Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
दैलेखको डुंगेश्वर गाउँपालिका–१ चुप्रास्थित त्रिवेणी संगम माविमा बनाएको आइसोलेसन कक्ष । यहाँ ६४ संक्रमितलाई राख्न खोजिएको थियो, तर आइसोलेसनको बेहाल देखेपछि उनीहरू बस्न मानेनन् ।
२०७७ जेठ ३२ आइतबार ०५:१३:००
Read Time : > 2 मिनेट
प्रदेश

दैलेखका कोरोना संक्रमितमाथि प्रहरीको लाठी

१५ दिन बित्दा पनि पिसिआर रिपोर्ट नआएपछि आन्दोलनमा उत्रिएका संक्रमितमाथि प्रहरीले गर्‍यो लाठीचार्ज, चार घाइते

Read Time : > 2 मिनेट
२०७७ जेठ ३२ आइतबार ०५:१३:००

उपचार नपाएपछि आन्दोलनमा उत्रिएका दैलेखका कोरोना संक्रमितमाथि प्रहरीले उल्टै लाठी बर्साएको छ । चार संक्रमित घाइते भएका छन् । दैलेख सदरमुकामस्थित त्रिभुवन माविमा राखिएका ३४ संक्रमित १५ दिन बित्दा पनि पिसिआर रिपोर्ट नआएपछि शनिबार आन्दोलनमा उत्रिएका थिए । विद्यालयको गेट भाँचेर बाहिर निस्कँदै उनीहरूले नाराबाजी गरेपछि प्रहरीले लाठीचार्ज गरेको थियो । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि यही क्वारेन्टाइनलाई आइसोलेसन बनाएर उनीहरूलाई राखिएको थियो । 

प्रहरीको लाठीबाट घाइते भएकामध्ये एकजनालाई बढी चोट लागेको छ । प्रहरीले बल प्रयोग गरेर उनीहरूलाई विद्यालयभित्रै आइसोलेसनमा फिर्ता पठाएको छ । ‘आइसोलेसनमा राखिएका संक्रमितहरू सुरक्षित रूपमा बस्नुपर्नेमा सडक निस्केपछि सम्झाइबुझाइ भित्र पठाउन खोजेका थियौँ,’ जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिबहादुर ओलीले, ‘नाराबाजी गर्दै यताउता जान खोजेपछि प्रहरीले बाध्य भएर लाठीचार्ज गर्नुपरेको हो ।’

भारतबाट फर्र्किएका उनीहरू १४ दिन सदरमुकामस्थित नारायण क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनबाट घर जानेवेला गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि त्रिभुवन माविमा सारिएको थियो । 

उनीहरूले यसअघि पनि पटकपटक विरोध गरेका थिए । नाम मात्रैको आइसोलेसन भएको उनीहरूको दुखेसो थियो । संक्रमण देखिएपछि पनि उपचारको व्यवस्था नगरिएको, खानाखाजा र बस्ने व्यवस्था राम्रो नभएको उनीहरूको गुनासो थियो । सबै गाह्रोसाह्रो सहँदै आएका संक्रमितको १५ दिन बितिसक्दा पनि कोरोना परीक्षणको रिपोर्ट नआएपछि आन्दोलनमा उत्रिएका थिए । उनीहरूको स्वाबको नमुना संकलन गरेर प्रादेशिक अस्पताल सुर्खेत पठाइएको थियो । 

आइसोलेसनबाट ६४ संक्रमित भोकभोकै पाँच घन्टा हिँडेर क्वारेन्टाइनमा
दैलेखकै डुंगेश्वर गाउँपालिकास्थित पिपलचौतारा र सीता जनसेवा माविको क्वारेन्टाइनमा रहेका ६४ जना कोरोना संक्रमितलाई शुक्रबार राति डुंगेश्वर गाउँपालिका–१ चुप्रास्थित त्रिवेणी संगम माध्यमिक विद्यालयको आइसोलेसनमा ल्याइएको थियो । उनीहरू राति पाँच घन्टा हिँडेर क्वारेन्टाइनबाट आइसोलेसनमा आएका थिए । 

तर, उनीहरू शनिबार फेरि भोकभोकै पाँच घन्टा हिँडेर आइसोलेसनबाट क्वारेन्टाइनमै फर्किएका छन् । ‘नाम मात्रैको आइसोलेसन रहेछ । त्यहाँ त झन् बिरामी हुने भएपछि क्वारेन्टाइनमै फर्किएका हौँ,’ एक संक्रमितले भने । उनीहरू शनिबार बिहान ९ बजे त्रिवेणी संगम माविको आइसोलेनसबाट हिँडेका उनीहरू पाँच घन्टा उकालो चढेर दिउँसो २ बजे पिपलचौतारा र सीता जनसेवा माविको क्वारेन्टाइनमा पुगेको एक संक्रमितले बताए । 

