मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
केदार दाहाल काठमाडौं
२०७७ जेठ ३२ आइतबार ०६:३९:००
Read Time : > 1 मिनेट
अर्थ

६० रेस्टुरेन्टको एकै छाताबाट अनलाइन सेवा

Read Time : > 1 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ जेठ ३२ आइतबार ०६:३९:००

सरकारले होम प्याकिङका लागि खुला गर्न दिने निर्णय गरेसँगै बन्द भएको ८० दिनपछि काठमाडौंका केही रेस्टुरेन्टहरूले शुक्रबारबाट सेवा सुरु गरेका छन् । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान)का अनुसार काठमाडौंबाहिर सौराहा र पोखरामा भने खुलेका छैनन् । 

‘सरकारको निर्णयसँगै काठमाडाैंमा रहेका १८ सय रेस्टुरेन्टमध्ये ४० प्रतिशतले सेवा सुचारु गरेका छन्,’ रेबानका अध्यक्ष अरनिको राजभण्डारीले भने, ‘आइतबारदेखि धेरै रेस्टुरेन्टहरूले सेवा सुरु गर्ने तयारी गरेका छन् ।’ सौराहा र पोखरा भने पर्यटककेन्द्रित रेस्टुरेन्ट भएकाले नखुलेको रेबानले जनाएको छ । प्याकिङका लागि मात्रै स्वीकृति दिएकाले अहिले किचन मात्रै खुला गरेर काम सुरु गरेका हुन् ।
 
काठमाडौंका ६० वटा रेस्टुरेन्टले अनलाइन डेलिभरी सेवा दिने भएका छन् । ‘हामीले पोर्टल स्थापना गरेर अन्तिम चरणमा पु-याएका छाैँ, एक साताभित्रै काठमाडाैंमा अनलाइन डेलिभरी सेवा सुरु गर्नेछाैँ,’ अध्यक्ष राजभण्डारीले भने । रेबानले आफ्ना सदस्यहरूलाई सहभागी गाएर अर्डरसाथी नामक पोर्टलबाट सुरु गर्न लागेको हो । 

रेस्टुरेन्टको नाम अगाडि हुने र अर्डरसाथी डटकममार्फत जुन रेस्टुरेन्टबाट पनि खाजा मगाउन सकिने व्यवस्था गर्न लागिएको हो । अहिले भइरहेका डेलिभरी सेवामा ठूला रेस्टुरेन्टको मात्रै पहुँच तथा २० प्रतिशत शुल्क तिर्नुपर्छ । तर, छुटसहित ग्राहकलाई रेबान आफैँले होम डेलिभरी सेवा सुरु गर्न लागेको अध्यक्ष राजभण्डारीले जानकारी दिए । 

पहिलो चरणमा ६० वटा रेस्टुरेन्टबाट परीक्षण गरिने र दोस्रो चरणमा २ सय ५० हुँदैँ काठमाडौंबाहिरका रेस्टुरेन्टसमेत जोड्न लागेको रेबानले जनाएको छ । जसमा डेलिभरी सेवा निःशुल्क गर्ने तथा मेनुमा १० प्रतिशत छुट दिनेसमेत रेबानले जनाएको छ । ‘रेस्टुरेन्ट नखुले पनि कार्यरत श्रमिकलाई डेलिभरी सेवामा पठाएर रोजगारी ग्यारेन्टीसमेत गर्न खोजेका हाैँ,’ अध्यक्ष राजभण्डारीले भने । 

१५ अर्बभन्दा बढी गुम्यो

लकडाउनका कारण देशभर दर्ता भएका ३५ सय रेस्टुराँमा हुने १५ अर्बभन्दा बढी आम्दानी गुमाउनुपरेको रेबानले जनाएको छ । जसमा ७० हजारभन्दा बढी प्रत्यक्ष रोजगारीमा रहेका छन् । दैनिक सरदर २० हजारदेखि १० लाखसम्म आम्दानी गर्ने रेस्टुरेन्टहरू रहेका छन् । 

दैनिक ५० हजार सरदर आम्दानीले पनि १५ अर्बभन्दा बढी गुमेको अध्यक्ष राजभण्डारीले जानकारी दिए । काठमाडांैमा मात्रै १८ सय रेस्टुरेन्ट रहेका छन् । रेस्टुरेन्टहरूको खर्च भाडामा १० प्रतिशत, कर्मचारीका लागि २० प्रतिशत र कृषिजन्य उपजमा ४० प्रतिशत खर्च हुने गरेको अनुमान रेबानको छ । ‘दैनिक ७ करोडभन्दा बढीको तरकारी र मासुजन्य पदार्थ खपत हुने अनुमान छ, सबै क्षेत्रमा यसले असर गरेको छ,’ अध्यक्ष राजभण्डारीले भने ।