाबाट शिलाजित निस्किन्छ,’ उनको भनाइ थियो, ‘जडीबुटी र औषधिको देश हो यो । पानी हिउँबाट, हिमालमाथि बसेर पग्लेर अनेक मिनिरल तत्वसँग खेल्दै रसाएर निस्केर आउँछ । त्यसैले नेपाली निरोगी छन् ।’ 

त्यसअगाडि प्रधानमन्त्री ओलीले १२ जेठमा नेपालीमा रहेको रोग प्रतिरोधात्मक क्षमता र अनुशासनले भाइरसविरुद्धको लडाइँ लम्बिने निश्चित भए पनि सहजै पराजित गर्ने विश्वास व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले सरकारले निरोगी नेपाल निर्माण अभियानलाई सरकारले मूल स्वास्थ्य नीति बनाएको भन्दै रोग प्रतिरोधात्मक क्षमता बढाउने गरी त्यसका लागि पाँच काम गर्न आमजनतालाई अपिल गरेका थिए ।’ 

अपिलमा थियो, ‘त्यसका लागि पहिलो, यस महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आफूलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाऔँ । दोस्रो, लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गरौँ । शारीरिक र श्वासप्रश्वासको चुस्तताका लागि घरैभित्र व्यायामलाई निरन्तरता दिऊँँ,’ प्रधानमन्त्रीले भनाइ थियो, ‘तेस्रो, भाइरस फोहोरमा रमाउँछ, आफ्नो शरीर र वासस्थान दुवैको सरसफाइमा एकदमै ध्यान दिऊँ । चौथो, स्वस्थ रहनका लागि पर्याप्त आराम आवश्यक छ, यसमा ध्यान दिऊँ । पाँचौँ, उच्च मनोबल कायम राखौँ ।’ 

६ जेठमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री ओलीले नेपालीमा रहेको रोग प्रतिरोधात्मक क्षमताको व्याख्या गरेका थिए । त्यसवेला उनले कोरोना नियन्त्रणमा सरकार प्रयासरत रहेको भन्दै अहिले कोरोनाको सूचीमा परेकाहरूको मृत्यु अन्य कारणले भएका पनि बताएका थिए ।