मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस गोरखा
२०७७ असार १ सोमबार १८:४५:००
Read Time : < 1 मिनेट
समाचार

सीमा विवाद समाधानका लागि सहजीकरण गर्न तयार छु : पूर्वप्रधानमन्त्री भट्टराई

Read Time : < 1 मिनेट
रासस गोरखा
२०७७ असार १ सोमबार १८:४५:००

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल–भारत सीमा विवाद समाधानका लागि वार्ताको सहजीकरण गर्न आफू तयार रहेको बताएका छन् । गोरखा सदरमुकाममा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा वार्ताको वातावरण निर्माणका लागि भारतीय नेतासँग आफूले छलफल गरिरहेकोसमेत बताए । 

उनले भारतीय नेताहरूले वार्ताको वातावरण बनाउन आफूलाई पटकपटक आग्रह गरेकोसमेत जानकारी दिए । ‘भारतका विदेशमन्त्री जयशंकर, अर्थमन्त्री निर्मला सीतारमन जेएनयुकै सहपाठी हुुनुहुन्छ’  डा. भट्टराईले भने, ‘उहाँहरूसँग भावनात्मक सम्बन्ध पनि भएकाले वेलावेलामा सम्पर्क भइरहेको छ ।’  

प्रधानमन्त्री केपी शर्मा ओली जिम्मेवार ढंगले लाग्नुपर्नेमा उनले जोड दिए । उनले वार्ताको नेतृत्व सरकारले गर्नुपर्ने भन्दै आफू सहजीकरण गर्न सहयोगी भूमिका निर्वाह गर्न तयार रहेको बताए । 
 
पूर्वप्रधानमन्त्री डा. भट्टराईले वार्ता र संवादकै माध्यमबाट दुई देशबीचको वर्तमान सीमा विवादको समाधान खोजिनुपर्नेमा जोड दिए । उनले देशको खोसिएको भूमि प्राप्त गर्न फौजी ढंगले अघि बढ्नु अहिलेको सन्दर्भमा असान्दर्भिक हुने बताए । 

‘कालापानी क्षेत्रका विषयमा जुन कुरा उठेको छ, त्यो हाम्रो भूमि हो, हाम्रो भूमि कसैले खोसेर लान त सक्दैन,’ डा. भट्टराईले भने, ‘अब अत्यन्त जिम्मेवार ढंगले राजनीतिक र कूटनीतिक वार्तामार्फत समाधानको बाटो खोज्नु उपयुक्त हुन्छ ।’