१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
केदार दाहाल काठमाडौं
२०७७ जेठ ३२ आइतबार ०९:५०:००
Read Time : > 1 मिनेट
प्रवास

विदेशमा अलपत्र परेका नेपालीको उद्धारमा संयुक्त राष्ट्र संघले सहयोग गर्ने

कोरोना संक्रमणका कारण विदेशमा रहेका नेपालीको मृत्यु हुने क्रम रोकियो

Read Time : > 1 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ जेठ ३२ आइतबार ०९:५०:००

विदेशमा अलपत्र परेका नेपाली श्रमिकलाई उद्धार गर्न संयुक्त राष्ट्र संघले सहयोग गर्ने भएकाे छ  । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संयुक्त राष्ट्र संघलाई उद्धारमा सहयोग गर्न गरेको आग्रहलाई  राष्ट्र संघले स्वीकार गर्दै सहयोग गर्ने घोषणा गरेको हो । 

एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीका अनुसार राष्ट्र संघअन्तर्गतको इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आइओएम) सँग संघका अध्यक्ष कुमार पन्तसहितको टोलीले छलफल गरेको थियो ।

गत बुधबार भएको छलफलमा राष्ट्र संघअन्तर्गत नेपाल मिसनकी प्रमुख लोरेना लान्डाले आइएमओ विदेशमा रहेका नेपालीको उद्धारका लागि सहयोग गर्न इच्छुक रहेको जानकारी दिएकी थिइन् ।

आइओएमले कोरोना भाइरसको संक्रमणका कारणले नेपाल फर्किएका नेपालीलाई विमानस्थलबाट होल्डिङ सेन्टरसम्म लैजानसमेत सहयोग गर्न इच्छुक रहेको जनाएको छ ।

धमाधम उद्धार सुरु

एनआरएनएले बिहीबारसम्म विदेशमा अलपत्र परेका पाँच सयभन्दा बढी नेपालीको उद्धार गरिएको जनाएको छ । संघका अध्यक्ष कुमार पन्तका अनुसार बिहीबार मात्र कुवेत सरकारको सहयोगमा दुई सय ९९ नेपाली स्वदेश फर्किएका छन् ।

अध्यक्ष पन्तका अनुसार कुवेतको घर फिर्ती शिविरमा रहेका थप दुई हजार नौ सय ९१ जनालाई हरेक दिन दुई उडान गरी नेपाल फर्काउने तयारी भएको छ । अहिलेसम्म गैरआवासीय नेपाली संघ र विदेशस्थित नेपाली दूतावासको समन्वयमा म्यानमारबाट २६, खाडी मुलुक दुबईबाट एक सय ६८, अष्ट्रेलियाबाट ११, जापानबाट ७ र कुवेतबाट दुई सय ९९ गरी  पाँच सय ११ जनाको उद्धार गरिएको छ ।

कोरोना संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकियो

कोरोना भाइरसको संक्रमणले विदेशमा रहेका नेपालीको मृत्यु हुने क्रम रोकिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विगत आठ साता लगातार विभिन्न देशमा रहेका नेपालीले ज्यान गुमाएका थिए । यो साता भने कोरोना भाइरसको संक्रमणले कुनै पनि नेपालीले ज्यान गुमाउनुपरेन । एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिका अनुसार विश्वका विभिन्न देशमा कोरोना संक्रमण दरमा हिजो (शनिबार) साँझसम्म उल्लेख्य रूपमा कमी आएको छ ।

डेनमार्क, नेदरल्यान्ड, अष्ट्रेलिया, जापान, म्यानमार, पोल्यान्ड, रुस, न्युजिल्यान्ड, क्यानाडा, फिनल्यान्ड, आयरल्यान्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियमलगायतका १५ देशमा बस्ने नेपाली कोरोना संक्रमणबाट मुक्त भएका छन् । एनआरएनए स्वास्थ्य समितिका अनुसार यो साता विदेशमा नाै हजारभन्दा बढी नेपाली कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हालसम्म एक सय २७ नेपालीले विदेशमा ज्यान गुमाए

संघअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार विदेशमा रहेका १७ हजार सात सय ९२ जना नेपाली कोरोना भाइरसबाट संक्रमिक भएका छन् । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार याे साता पहिलोपटक अफ्रिकी मुलुकमा रहेका तीनजना नेपालीमा कोरोना भाइरसको संक्रमण भेटियो । संघका अनुसार कोरोना संक्रमणले हालसम्म एक सय २७ जना नेपालीले विदेशमा ज्यान गुमाएका छन् भने नेपालमा ज्यान गुमाउने संख्या १८ पुगेको छ । हालसम्म विश्वभर कोरोनाका कारण एक सय ४५ जना नेपालीले ज्यान गुमाएका छन् ।

सापकोटाका अनुसार नेपालको पाँच हजार तीन सय ३५ सहित विश्वभरका ३५ देशमा २३ हजार एक सय २७ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना भाइरसका कारण बेलायत,  युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीहरूको ज्यान गएको थियो ।