१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ असार २ मंगलबार ०९:११:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

पर्वतमा पहिरो : जन्म दिने आमाबाबु र आफैँले जन्माएका छोराछोरीलाई एकैपटक दागबत्ती

ज्यान गुमाएका आठ जनाको सामूहिक दाहसंस्कार

Read Time : > 1 मिनेट
२०७७ असार २ मंगलबार ०९:११:००

पर्वतको कुश्मा नगरपालिका– ३ दुर्लुङ ढकालबारीमा शनिबार रातिको पहिरोमा परी ज्यान गुमाएका आठजनाको सामूहिक दाहसंस्कार गरिएको छ । उनीहरूमध्ये ६ जनाको मोदीवेणीमा र अन्य दुईको छिमेकी जिल्ला बाग्लुङको जैमिनीघाटमा दाहसंस्कार गरिएको हो ।

पर्वतको मोदीवेणीमा पाँच चिता बनाएर ६ जनाको दाहसंस्कार गरिएको छ । मृतकमध्ये ५३ वर्षीय तुलबहादुर र उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी थापालाई एउटै चितामा दाहसंस्कार गिरएकाे छ भने नाति सम्राट, नातिनी विविशालाई छुट्टाछुट्टै चितामा दाहसंस्कार गरिएकाे हो ।     
     
त्यस्तै, अर्को परिवारका ३२ वर्षीया कमला विक र उनकी छोरी आठ वर्षीया प्रमिशालाई पनि छुट्टाछुट्टै चिता बनाएर दाहसंस्कार गरिएको छ । दाहसंस्कारका लागि घाटमा सयौँको सङ्ख्यामा पुगेका नागरिक भावविह्वल बनेका थिए ।     

जन्म दिने आमाबाबु र आफैँले जन्माएका छोराछोरीलाई एकैपटक दागबत्ती

तुलबहादुरदम्पतीलाई छोरा अम्मरबहादुर थापाले दागबत्ती दिए। पहिरोमा आफ्नो छोरा सम्राट र विविशालाई गुमाएका उनीमाथि छोराछोरीलाई पनि दागबत्ती दिनुपर्ने बाध्यता आइपऱ्यो । भक्कानिँदै एकैपटक जन्म दिने बाबुआमा र आफैँले जन्माएका छोराछोरीलाई दागबत्ती दिँदा उनको मन सम्हालिएको थिएन । कमला विक र उनकी छोरीलाई जेठाजु पर्ने चक्रबहादुर विकले दागबत्ती दिए ।
     
त्यसैगरी पहिरोमा पुरिएका आमाछोरा ३४ वर्षीय दिर्पा थापा र १७ वर्षीय विवेक थापाको बाग्लुङको जैमिनी नगरपालिकास्थित कालीगण्डकी किनारमा पर्ने जैमिनीघाटमा अन्त्येष्टि गरिएको छ । दिर्पा लकडाउनपछि छोरा विवेकसहित माइतीमा बस्दै आएकी थिइन् ।
     
हराएका जेनिशको खोजीकार्य वर्षाले प्रभावित

पहिरोले पुरिएका नौमध्ये १३ वर्षीय जेनिश विक अझै पनि भेटिएका छैनन् । शनिबार रातिदेखि नै खोजी गरिए पनि उनी अझै फेला नपरेका हुन् । आइतबार दिनभर खोजी भएको थियो भने सोमबार बिहानैदेखि खोजीकार्य थालिएको भए पनि निरन्तरको वर्षाले उनी अझै फेला पर्न सकेका छैनन् ।     
     
दिनभर गाउँका सबै बासिन्दा मृतकको शव दाहसंस्कार गर्नका लागि मोदीवेणी घाटतर्फ लागे पनि सुरक्षाकर्मीले साँझ अबेरसम्म खोजी गरेको थियो । मंगलबार बिहानबाट पुनः खोजी गर्न सुरु गरिने जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।     
     
सोमबार दिनभरि खोजीकार्यमा सुरक्षा निकाय जुटिरहेको भए पनि वर्षाले समस्या बनाएको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । 

शनिबार राति ८ बजे आएको पहिरोले स्थानीय तुलबहादुर थापा र कमला विकको परिवारलाई बगाएको थियो । थापा परिवारका ६ र विक परिवारका तीनजनाको परिवार पहिरोमा पुरिएका थिए । थापा परिवारका ६ जनाकै शव फेला परेको छ भने विक परिवारका एकजना अहिलेसम्म भेटिएका छैनन् ।