मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
डिन ओबिदल्लाह
२०७७ असार ५ शुक्रबार ०८:०४:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

ट्रम्पलाई जन्मदिनको शुभकामना

Read Time : > 2 मिनेट
डिन ओबिदल्लाह
२०७७ असार ५ शुक्रबार ०८:०४:००

ट्विटरको जन्मदिनको शुभकामना प्रकरण बाइडनको चुनावी अभियान पनि होइन, यो त ट्रम्पप्रति स्वस्फूर्त पोखिएको वितृष्णा मात्र हो 

जुन १४ राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मदिन हो । उनी ७४ वर्ष मात्र लाग्दै छन् । तर, उनका विपक्षीले भने ट्विटरलगायत सामाजिक सञ्जालमा बडो अनौठौ ढंगले उनको जन्मदिन मनाउँदै छन् । उनीहरू यसलाई ओबामा डे भन्दै छन् भने कसैले यस अवसरमा जोडिन पाएकोमा खुसी व्यक्त गरिरहेका छन् । बाराक ओबामाको जन्मदिन अगस्टयता आउँदैन, तर आइतबार नै ट्विटरमा पूर्वराष्ट्रपतिलाई सम्मान दिँदै धुमधामले उनको जन्मदिन मनाइयो ।

आइतबार बिहान ‘ओबामाडेजुन१४’को राजनीतिक ह्यासट्याग ट्रेडिङमा आएको थियो । सँगै बाराक ओबामाको फोटोसहित ‘राष्ट्रपतिलाई जन्मदिनको शुभकामना लेखिएको थियो, फोटो ओबामाको थियो, ट्रम्पको थिएन । त्यसरी नै ‘अलबर्थडेम्याटर’ नामको अर्को ह्यासट्याग पनि ट्रेडिङमा थियो । यो एक व्यंग्य थियो । २०१६ को चुनावी अभियानमा फक्स न्युजले ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियानको बारेमा ट्रम्पको धारणा लिँदा ‘अल लाइभ्स म्याटर’ भनेका थिए ।

हुन त अर्को ‘ह्याप्पीबर्थडेट्रम्प’ ह्यासट्याग पनि ट्रेडिङमा थियो । रिट्विट गरेर राष्ट्रपति आफैँले यसलाई भाइरल बनाउन खोजेका थिए । तर, यो ह्यासट्यागलाई पनि धेरैले उनकै विरुद्ध प्रयोग गरे र धेरैले ओबामालाई नै आफ्नो पछिल्लो वास्तविक राष्ट्रपतिको रूपमा उभ्याए ।

ट्रम्पका ७० प्रतिशत मतदाताले बाइडनलाई हराउन होइन कि विशुद्ध ट्रम्पकै लागि भोट दिनेछन् । यसको ठीकविपरीत बाइडनका ६० प्रतिशत मतदाता भने उनका लागि नभएर ट्रम्पलाई हराउन बाइडनलाई मत दिँदै छन् ।

हुन त यी ट्विटलाई मत सर्वेक्षणका लागि प्रयोग गर्न सकिने त्यस्तो खास तरिका भने छैन । तर, सिएनएनको डेमोक्र््याट्स उम्मेदवार बाइडनले ट्रम्पसँगको मतान्तर बढाउँदै लगेको पछिल्लो निष्कर्षलाई भने यी ट्विटले मलजल गरिरहेका छन् । ट्विटरको जन्मदिनको शुभकामना प्रकरण बाइडनको चुनावी अभियान पनि होइन, यो त ट्रम्पप्रति स्वस्फूर्त पोखिएको वितृष्णा मात्र हो । र, यो प्रतिक्रिया न त उनले लिएको नीतिलाई लिएर नै दिइएको हो, यो त बरु उनले यो साढे तीन वर्ष अमेरिकीहरूलाई लिंगभेद र जातिभेदको आधारमा एक­–आपसमा द्वेष फैलाउने वातावरण सिर्जेकोमा उनलाई दिइएको व्यक्तिगत प्रतिक्रिया हो । ट्रम्पका समर्थकले मलाई एकपटक सिरियस एक्सएम रेडियोमा बोल्न बोलाए । मैले तिनलाई सोधेँ, ‘के तपाईंहरू हिलारी क्लिटनलाई घृणा गर्नुहुन्छ ?’ तिनले ‘गर्छौं’ भने । त्यसपछि मैले भनेँ, ‘त्यसभन्दा दुई गुण घृणा हामी ट्रम्पलाई गर्छौं ।’ 

