मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ असार ४ बिहीबार १७:५५:००
Read Time : < 1 मिनेट
प्रदेश

बागमती प्रदेशमा क्रियाशील सात सय पाँचजना पत्रकारको कोरोना बिमा

Read Time : < 1 मिनेट
२०७७ असार ४ बिहीबार १७:५५:००

बागमती प्रदेशमा कार्यरत सात सय पाँचजना पत्रकारको कोरोना बिमा भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको आर्थिक सहयोग तथा सञ्चार रजिष्ट्रार कार्यालय र नेपाल पत्रकार महासंघको समन्वयमा कोभिड– १९ महामारीका वेला अग्रपंक्तिमा रहेर काम गर्ने बागमती प्रदेशका पत्रकारको कोरोना बिमा गरिएको हो । 

कोरोना भाइरसको पिसिआर परीक्षणमा संक्रमित भएको प्रमाणित भएमा बिमा गरिएका पत्रकारले एक लाख रुपैयाँको बिमा रकम युनाइटेड इन्सुरेन्स कम्पनीबाट प्राप्त गर्नेछन् । भुक्तानीका लागि कोरोना भाइरस संक्रमण देखिई पिसिआर परीक्षणमा पोजेटिभ देखिएको हुनुपर्नेछ । युनाइटेड इन्सुरेन्स कम्पनीका प्रतिनिधि दिनेश रेग्मीले बिहीबार बिमित पत्रकारको विवरण सञ्चार रजिष्ट्रार रेवती सापकोटालाई हस्तान्तरण गरेका छन् । 

‘बागमती प्रदेशमा क्रियाशील पत्रकारको स्वास्थ्य सुरक्षाप्रति संवेदनशील भई प्रदेश सरकारले पत्रकारको मनोबल उच्च राख्न कोरोना बिमा गराएको हो । पत्रकारलाई उच्च मनोबलका साथ काम गर्न बिमाले सहयोग पुग्ने विश्वास लिएका छौँ,’ सञ्चार रजिष्ट्रार सापकोटाले भने । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक हजारजना पत्रकारको बिमा गराउने निर्णय गरेको छ । बिमाका लागि आवश्यक विवरण प्राप्त भएका सात सय पाँचजनाको बिमा पहिलो चरणमा गराइएको छ । 

सञ्चार रजिष्ट्रार कार्यालयबाट परिचयपत्र प्राप्त गरेका तर अन्यत्र कोरोना बिमा नगराएका, नेपाल पत्रकार महासंघको बागमती प्रदेश र नेपाल पत्रकार महासंघ उपत्यका समितिअन्तर्गतका शाखा, प्रतिष्ठान र एसाेसियटसबाट प्राप्त विवरणका आधारमा पत्रकारको कोरोना बिमा गराइएको हो । बागमती प्रदेशका १३ वटै जिल्लाका क्रियाशील पत्रकार तथा ती जिल्लाबाट सञ्चालित रेडियो तथा टेलिभिजनमा कार्यरत पत्रकारलाई पनि बिमामा समेटिएको छ ।