मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ५ शुक्रबार १६:०१:००
Read Time : > 1 मिनेट
समाचार

सांसदहरू भन्छन्– वैज्ञानिक वनका नाममा अनियन्त्रित वन फँडानी भयो, छानबिन गर्न समिति गठन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ५ शुक्रबार १६:०१:००

वैज्ञानिक वनका नाममा अनियन्त्रित रूपमा वन फँडानी भइरहेको भन्दै सांसदहरूले चिन्ता व्यक्त गरेका छन् । 

सार्वजनिक लेखा समितिमा भएको छलफलमा सांसदहरूले वैज्ञानिक वन व्यवस्थापनका नाममा अनियन्त्रित तरिकाले फँडानी भइरहेको भन्दै चिन्ता व्यक्त गरेका हुन् । 

सांसद प्रेम आलेले वैज्ञानिक वनका नाममा अनियन्त्रित रूपमा वन फँडानी र ठूलो घोटाला भएको बताए । 

स्थानीयसँगको सहकार्यविना नै सामुदायिक वनका अध्यक्ष र वनका कर्मचारीहरूले वैज्ञानिक वनको नाममा अनियन्त्रित रूपमा फँडानी गरिरहेको उनले बताए । 

संघबाट नै यसलाई नियन्त्रण गरी दोषीलाई कारबाही गर्न उनले माग गरे । 

सांसद प्रदीप यादवले राज्य, नेता र वनका कर्मचारीहरूको मिलेमतोमा वैज्ञानिक वनको नाममा धमाधम काँचा काठहरू कटान भइरहेकाले यसलाई नियन्त्रण गर्नुपर्ने माग  गरे । 

सांसद मोहम्मद इस्तियाक राईले बाँकेमा ६५ हजार क्युबिक फिट काठ काट्ने भनिए पनि एक लाख ५० हजार क्युबिक फिटभन्दा बढी रूखहरू कटान गर्ने अनुमति किन दिइयो भन्दै प्रश्न गरे । 

विदेशबाट काठ आयात रोक्ने नाममा देशभित्रका सबै वनहरू फँडानी गर्ने कस्तो वैज्ञानिक वन हो ? उनले प्रश्न गरे । 

वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले देशभरि रहेको कुल २२ लाख ७२ हजार हेक्टर वनमध्ये एक लाख ७५ हजार तीन सय २१ हेक्टर वन क्षेत्र मात्रै वैज्ञानिक वन व्यवस्थापनका रूपमा रहेको बताए । 

२२ हजार चार सय १५ सामुदायिक वनमध्ये सात सय ५० वटा वनमा मात्रै वैज्ञानिक वन व्यवस्थापन लागू गरिएको बताए । 

समितिले लकडाउनको मौका छोपी वैज्ञानिक वन व्यवस्थापनका नाममा फँडानीका घटना बढिरहेको भन्दै छानबिन समिति गठन गरेको छ । 

सांसद प्रदीप यादवको संयोजकत्वमा तीन सदस्य रहेको समिति गठन भएको हो । समितिमा प्रेमबहादुर आले र मीना सुब्बा सदस्य रहेका छन् । 

समितिले वैज्ञानिक वन तथा व्यवस्थापनको नाममा भइरहेको फँडानीको अध्ययन गर्नेछ ।