१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
मुना कुँवर काठमाडौं
२०७७ असार १ सोमबार ०३:५९:००
Read Time : > 2 मिनेट
अर्थ

प्रवासी मजदुरको उद्धार : भाडा र तालिका निश्चित, उद्धार उडान अनिश्चित

राजदूतहरू भन्छन्, ‘पैसा तिर्न सक्ने श्रमिकले समेत टिकट कहाँ काट्ने भन्ने ठेगान भएको छैन’

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडौं
२०७७ असार १ सोमबार ०३:५९:००

साउदी, कतार, बहराइन, मलेसिया र माल्दिभ्सका प्रारम्भिक उडान स्थगित, युएईको उडान अनिश्चित

हवाई भाडाका विषयमा एकपछि अर्को निर्णय गर्दै आएको सरकारले व्यवस्थापनको विषयमा स्पष्ट निर्णय नगर्दा उद्धार उडान अनिश्चित भएका छन् । विभिन्न २५ सहरको तालिका सार्वजनिक गरे पनि तयारी नपुगेकाले सोमबार र मंगलबारका उडान नहुने भएका छन्, त्यसपछिका उडानको पनि टुंगो छैन । 

सरकारले ३२ जेठदेखि ११ असारसम्म २४ हजार नागरिकलाई नेपाल फर्काउने घोषणा गरेको थियो । सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सबाट दैनिक १० वटासम्म उडान गर्ने तालिका बनाएको छ । दैनिक एक हजार आठ सयजनालाई फर्काउने योजना छ । यसका लागि नेपाल एयरलाइन्सले २४ र हिमालय एयरलाइन्सले १९ गरी ४३ उडान गर्नेछन् । त्यस्तै विदेशीका एयरलाइन्सले २४ उडान गर्नेछन् । 

सरकारले संकटमा परेका मजदुरको उद्धार गर्ने भनेर मजदुरबाटै रकम संकलन गर्ने नीति लिएको छ । तर, भाडा धेरै महँगो भएकाले नेपाली दूतावासले पनि त्यो दरमा मजदुर उडाउन नसक्ने स्पष्ट पारेका छन् । तयारी नपुगेको र भाडा महँगो भएकाले दूतावासले तालिकाअनुसार उडान हुन नसक्ने सूचना जारी गरेका छन् । 

माल्दिभ्सस्थित नेपाली दूतावासले सूचना जारी गरी सोमबार नेपाल एयरलाइन्सले गर्ने भनिएको चार्टर्ड फ्लाइट हालका लागि स्थगित गरिएको जनाएको छ । यस्तै साउदी अरबबाट असार १ देखि गर्ने भनिएका विभिन्न उडानसमेत रद्द गरिएको नेपाली राजदूत महेन्द्रप्रसाद सिंहले जानकारी गराए । ‘नयाँ भाडादर र तालिका प्राप्त नभएसम्मका लागि उडान स्थगित गरिएको सूचना दूतावासले जारी गरेको छ,’ उनले भने ।

सोमबारका लागि तय भएको मलेसियाको उडानसमेत रद्द भएको छ । सोमबार उडान हुने तालिका भए पनि आइतबारसम्म पनि टिकट बुकिङ सुरु नभएको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताए । ‘आजसम्म टिकट खुला भएको छैन । भोलिको उडान कसरी सम्भव होला ?’ उनले प्रतिप्रश्न गरे । 

विभिन्न देशमा उद्दारको पर्खाइमा रहेका प्रवासी नेपालीले पठाएका तस्बिरहरु

बहराइनबाट गर्ने भनिएको बुधबारको उडान पनि सम्भव नहुने नेपाली राजदूत पदम सुन्दासले बताए । ‘आजसम्म सरकारले तालिका र अन्तिम भाडादार निश्चित गरेको छैन । यही अवस्थामा बुधबार उडान हुने कुनै सम्भावना छैन,’ उनले भने । 

कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाजले पनि मंगलबार गर्ने भनिएको उडान असम्भव भएको बताए । ‘तालिका त बन्यो, तर तयारी पूर्ण भइसकेको छैन । त्यसैले पहिलो उडान हुन सक्दैन,’ उनले भने, ‘फर्कने नेपालीको सूची सरकारलाई बुझाउनुपर्छ । तर, भाडाको विषयमा नै अन्तिम निर्णय भएको छैन, को–को फर्कने भन्ने पनि टुंगो लागिसकेको छैन । त्यसैले नेपाल एयरलाइन्सको पहिलो उडान सम्भव छैन,’ उनले भने । 

युएईबाट मंगलबार र बिहीबार गर्ने भनिएको उद्धार उडान पनि अनिश्चित छ । ती उडान स्थगित गरिएको भन्दै नेपाली दूतावासले सूचना जारी गरिसकेको थियो । तर, सो सूचना हटाएर ती उडान हुने–नहुने विषयमा सोमबार बिहान १० बजे निश्चित हुने जनाएको छ ।

युएईमा भने नेपाल एयरलाइन्सको टिकट बिक्री सुरु भएको गैरआवासीय नेपाली संघका अध्यक्ष प्रकाश कोइरालाले बताए । तर, नेपाल फर्कन आवेदन दिएकामध्ये आधा श्रमिक आफैँले हवाई टिकट काटेर फर्कन नसक्ने उनले दाबी गरे । नेपाल एयरलाइन्सले शनिबार १६५० दिराम (५४,३८४ रुपैयाँ)मा जहाजको टिकट बिक्री गरेको थियो भने आइतबार भने भाडा घटाएर १३२० दिराम (४२,५८३ रुपैयाँ) कायम गरेको छ । घटाइएको भाडा पनि सामान्यभन्दा दोब्बर हो । 

सरकारले टिकट कसरी बिक्री गर्ने भन्ने विषयमा पूर्वतयारी नै नगरी उडान–तालिका र भाडादर सार्वजनिक गरेको छ । जब कि अधिकांश मुलुकमा नेपाली एयरलाइन्सको टिकट बिक्री गर्ने एजेन्ट नै छैनन् । ‘श्रमिकले टिकट कहाँ गएर काट्ने ?’ राजदूतहरूको प्रश्न छ । 

मलेसियामा समेत नेपाल एयरलाइन्सको एजेन्ट छैन । ‘त्यसैले श्रमिकले टिकट कसरी र कहाँ गएर खरिद गर्ने भन्ने विषय अन्योल छ,’ राजदूत पाण्डेले भने । त्यस्तै, कतार र बहराइनमा पनि नेपाल एयरलाइन्सका एजेन्ट छैनन् । ‘भाडा तिर्न सक्ने श्रमिकले पनि टिकट काट्न कहाँ जाने भन्ने समस्या छ,’ राजदूत डा. भारद्वाजले भने ।