१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असार ५ शुक्रबार १४:४२:००
Read Time : > 1 मिनेट
समाचार

अविरल आएको वर्षासँगै मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड तीन दिनदेखि अवरुद्ध

Read Time : > 1 मिनेट
२०७७ असार ५ शुक्रबार १४:४२:००

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड तीन दिनदेखि अवरुद्ध भएको छ । मंगलबार राति अविरल वर्षासँगै आएको बाढीले ह्युमपाइपसहित सडक बगाउँदा नाका जोड्ने छोटो दूरीको सडक अवरुद्ध भएको हो ।  जिल्लाको गोसाइँकुण्ड गाउँपालिका– ६ स्थित सोलेखोलामा  राखिएको ह्युमपाइप बगाउँदा सडक अवरुद्ध भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाका प्रमुख नारायणदत्त भण्डारीले बताए । ‘त्रिशूली नदीदेखि मैलुङसम्मको सडक अवरुद्ध भएको छ,’ उनले भने, ‘अविरल वर्षासँगै आएको बाढीले सोलेखोलामा राखिएका नाैवटा ह्युमपाइप बगाएको छ, सडक पनि पूरै भासिएको छ ।’ 

एक–एकवटा जेसिबी र लोडर, दुईवटा स्काभेटर, दुईवटा टिपर र कामदारमार्फत अवरुद्ध सडक सुचारु गर्न काम सुरु गरिसकेको भण्डारीले बताए । अवरुद्ध सडक शनिबार बेलुकासम्ममा पूर्ण रूपमा सञ्चालन गर्नका लागि आफूहरू लागिपरेकोसमेत भण्डारीले बताए । पछिल्लो समय संक्रमणको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउन जारी गरेसँगै यो सडकमा अत्यावश्यक सामान बोकेका सवारी मात्र चलेका थिए । सडक अवरुद्ध भएपछि  अत्यावश्यक सामान बोकेका सवारीले अहिले बेत्रावती–कालिकास्थान–धुन्चे सडकखण्ड प्रयोग गरेका छन् । 

राष्ट्रिय प्राथमिकता प्राप्त मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड नेपाली सेनाले निर्माण गरेको डबल लेनको सडक हो । सो सडकखण्डको लम्बाइ १७ किलोमिटर रहेको छ ।  नेपाली सेनाले निर्माण गरेको यो सडक बेत्रावती–कालिकास्थान–धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो हुनेछ । बेत्रावती–कालिकास्थान–धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको बेत्रावती–मैलुङ–स्याफ्रुबेंसीको दूरी २९ किलोमिटर मात्रै छ । 

पासाङल्हामु राजमार्गअन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नुपर्ने भए पनि यो सडकमा एउटा पनि घुम्ती छैन । काठमाडौंदेखि गल्छी ४४ किलाेमिटर, गल्छीदेखि बट्टार २२ किलाेमिटर, बट्टारदेखि बेत्रावती ११ किलाेमिटर, बेत्रावतीदेखि मैलुङ १२ किलाेमिटर र मैलुङदेखि स्याफ्रु १७ किलाेमिटर दूरी रहेको छ । काठमाडाैंबाट बेत्रावती–धुन्चे–रसुवागढीको दूरी एक सय ४५ किलोमिटर रहेको छ भने काठमाडाैंबाट बेत्रावती–मैलुङ हुँदै रसुवागढी जोड्ने सडकको दूरी एक सय २२ किलोमिटर मात्र हुनेछ ।

बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेंसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भए पनि मैलुङतर्फबाट हिँड्नका लागि कुनै पनि घुम्ती पार गर्नुपर्दैन । यस्तै, स्याफ्रुबाट धुन्चे, कालिकास्थान हुँदै बेत्रावती पुग्ने सडकभन्दा स्याफ्रुबाट मैलुङ हुँदै बेत्रावती निस्कन पेट्रोलियम पदार्थको खपत कम हुने हुँदा कन्टेनरचालकहरू यो सडकतर्फ आकर्षित हुँदै गएका थिए ।