मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ३२ आइतबार १३:३१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

कोरोना रोकथाम र भ्रष्टाचार नियन्त्रण गर्न सांसदको माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ ३२ आइतबार १३:३१:००

प्रतिनिधिसभा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै कोरोना रोकथाम र भ्रष्टाचार नियन्त्रणका लागि उचित कदम चाल्न माग गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले सरकारले कोरोना रोकथामका लागि प्रभावकारी काम गर्न नसकेको आरोप लगाए ।

‘सरकारले केही काम गर्न नसक्ने र १० अर्बको खर्च देखाउने गरेकाले नागरिकहरू सडकमा उत्रिएका छन्,’ उनले भने, ‘नेपाल एयरलाइन्स चार्टर्ड गर्ने भनेर ६–७ गुणा बढी पैसा पीडितबाट असुल्नेजस्ता काम भएका छन् ।’

सरकारका यस्ता क्रियाकलापले गर्दा नागरिकलाई सडकमा निस्केर प्रदर्शन गर्न बाध्य बनाएको उनले बताए । नागरिकहरू सडकमा उत्रेर सरकार फाल्नुपर्ने अवस्था आयो भने त्यो लोकतान्त्रिक पार्टीका लागि शुभसंकेत नहुने उनको भनाइ थियो ।

‘आज नेपाल एयरलाइन्सको प्लेन चार्टर्डको नाउँमा यहाँका ट्राभल एजेन्सीहरूबाट ६-७ गुणाभन्दा बढी पैसा असुली भइराखेको छ । जनताले सहिरहनुपर्ने फेरि हामी चुप लाग्नुपर्ने ?’ उनले भने, ‘अत्यन्त भयावह अवस्था छ । यदि सडकबाट जनताले सरकार फाल्नुपऱ्यो भने लोकतान्त्रिक पार्टीका लागि शुभसंकेत हुँदैन, स्थिति यो आइसकेको छ ।’

सरकारले केही पनि काम गर्न नसक्ने तर त्यसको दोष कांग्रेसलाई लगाउने गरेको उनले बताए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद मातृकाप्रसाद यादवले धनुषा जिल्लामा विभिन्न अाराधिक घटना हुँदै आएको, तर राजनीतिक संरक्षणमा अपराधीले उन्मुक्ति पाइरहेको बताए । अापराधिक घटनाहरू हुने र राजनीतिक आडमा जोगिने परम्परालाई रोक्न सरकारको ध्यानाकर्षण गराए ।

यादवले २ नम्बर प्रदेशमा कोरोना नियन्त्रण ठूलो चुनौती बन्दै गएको बताए । उनले कडा भाइरस आएको भन्ने प्रधानमन्त्रीसँग कडा खालको उपचारको व्यवस्था मिलाइदिन पनि माग गरे । प्रदेश २ सरकारले पनि कुनै प्रभावकारी योजनाका साथ कोरोना रोकथामका लागि काम गर्न नखोजेको उनले बताए ।