मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ असार २ मंगलबार १८:१७:००
Read Time : > 1 मिनेट
खेलकुद

सर्वोच्चद्वारा पूर्वकप्तान थापासहित ६ जनालाई सफाइ

Read Time : > 1 मिनेट
२०७७ असार २ मंगलबार १८:१७:००

म्याच फिक्सिङको आरोपमा राज्यविरुद्धको अपराधको मुद्दा खेपिरहेका राष्ट्रिय पुरुष फुटबल टोलीका पूर्वकप्तान सागर थापासहित ६ जनालाई सर्वोच्च अदालतले मंगलबार सफाइ दिएको छ । सर्वोच्च अदालतमा मंगलबार भएको सुनुवाइका क्रममा सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई तथा बमकुमार श्रेष्ठको संयुक्त इजलासले थापासहित ६ जनालाई सफाइ दिएको हो । सर्वोच्चको संयुक्त इजलासले यसअघि विशेष अदालतले गरेको निर्णय नै सदर गरेसँगै उनीहरूले सफाइ पाएका हुन् । 

सर्वोच्च अदालतबाट सफाइ पाएपछि पूर्वकप्तान थापाले सामाजिक सञ्जालमा सत्यको जित भएको ट्विट गरेका छन् । थापाले यो ६ वर्षको करिअरमा लागेको गहिरो दाग कसले मेटाउने र फुटबलबाट बाहिर बस्नुपरेको जिम्मेवारी कसले लिने प्रश्न गरेका छन् । उनी भन्छन्, ‘हामीमाथि लागेको गम्भीर दाग कसले हटाउने र यो ६ वर्ष मूल्यांकन कसले गर्ने हो ? सरकार वा एन्फा ? ।’ सर्वोच्चबाट सफाइ पाएपनि म्याच फिक्सिङकै आरोपमा थापासहित अन्य खेलाडीमाथि फुटबलकै सर्वोच्च संस्था फिफाले आजीवन फुटबल खेल्न प्रतिबन्ध लगाएको अवस्था छ । 

२०७२ असोज २७ का दिनमा तत्काल महानगरीय अपराध महाशाखाका प्रमखु सर्वेन्द्र खनालको नेतृत्व गरेको टोलीले कप्तान सागर, डिफेन्डर विकाससिंह क्षेत्री, गोलरक्षक रितेश थापा, डिफेन्डर अन्जन केसी, खेलाडी सन्दीप राई र फिजियोथेरापिस्ट डेभिड थापालाई म्याफ फिक्सिङ गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो । महाशाखाले फिजियोथेरापिस्ट डेभिड अमेरिकामा रहेकाले पक्राउ गर्न सकेन । 

उनीहरूमाथि ०७२ कात्तिक २२ का दिन राज्यविरुद्धको अपराध गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता भएको थियो । तत्काल विशेष अदालतका न्यायाधीशहरू बाबुराम रेग्मी, प्रमोदकुमार श्रेष्ठ र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले राज्यविरुद्धको अपराध मुद्दामा प्रमाण नभेटिएको र आधारहीन भएको जनाउँदै उनीहरूलाई सफाइ दिएको थियो । 

यद्यपि विशेष अदालतबाट उनीहरू निर्दोष ठहर भए पनि फैसला चित्त नबुझेको भनी सरकारी पक्षले पुनः ०७५ मंसिर २९ का दिनमा थापासहित ६ जनाविरुद्ध पुनरावेदन अदालतमा पुनः मद्दा दर्ता गऱ्यो । तत्कालीन अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाकै कार्यकाल ०७२ सालमा पूर्वकप्तान थापासहित ६ जनाले विभिन्न अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्याच फिक्सिङ गरेको खुलासा भएकोे थियो । 

इराक, फिलिपिन्स, अफगानिस्तान र कुवेतलगायत प्रतियोगितामा खेल मिलेमतोको आरोप महानगरीय अपराध महाशाखाले लगाएको थियो । त्यसवेला महाशाखाका प्रमुख खनालका अनुसार सबै खेलाडीमाथि उमेर समूह, मैत्रीपूर्ण खेल तथा विश्वकप छनोटका गरी कम्तीमा २३ वटा अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको आरोप लगाइएको थियो । उनीहरूले प्रतिखेलमा पाँच हजार डलरसम्म लिएको महाशाखाको दाबी थियो ।