राजनीतिक शास्त्रीले भन्ने गरेको एउटा पदावली छ, ‘नेगेटिभ पार्टनरसिप’ । यसको अर्थ तपाईं आफूले रोजेको उम्मेदवारलाई मत दिनुहुन्न, आफूलाई मन नपरेको उम्मेदवारलाई हराउन मत दिनुहुन्छ । धेरै पहिलादेखि रिपब्लिकनहरूले यसलाई चुनावी हतियारको रूपमा प्रयोग गर्दै आएका थिए । यसका लागि चुनाव जितेको खण्डमा आफू के गर्छु भन्दा पनि विपक्षीले जिते गर्छ भनेर अफवाह फैलाइन्छ । जस्तै हिलारीले सबै बोर्डर खुला गर्छिन् भन्दै ट्रम्पले प्रचार गरेका थिए भने अहिले बाइडनले प्रहरीको कोष काट्नेछन् भन्दै छन् ।

तर अहिले डेमोक्र््याट्सहरू २००८ मा बाराक ओबामाले अघि सारेको ‘आशा’को सन्देशबाट अभिप्रेरित हुँदै जसरी पनि ट्रम्पलाई हराउन लागेका छन् । सिएनएन पोलका अनुसार ट्रम्पका ७० प्रतिशत मतदाताले बाइडनलाई हराउन होइन कि विशुद्ध ट्रम्पकै लागि भोट दिनेछन् । यसको ठीकविपरीत बाइडनका ६० प्रतिशत मतदाता भने उनका लागि नभएर ट्रम्पलाई हराउन बाइडनलाई मत दिँदै छन् । ट्रम्पका लागि सबैभन्दा खराब पक्ष भनेको उनलाई एकदमै रुचाउने (२८ प्रतिशत) र एकदमै घृणा गर्ने (४७ प्रतिशत) बीचको फरक नै हो । 

निश्चय नै सर्वेक्षणको आँकडाले काम नगर्न पनि सक्छ । यतिखेरको अवस्थामा २०१६ मा हिलारी क्लिन्टन ट्रम्पभन्दा अगाडि थिइन् । तर, चुनावअघि अबको पाँच महिनामा ट्रम्पले आफूलाई एकदमै नरुचाउनेहरूको मनस्थिति बदल्न सक्नेछैनन् । उनको एउटा उपाय भनेको ग्रेट डिप्रेसनपछिकै सबैभन्दा ठूलो बेरोजगारी समस्या सुल्झाउँदै अर्थतन्त्र उकास्नु तथा आममानिसलाई उनलाई भन्दा अत्यधित घृणा बाइडनलाई गर्ने बनाउनु मात्र छ । निश्चय नै ट्रम्पले हरसम्भव गर्ने नै छन् । तर पनि अहिलेसम्मको सर्वेक्षणको आधारमा हामी भन्न सक्छौँ, अर्को सालको जुन १४ चाहिँ ट्रम्पले पूर्व–राष्ट्रपतिको रूपमा आफ्नो जन्मदिन मनाइरहेका हुनेछन् । र, अमेरिका बाइडनको प्रशासनिक नेतृत्वमा अघि बढिरहेको हुनेछ ।

(ओबिदल्लाह वकिल, कलाकार तथा सिएनएनका नियमित लेखक हुन्) 
सिएनएनबाट