मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ जेठ ३१ शनिबार १३:२२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

सीमा विवादबारे फेरियो भारतीय सेनाध्यक्षको बोली, देहरादुनमा उनले भने– नेपालसँग सम्बन्ध थप सुदृढ हुन्छ

Read Time : > 1 मिनेट
२०७७ जेठ ३१ शनिबार १३:२२:००

भारतका स्थल सेनाध्यक्ष मणिमुकुन्द नरभणेले नेपालसँग भारतको सधैँ मजबुत सम्बन्ध रहेको र भविष्यमा पनि सम्बन्ध सुदृढ रहने बताएका छन् ।

भारतको उत्तराखण्डको देहरादुनस्थित मिलिटरी एकेडेमीमा शनिबार आयोजित कार्यक्रममा पत्रकारहरूसँग भारतीय स्थल सेनाध्यक्षले जनस्तरको र सभ्यतासँग जोडिएको नेपाल–भारत सांस्कृतिक सम्बन्धको व्याख्या गर्दै नेपालसँग सम्बन्ध सुदृढ रहने उल्लेख गरेका हुन् । 

नेपालले कसैको उक्साहटमा भारतद्वारा निर्माण भएको पिथौरागढ–लिपुलेक सडकखण्ड उद्घाटनको विरोध गरेको आरोप लगाएपछि उनी भारतभित्रै पनि आलाेचित हुन पुगेका थिए । 

नेपालले आफ्नो भूमि दाबी गर्दै नक्सा जारी गरेको लिपुलेक र लिम्पियाधुरा रहेको उत्तराखण्ड राज्यको प्रान्तीय राजधानी रहेको देहरादुनमा उनले पछिल्लो अभिव्यक्ति दिएका हुन् । 

उनले चीनसँगको सीमा क्षेत्रका सन्दर्भमा नेपालबारे पनि प्रतिक्रिया राखेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्  । 

नरभणेले नेपालबारे भनेका छन्, ‘नेपालसँग हाम्रो अत्यन्त मजबुत एवं सुदृढ सम्बन्ध छ । हामीहरूबीच जनस्तरमा भौगोलिक, सांस्कृतिक, ऐतिहासिक र धार्मिक सम्बन्ध छ । सधैँ मजबुत रहेको सम्बन्ध भविष्यमा पनि सुदृढ रहनेछ ।’ तर, नेपालसँगको सीमा विवादबारे उनले केही प्रतिक्रिया दिएनन् । 

नरभणेले २ जेठमा नेपालमा कसैको उक्साहटमा भारतद्वारा लिपुलेक जोड्ने सडक उद्घाटनको विरोध र  सडकमा विरोध प्रदर्शन भएको आरोप लगाएका थिए । 

भारतको मनोहर पारिकर इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिसद्वारा आयोजित सेमिनारमा भारतीय सेनाध्यक्षले काली नदीभन्दा पश्चिममा भारतले सडक निर्माण गरेको तर्क गर्दै यसमा विरोधको औचित्य नभएको जिकिर गरेका थिए । 

त्यसवेला उनले भनेका थिए, ‘लिपुलेक–मानसरोबर सडकका सन्दर्भमा म कत्ति पनि विरोधाभास देख्दिनँ । काली नदीभन्दा पश्चिममा हामीले सडक बनाएका छौँ । नेपालमा यसको किन विरोध भइरहेको छ म जान्दिनँ । उनीहरूले यो विषय कसैको उक्साहटमा उठाएका हुन्, यो सम्भावना म देख्छु । यो सडक करिडोरबारे विवाद छैन ।’

नरभणेको भनाइलाई नेपाली सेनाले खण्डन गरेन । बरु, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकारी सञ्चारमाध्यम राससलाई दिएको अन्तर्वार्तामा विरोध जनाएका थिए । 

भारतभित्रै  विभिन्न क्षेत्रबाट भारतीय स्थल सेनाध्यक्षको भनाइको विरोध भएको थियो । नरभणेको भनाइ सार्वजनिक भएलगत्तै भारतीय सेनाका पूर्व लेफ्टिनेन्ट जनरल एवं उत्तरी कमाण्डका कमान्डर डिएस हुडाले द प्रिन्टकी पत्रकार ज्योति मलहोत्रासँगकाे अन्तर्वार्तामा नरभणेको भनाइको विरोध गरेका थिए ।

हुडाको भनाइ थियो, ‘यो  कूटनीतिक विषय हो । कूटनीतिज्ञहरूलाई नै छाडिदिनुपर्छ । सेनाप्रमुखले टिप्पणी गरेर विवादमा आउनु ठीक होइन । उहाँ अनावश्यक रूपमा विवादमा तानिएर फाइदा छैन । नेपालसँग परिपक्व तरिकाले कूटनीतिक रूपमा डिल गर्नुपर्छ ।’