मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
श्रवण थापा सर्लाही
२०७७ जेठ ३१ शनिबार ११:३०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

सीमामा शव राखेर भारतीय सुरक्षाकर्मी र नागरिकले प्रदर्शन गरेपछि सशस्त्र प्रहरीकाे हतियार खाेस्ने भारतीय नागरिकलाई छाडियो 

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७७ जेठ ३१ शनिबार ११:३०:००

सर्लाहीको पर्सा गाउँपालिका–३ स्थित नारायणपुर नाकामा आत्मरक्षाको लागि सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका भारतीयको नागरिककाे शव सीमामा राखेर भारतीय सुरक्षाअधिकारी र स्थानीय भएर रातभर सीमाक्षेत्रमा प्रदर्शन गरेका छन् । सशस्त्र प्रहरीकाे हतियार खाेस्ने भारतीय नागरिकलाई छाडेपछि शनिबार बिहानदेखि प्रदर्शन बन्द भएकाे छ ।

अवैधरुपमा नेपाल प्रवेश गर्न लागेका भारतीयलाई रोक्न खोज्दा शुक्रबार बिहान सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथी आक्रमण भएको थियो । सोही क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका भारतको सितामढी जिल्ला जानकीनगर टोला लालबन्दीका २७ वर्षीय बिकेश कुमार रायको उपचारको क्रममा मृत्यु भएको थियो । सोही घटनालाई लिएर शुक्रबार साँझदेखि भारतीय सुरक्षा अधिकारीहरु र भारतीय नागरिकहरुले दशगजामा शव राखेर प्रदर्शन गरेका थिए। 

नेपाली पक्षले सशस्त्र प्रहरीको बन्दुक खोस्ने भारतीयलाई छाड्ने र भारतीय पक्षले यस घटनालाई अगाडि नबढाउने भद्र सहमती भएको हो । सहमतिअनुसार आक्रमणका क्रममा सीमा क्षेत्रमा खटिएका आफ्ना सुरक्षाकर्मीको हतियार (एसएलआर) खोस्ने भारतीय नागरिक ४५ वर्षीय ललन भन्ने नवलकिशोर राय भारतीय अधिकारीको जिम्मा लगाइएकाे छ । सहमतीपछि दशगजामा मृतकको शव राखेर बसिरहेका भारतीय सुरक्षा अधिकारी र स्थानीय बासिन्दा फिर्ता भएका छन् । 

सशस्त्र प्रहरी स्रोतका अनुसार भारतीय सुरक्षा अधिकारीले दिउँसैदेखि आफ्ना नागरिक छाड्न दबाब दिइरहेका थियाे । दिनदहाडै सीमामा खटिएका सुरक्षाकर्मीमाथि कुटपिटसहित हतियार नै खोस्नेलाई त्यसै छाड्न नसकिने भन्दै नेपाली पक्षले अडान लिइरहेको थियो । कुरा नमिलेपछि भारतीय पक्ष मृतकको शव दशगजा क्षेत्रमा राखेर बसेकाे थियाे । राति अबेर नेपाल र भारतका अधिकारीबीच भएको छलफल पश्चात सहमती भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए । प्रदर्शनमा राखेको शव शनिबार बिहान तीन बजेमात्र मृतकका आफन्तहरुले उठाएर लगेकाे जिसीले जानकारी दिए ।

उनीहरुले शव राखेर किन प्रदर्शन गरे ? के सहमतीमा शव उठाइयो ? भन्नेबारेमा कुनै जानकारी नभएको प्रजिअ जिसीको भनाई छ । ‘मृतकका आफन्तहरुले प्रदर्शनमा राखेको शव भारतीय पक्षसँगकै सहमती पश्चात उठाएको हुन सक्छ,’ प्रजिअ जिसीले भने, ‘हामी रातिदेखि नै घटनास्थलमा थियौँ, हामीसगँ कुनै मागको विषयमा आधिकारिक कुरा भएको छैन् ।’  

शुक्रबार भएकाे घटनामा सशस्त्र प्रहरीका तीन जना र दुई भारतीय नागरिक घाइते भएका थिए । घाइते सशस्त्र प्रहरीहरुको जिल्ला अस्पताल सर्लाहीमा उपचार भइरहेको सशस्त्र प्रहरी १० नम्बर गणका गणपती प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले जानकारी दिए । भारतीय नागरिकहरुको आक्रमणबाट पर्सा गाउँपालिका स्थित संग्रामपुर (बिओपी) बाट नाका सुरक्षामा खटिएका प्रहरी हवल्दार संजय राय, प्रहरी जवान रविन्द्र बैठा र जवान भुपेन्द्र पौडेल घाइते भएका छन् । 

साथै सोही घटनामा भारतको सितामढी जिल्लाको पिप्राप्रसाईन ग्राम पंचायत निवासी १९ वर्षीय उमेश राम र सितामढी जिल्लाको सोेहडवा ग्राम पंचायत बस्ने विन्देश्वर ठाकुरका ३२ वर्षीय छोरा उदय ठाकुर घाइते भएको भारतीय अधिकारीहरुले जानकारी दिएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलको भनाई छ ।