मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार ३ बुधबार २२:२१:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

सेती अस्पतालमा उपचाररत कोरोना संक्रमितको निधन

Read Time : < 1 मिनेट
२०७७ असार ३ बुधबार २२:२१:००

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलाली गोदावरी नगरपालिकाका ४६ वर्षीय कोरोना संक्रमितको बुधबार राति आठ बजेतिर निधन भएको छ । सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदीशप्रसाद जोशीका अनुसार उनलाई चार दिनअघि सेती अस्पतालमा भर्ना गरिएको थियो । कडा खालको निमोनियासँगै कोरोना संक्रमणका कारण उनको मृत्यु भएको चिकित्सकले बताएका छन् ।

बस मालिकसमेत रहेका मृतकले भारतबाट फर्केकाहरूलाई सिमानामा पुगेकालाई गन्तव्यमा पुऱ्याउने काम गर्दै आएका थिए । उनी आफैँ पनि गाडी चलाउँथे । त्यही क्रममा उनी संक्रमित भएको हुन सक्ने चिकित्सकको अनुमान छ ।

कोरोनाको लक्षण देखिएपछि उनलाई धनगढीको मायामेट्रो अस्पताल लगिएको थियो । मृतकका आफन्तहरूका अनुसार त्यहाँ सामान्य उपचारपछि घर गएका उनी संक्रमणले च्यापेपछि नवजीवन अस्पतालमा भर्ना भएका थिए ।

नवजीवनको आइसियूमा उपचारका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई शनिबार राति सेतीमा लगिएको थियो । भेन्टिलेटरमा राखेर उपचारका क्रममा उनको मृत्यु भएको डा. जोशीले बताए । उनलाई उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको थियो ।