मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
श्रवण थापा सर्लाही
२०७७ जेठ ३१ शनिबार ०३:५५:००
Read Time : > 3 मिनेट
मुख्य समाचार

अवैध रूपमा नेपाल पस्न खोजेका भारतीयद्वारा सर्लाहीमा सशस्त्र प्रहरीमाथि आक्रमण

सशस्त्रको गोलीबाट एक भारतीयको मृत्यु, तीन सशस्त्र प्रहरी र दुईजना भारतीय घाइते

Read Time : > 3 मिनेट
श्रवण थापा, सर्लाही
२०७७ जेठ ३१ शनिबार ०३:५५:००

अवैध रूपमा नेपाल पस्न खोजेका भारतीयलाई रोक्न खोज्दा सर्लाहीको नारायणपुर नाकामा शुक्रबार भएको झडपमा सशस्त्र प्रहरीको गोली लागेर एक भारतीयको मृत्यु भएको छ । झडपमा तीन सशस्त्र प्रहरी र दुई भारतीय घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ । 

पर्सा गाउँपालिका–३ स्थित नारायणपुर पोस्टमा सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि बिहान साढे ९ बजेतिर करिब सयको संख्यामा आएका भारतीयले आक्रमण गरेका थिए । उनीहरूमध्ये अधिकांश सीमावर्ती भारतीय गाउँ टोला–ललबन्दीका व्यापारी थिए । लकडाउनपछि नेपाल–भारत ओहोरदोहोर रोकिएका कारण व्यापारमा समस्या भएको भन्दै उनीहरू जबर्जस्ती नेपाल पस्न खोजेका थिए । भारतबाट दैनिक सामान ल्याएर दिनभरि नेपालमा बेच्ने उनीहरूको व्यापार थियो ।

शुक्रबार सुरुमा २०–२५ जना नेपाल पस्न खोजेका थिए । तर, सशस्त्रले रोकेपछि उनीहरू आक्रमणमा उत्रिए । सशस्त्रको एक थान हतियार पनि खोसे । लगत्तै थप ७०–८० जनाको समूह पनि आएर ढुंगा, इँटा र लाठाले आक्रमण गर्दै लखेट्न थालेपछि सशस्त्रको टोलीले भिड तितरबितर पार्न हवाईफायर गरेको थियो । तर, हवाईफायरबाट थप उत्तेजित भिडले ज्यान जोगाउँदै तीन सय मिटर वर आइसकेको सशस्त्रको टोलीलाई आक्रमण गर्न नछाडेपछि गोली चलाउनुपरेको सर्लाहीका सिडिओ मोहनबहादुर जिसीले बताए । 

गोली लागेर भारत सीतामढी जिल्लाको जानकीनगर टोला–ललबन्दी बस्ने २७ वर्षीय बिकेसकुमार रायको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् । त्यस्तै, ललबन्दीकै १९ वर्षीय उमेश राम र रोहडवा ग्राम पञ्चायत बस्ने ३२ वर्षीय उदय ठाकुर घाइते भएका छन् । उमेशको हातमा र उदयको दायाँ खुट्टामा गोली लागेको छ । दुवैजनाको सीतामढीमा उपचार भइरहेको भारतीय अधिकारीले जनाएका छन् ।

भारतीयको आक्रमणबाट सशस्त्रका हवल्दार सञ्जय राय तथा जवानद्वय रवीन्द्र बैठा र भूपेन्द्र पौडेल घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको छ । भारतीयले बैठासँग भएको हतियार खोसेको थिए । पौडेलको बर्दी च्यातेर कुटपिट गरिएको छ । ‘हामीहरूले त बाँच्ने आस मारिसकेका थियौँ । गोली नचलाएको भए उनीहरूले हामीलाई कुटीकुटी मार्थे । उनीहरूको भिड देख्दा गोली चलाएर पनि भाग्न नसक्ने अवस्था थियो,’ घाइते हवल्दार रायले भने ।

सशस्त्रको संग्रामपुरस्थित बोर्डर आउट पोस्ट (बिओपी)बाट नारायणपुर पोस्टमा सधैँ असइको नेतृत्वमा सातजनाको टोली खटिने गरेको थियो । तर, शुक्रबार हवल्दार सञ्जय रायको नेतृत्वमा टोली खटिएको थियो । झन्डै सयको संख्यामा आएका भारतीयको समूहले आक्रमण गर्न थालेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको सशस्त्रको १० नम्बर गण कविलासीका एसपी गंगाराम श्रेष्ठले बताए । उनका अनुसार सशस्त्रले १० राउन्ड हवाईफायर र पाँच राउन्ड गोली चलाएको छ । हतियार खोस्ने भारतीय नागरिक नवलकिशोर रायलाई पक्राउ गरी हतियार फिर्ता लिएको एसपी श्रेष्ठले बताए । उनी अहिले प्रहरी हिरासतमा छन् ।