क्वारेन्टाइनभन्दा आइसोलेनस झन् खत्तम रहेको उनीहरूले बताएका छन् । ‘आइसोलेसन राम्रो होला । उपचार होला र बाँचिएला भनेर क्वारेन्टाइनबाट राति हिँडेर आएका थियौँ,’ एक संक्रमितले भने, ‘आइसोलेसन त झन् खत्तम रहेछ । यहाँ त छिटो मरिएला भन्ने चिन्ता लाग्यो ।’ रातभर नसुतेरै बिताएको उनीहरूले बताएका छन् । 

  • आइसोलेसनमा बसेकाहरुको लागि बनाइएको शौचालय 

अस्थायी शौचालय दिशाले भरिएको र झन् फोहोर रहेको उनीहरूले बताए । पानी नभएको, झिंगा र लामुखट्टेले रातभर टोकेको उनीहरूको गुनासो छ । ‘एउटै कोठामा १० जना कोचाकोच गरी राखियो । चिसो भुइँमा पिफर्म ओछ्याइएको थियो । एउटा तन्ना मात्र थियो,’ अर्का संक्रमितले टेलिफोनमा भने । राति नसुतेरै बसेको उनको भनाइ छ । बसिरहेकै वेला विद्यालयको कोठमा सर्प आएको उनले बताए । ‘धन्न बिउँझै थियौँ र ढुंगाले हानेर सर्प मार्‍यौँ । त्यस्तैमा सुतेको भए सर्पले टोकेर मरिने रहेछ,’ उनले भने । 

सबैले बसेर रातभर सल्लाह गरेको उनीहरूले बताए । आइसोलेसनभन्दा आफ्नै गाउँको स्कुलमा रहेको क्वारेन्टाइन राम्रो रहेको उनीहरूको भनाइ छ । ‘केही उपचार नपाएर आइसोलेसनमा मर्नुभन्दा आफ्नै गाउँको क्वारेन्टाइनमा मरौँला भनेर फर्कियौँ,’ अर्का संक्रमितले भने । प्रहरीले उनीहरूलाई सम्झाउन खोजेको थियो । बाटोमा पनि रोक्न खोजेको थियो । तर, उनीहरूले ‘बरु गोली हान्नुस्, हामी त्यस्तो आइसोलेसनमा बस्न सक्दैनौँ’ भनेर गाउँ फर्केको डुंगेश्वर गाउँपालिका अध्यक्ष नगेन्द्र मल्लले बताए । आइसोलेसनमा पठाएका संक्रमित फर्केर आफ्नै गाउँपालिकामा आएको अध्यक्ष मल्लले बताए । एकैपटक ६४ जनामा कोरोना देखिएपछि व्यवस्थापन गर्न समस्या भएको उनको भनाइ छ । ‘अहिले विद्यालयका सबै क्वारेन्टाइन भरिएका छन् । त्यसैले संक्रमित राख्न समस्या भएको हो,’ अध्यक्ष मल्लले भने, ‘आइसोलेसन राम्रो नभएपछि फर्किएका छन् । उनीहरूलाई गाउँपालिकामै राम्रो व्यवस्था गरेर राख्छौँ ।’

संक्रमितको संख्या बढ्दै गएपछि दैलेखका विद्यालयमा बनाएका क्वारेन्टाइनलाई नै आइसोलेसनमा परिणत गरिएको छ । त्यहाँ सेवासुविधा भने केही थपिएको छैन । आइसोलेसनमा परिणत गरिएका क्वारेन्टाइनमा संक्रमितलाई मात्रै राख्ने व्यवस्था गरिएको छ । 

दैलेखका ११ स्थानीय तहमध्ये १० वटामा संक्रमण देखिएको छ । नारायण नगरपालिकामा मात्रै एक सय ९४ जना संक्रमण देखिएको छ । दैलेखमा शनिबार मात्रै थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म संक्रमितको संख्या पाँच सय दुई पुगेको छ । जसमध्ये एकजनाको मृत्यु भएको छ भने ३० जना निको भएर घर फर्केका छन् । अन्य संक्रमितलाई क्वारेन्टाइनलाई नै आइसोलेसन बनाएर राखिएको छ । क्वारेन्टाइनमा रहेका दुई हजारजनाको स्वाब संकलन गरेर पठाइएको छ । दुई साता बित्न लाग्दा पनि रिपोर्ट आएको छैन ।