१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार १ सोमबार १९:३१:००
Read Time : < 1 मिनेट
समाचार

नेपाली सेनाको कर्णेल भन्दै ठगी गर्ने चारजना पक्राउ

Read Time : < 1 मिनेट
२०७७ असार १ सोमबार १९:३१:००

नेपाली सेनामा कार्यरत रहेको दाबी गर्दै ठगी गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाली सेनाको नक्कली कर्णेल र अन्य तीनजना जवान बनेर ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय काभ्रेले उनीहरूलाई पाँचखाल नगरपालिका– ४ बाट पक्राउ गरेको हो ।

प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाका अनुसार पक्राउ पर्नेमा पाँचखाल नगरपालिका– ४ बस्ने ३१ वर्षीय केवल राई सुनुवार, वडा नम्बर ५ बस्ने २४ वर्षीय रामबहादुर तामाङ, वडा नम्बर ४ बस्ने ३७ वर्षीय भीम महाजू र तनहुँ जिल्ला भानु नगरपालिका–१२ बस्ने ४८ वर्षीय अमर अधिकारी छन् ।

भीम महाजूको योजनामा उनीहरूले ठगी गर्दै आएको खुलेको प्रहरीले जनाएको छ । महाजूले आफूलाई नेपाली सेनाको कर्णेल बताउँदै आएका थिए । थापाका अनुसार महाजूले २८ जेठमा धुलिखेल नगरपालिका–८ थाक्लेका होटेल व्यवसायी चन्द्रकुमार लामालाई ‘म विष्णुदल गण धुलिखेलमा कार्यरत नेपाली सेनाको कर्णेल हुँ, हामीसँग स्टोरमा रहेका सामानहरू (चामल, चिनी, तेल, बियर, नुन) सस्तोमा मिलाइदिन्छौँ’ भन्दै पाँच लाख ६९ हजार २ सय १० रुपैयाँ मागेका थिए ।

तर, लामाले सामान नदिई रकम नदिने बताएपछि उनीहरूले आधा रकम दिएमा मात्र सामान ल्याउने भन्दै दुई लाख ५० हजार र स्कुटर लगेका थिए । ‘उनीहरूले विष्णुदल गण धुलिखेलको रासन स्टोर विभागको नक्कली पत्रसमेत देखाउने गरेका पाइएको छ,’ प्रहरी नायव उपरीक्षक थापाले भने, ‘उनीहरू नगद र स्कुटर लिएर फरार भएपछि पीडितले जिल्ला प्रहरी कार्यालय, धुलिखेलमा निवेदन दिएपछि खोजी गरी पाँचखालबाट पक्राउ गरेका हौँ ।’