मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार १ सोमबार ०५:५१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

पर्वतमा पहिरो : एकै परिवारका ६ जनासहित आठको मृत्यु, एक बेपत्ता

Read Time : > 1 मिनेट
२०७७ असार १ सोमबार ०५:५१:००

पर्वतको कुश्मा नगरपालिका-३ दुर्लुङमा अविरल वर्षासँगै शनिबार राति खसेको पहिरोमा पुरिएर एकै परिवारका ६ जनासहित आठको मृत्यु भएको छ । एकजना अझै बेपत्ता छन् । 

लकडाउनमा माइत आएकी दिर्पा छोरासँगै पहिरोमा पुरिइन्

पहिरोमा परी ६२ वर्षीय तुलबहादुर थापा, उनकी ५८ वर्षीया पत्नी मीनकुमारी, ३४ वर्षीया छोरी दिर्पा थापा, नातिहरू १५ वर्षीय विवेक र १४ वर्षीय सम्राट तथा ११ वर्षीया नातिनी विदिशाको मृत्यु भएको छ । तुलबहादुरकै छिमेकी कमला विक र उनकी आठ वर्षीया छोरी जेनिशाले पनि ज्यान गुमाएका छन् । कमलाका १२ वर्षीय छोरा जेनिश बेपत्ता छन् । उनका श्रीमान् विकास विक वैदेशिक रोजगारीका क्रममा साउदीमा छन् ।

दुर्लुङमा शनिबार साँझदेखि मुसलधारे पानी पर्न थालेको थियो । पानीसँग सवा आठ बजेतिर दुर्लुङकोटको पाखोबाट खसेको पहिरोले तुलबहादुर र कमलाको घर बगाए लग्यो । उनीहरूसँगै जोडिएको भुवन गिरीको घरको आधा भाग पनि पहिरोले लगेको छ । 

तुलबहादुरकी छोरी दिर्पा लकडाउनका कारण छोरो विवेकको एसइई परीक्षा अनिश्चित भएपछि माइतीमा बस्न आएका थिइन् । बाग्लुङको जैमिनी नगरपालिका पैञ्यु थन्थाप घर भएकी उनी छोरालाई पढाउन कुश्मा बजारमा डेरा गरी बस्थिन् । सुरुमा उनले छोरालाई घर पठाएर आफू माइत आएकी थिइन् । एक हप्ताअघि मात्रै न्यास्रो लागेको भन्दै सवारी पास बनाएर उनले छोरालाई पनि मामाघर बोलाएकी थिइन् । 

उनीहरूसँगै ज्यान गुमाएका सम्राट र विदिशा तुलबहादुरको छोरापट्टीका नाति-नतिना हुन् । तुलबहादुरका छोरा अम्मर र बुहारी रिमाया करिब पाँच सय मिटर टाढा बनाएको नयाँ घरमा बस्थे । त्यहीँ उनीहरूले सामान्य किराना पसल र होटेल व्यवसाय पनि गर्छन् ।

उनीहरूका छोराछोरी सम्राट र विदिशा दिनभरि आमाबुबासँगै रहे पनि सुत्न भने हरेक दिन हजुरबुबा-हजुरआमासँगै जान्थे । ‘हजुरबुबा र हजुरआमाले धेरै माया गर्ने भएकाले केटाकेटीहरू सुत्न सधैँ पुरानै घर आउने गरेका थिए । लाउँलाउँ र खाउँखाउँ उमेरका दुई छोराछोरीको मृत्यु देख्नुप-यो अभागी बाबुआमाले,’ तुलबहादुरका छिमेकी सूर्यबाबु गिरीले भने ।

संयोगले बाँचे : भुवन गिरी

पहिरोले बगाएका तुलबहादुर र कमलाको घरसँगै जोडिएको छ ६२ वर्षीय भुवन गिरीको घर । उनले घरमै किराना पसल र मासुको व्यवसाय पनि गर्थे । पहिरो जानुअघि छिमेकी युवा गौतम रेग्मी उनीकहाँ मासु किन्न आए । भान्छामा तरकारी पकाउँदै गरेका भुवनले एकैछिन पर्खिन भने । यत्तिकैमा गड्याङ-गुडुङको आवाजसहित जमिन हल्लिन थाल्यो । 

भान्सामै आत्तिएका भुवनलाई उनका छोरा अर्जुन र मासु लिन आएका गौतमले तानेर बाहिर निकाले । लगत्तै पहिरोले उनको घरको आधाभन्दा धेरै भाग बगाएर लग्यो । मासु राखेको फ्रिज भएको कोठासहित तीन कोठा पहिरोले बगायो । 

‘भान्सामा तरकारी पकाउँदै थिएँ, त्यही वेला आएका गौतमले मासु मागेका थिए, उनलाई एकछिन पर्ख भनेँ । त्यही वेला पहिरो आयो । मासु निकाल्न पल्लो कोठा गएको भए बाँच्ने रहेनछु, भाग्यले बाँचेँ,’ भुवनले शनिबारको घटना सम्झिए । पहिरोले उछिट्याउँदै ल्याएको सानो ढुंगाले उनको टाउकोमा सामान्य चोट लागेको छ ।