मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन प्यासी काठमाडाैं
२०७७ असार ५ शुक्रबार ०७:३०:००
Read Time : > 2 मिनेट
सप्तरंग

छटपटीमा चलचित्र निर्माता

Read Time : > 2 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७७ असार ५ शुक्रबार ०७:३०:००

महामारी नआएको भए निर्माता सन्तोष सेन यतिवेला ‘प्रेमगीत-३’ को ग्रस आम्दानी हिसाब गरिरहेका हुन्थे । र, नयाँ प्रोजेक्टको योजना बुन्न पनि व्यस्त रहन्थे । ‘प्रेमगीत–३’ को प्रदर्शन मिति तोकिएको थियो, गत ३० चैतलाई । लगानी सुरक्षित हुने वातावरण बने फिल्म चलाउन तयार छन्, उनी । भन्छन्, ‘अब राम्रो अवस्था बन्ला र नाफा कमाउँला भन्ने सोच छैन । लगानीको सुरक्षा हुने भए जोखिम मोल्न तयार छु ।’

‘यो त्रास सकिएर काम गर्न पाइएला भन्दै पर्खिरहेका छौँ । सरकारले तत्काल सुटिङको वातावरण बनाइदिए हुने थियो ।’ 

यसबीचमा उनले डिजिटल बजारमा सिनेमा प्रदर्शन गर्ने सोच पनि नबनाएका होइनन् । उनकै भाषामा ‘मिनिमम ग्यारेन्टी’को वातावरण देखिएन र जोखिम उठाउन तयार भएनन् । भन्छन्, ‘बजार सानो भएकाले अहिले नै डिजिटल मार्केटबारे सोच्ने अवस्था छैन । हल खुल्ने दिनको प्रतीक्षा गर्नुको विकल्प देखिएन ।’

कोभिड-१९ महामारीको प्रभाव नेपाली सिने उद्योगमा कति गहिरो परेको छ भन्ने उदाहरण हुन्, निर्माता सेन । उनको भनाइले लाखौँ लगानी गरेर बनाएको फिल्म प्रदर्शन गर्न रोकिनुपर्दाको छटपटी झल्काउँछ । तर, यो समस्या नेपाली चलचित्र क्षेत्रको मात्र होइन, संसारका ठूला सिने उद्योग यही नियतिबाट गुज्रिरहेका छन् ।

बाह्रैमास चलायमान रहने बलिउड फिल्म उद्योग पनि सन्नाटामा छ, अहिले । रिअरको खोजीमा भौँतारिने भीडले गुल्जार रहने मुम्बईका चोक र गल्लीहरू शान्त छन् ।

कोभिड-१९ का कारण सलमान खानको ‘राधे’को सुटिङ रोकिएको छ । महामारी फैलिनुअघि सलमान र अभिनेत्री दिशा पटानी गीत र एक्सन सिनको सुटका लागि अजरबैजानमा थिए । संसारभर धमाधम लकडाउन हुन थालेपछि सुटिङ बीचमै रोकेर मुम्बई फर्किए । यो सिनेमामा प्रभु देवाको निर्देशन छ ।

यस्तै, कोभिड-१९ का कारण करण जोहरको महत्वाकांक्षी प्रोजेक्ट ‘तख्त’ पनि रोकिएको छ । जयपुरको सुटिङ सेड्युल रद्द गर्नुपरेको यस सिनेमामा रणवीर सिंह, विक्की कौशल, करिना कपुर, आलिया भट्टजस्ता महँगा कलाकार छन् ।

लिउडको प्रभावबाट निस्केर मौलिकताको खोजीमा निस्केको नेपाली सिनेमा उद्योगको नियति पनि त्यसभन्दा फरक कहाँ छ र ! ‘प्रेमगीत-३’ जस्तै कतिपय सिनेमा हल बन्द भएपछि रिलिज हुने अनिश्चिततामा छन् भने कतिपय सुटिङ रोकेर बसेका छन् । दीपेन्द्र लामाले निर्देशन गरिरहेको चलचित्र ‘दुई नम्बरी’ २५ प्रतिशत सुटिङ सकेर रोकिएको छ । सुनीलकुमार थापा निर्माता रहेको ‘ए मेरो हजुर-४’ पनि ४० प्रतिशत सुटिङ सकेर अलपत्र परेको छ ।

लगानी सुरक्षित हुने अवस्था नआएसम्म फिल्म कसरी चलाउनु र ! विकास बोर्डले चलचित्र क्षेत्रलाई चलायमान बनाउन ठोस निर्णय लिइदिनुपर्छ ।

‘यो त्रास सकिएर काम गर्न पाइएला भन्दै पर्खिरहेका छौँ । सरकारले तत्काल सुटिङको वातावरण बनाइदिए हुने थियो,’ थापा भन्छन्, ‘५० दिन भाडामा क्यामेरा लिएका हुन्छौँ । काम सुरु गर्न पाए चलचित्र उद्योग चलायमान हुने थियो ।’ करोडौँ लगानी अलपत्र पर्दा धेरै क्षेत्र मारमा पर्ने उनी बताउँछन् ।

‘म यस्तो गीत गाउँछु-२’ को प्रदर्शन मिति तोकिएको थियो, गत २० फागुनलाई । ‘तिम्रै घरको वरिपरि’ बोलको गीत हिट भएको थियो । फिल्म युनिटले प्रमोसनमा पनि निकै खर्च गरिसकेको थियो । निर्माता चलचित्रप्रति आशावादी देखिन्थे ।

अभिनेत्री तथा निर्मात्री पूजा शर्माका अनुसार २० लाख रुपैयाँ त प्रमोसनमै खर्च भएको थियो । लकडाउन खुलिहाल्यो भने पनि तत्काल प्रदर्शनमा जाने अवस्था नरहेको यस फिल्मका निर्माता-निर्देशक सुदर्शन थापा बताउँछन् । ‘लगानी सुरक्षित हुने अवस्था नआएसम्म फिल्म कसरी चलाउनु र !’ उनी भन्छन्, ‘विकास बोर्डले चलचित्र क्षेत्रलाई चलायमान बनाउन ठोस निर्णय लिइदिनुपर्छ ।’

महामारी नआएको भए अभिनेता तथा निर्माता दीपकराज गिरीको टिम यतिवेला फ्लोरमा हुन्थ्यो । आधाउधी सुटिङ सकिएको हुन्थ्यो । लकडाउन खुलिहाले पनि तत्काल फ्लोरमा जाने जोखिम मोल्ने सोचमा छैनन्, गिरी । बरु पटकथा लेखनमा आफूलाई केन्द्रित गरेका छन् । ‘राज्यबाट केही होला भनेर आसै छैन । हामी आफैँ मिलेर अगाडि बढ्नुको विकल्प छैन,’ उनी भन्छन्, ‘विगतमा हलसञ्चालक र निर्माताबीच शीतयुद्ध थियो, त्यसलाई भुलेर अगाडि नबढे केही समाधान निस्कँदैन ।’