यसअघि १८ जेठमा पनि जिल्लाको विष्णु गाउँपालिका–२ पकडीस्थित फेनहरा नाकामा खटिएका सशस्त्र प्रहरीमाथि ठूलो संख्यामा आएका भारतीय व्यापारीहरूले आक्रमणको प्रयास गरेका थिए । त्यतिखेर पनि उनीहरूले सशस्त्रको हतियार खोस्ने प्रयास गरेका थिए । तर, सशस्त्रले हवाईफायर गरेर भिड तितरबितर बनाएको थियो । 

गोली नचलाएको भए हामीलाई कुटीकुटी मार्थे : घाइते सशस्त्र प्रहरी हवल्दार सञ्जय राय

सधैँजस्तै संग्रामपुर बिओपीबाट नारायणपुर नाकाको सुरक्षाका लागि मलगायत सातजनाको टोली तैनाथ भएको थियो । लकडाउनपछि हामी आफैँले निर्माण गरेको बाँस र त्रिपालको अस्थायी सुरक्षा पोस्टमा म र जवान रवीन्द्र बैठा खटियौँ । जवान भूपेन्द्र पौडेल मोटरसाइकलमा पेट्रोलिङ गर्न खटिए । बाँकी चारजनामध्ये दुईजना पोस्टको दायाँपट्टि र दुईजना बायाँपट्टि करिब तीन सय मिटरको दूरीमा आँखाले देखिने गरी खटिएका थियौँ । 

हामी खटिएको नाकाको ठीक दक्षिणतिर भारतको सीतामढी जिल्लाको जानकीनगर टोला–ललबन्दी गाउँ छ । भारतीय सीमा क्षेत्रमा एसएसबीका जवान तैनाथ थिए । लकडाउनयता यो सीमा क्षेत्रबाट कोही पनि नेपाल प्रवेश गर्न पाएका थिएनन्, दुवैतर्फबाट ओहोरदोहोर बन्द गरिएको थियो । नेपाली मोबाइलको नेटवर्कले पनि त्यो क्षेत्रमा राम्ररी काम गर्दैन । 

शुक्रबार बिहान साढे ९ बजेतिर एक्कासि २०–२५ जना भारतीयको टोली हाम्रो पोस्ट भएतर्फ आउँदै गरेको देखियो, हामी सतर्क भयौँ । उनीहरू सरासर हाम्रो पोस्टनजिकै आए, उनीहरू आउँदा एसएसबीले नदेखेझैँ ग¥यो । हामीले उनीहरूलाई रोकेर सोधपुछ गर्दा ‘नेपाल जान लागेको’ भने । हामीले ‘लकडाउन छ, अहिले यसरी ओहोरदोहोर गर्न पाइँदैन’ भन्यौँ । तर, उनीहरू हामी दुईजनालाई उल्टै हकार्दै ‘हामीले वर्षौँदेखि व्यापार गरिरहेको ठाउँ हो यो, किन जान नपाउने, हामी जान्छौँ’ भन्न थाले । रोक्न खोजेपछि हामी दुईजनामाथि जाइलागे, कुटपिटमा उत्रिए । 

यो सबै पेट्रोलिङमा रहेका जवान भूपेन्द्र पौडेलले देखेपछि उनी पनि आए । तर, उनलाई पनि कुटपिट गरे, बर्दी च्यातियो । त्यतिन्जेलसम्म मसँगै पोस्टमा खटिएका जवान रवीन्द्र बैठाको त हतियारसमेत खोसिसकेका रहेछन् । हेर्दादेर्दै भारततिरबाट थप ७०–८० जनाको अर्को समूह पनि हामीतर्फ आउँदै गरेको देख्यौँ । त्यसपछि हामी ज्यान जोगाउँदै नेपालतर्फ भाग्न थाल्यौँ । हामीहरू सातैजना सँगै भइसकेका थियौँ । तर, भारतीयहरू घेरा हाल्दै हामीलाई लखेटिरहेका थिए । 

करिब तीन सय मिटर वर आइसकेपछि भिड तितरबितर गर्न हामीले १० राउन्ड हवाईफायर गर्र्यौ। तर, उनीहरू तितरबितर हुनुको सट्टा थप उत्तेजित भएर ताली बजाउँदै हामीमाथि ढुंगा, इँटा र लाठाले आक्रमण गर्न थाले । लाग्यो, अब यिनीहरूले हामीलाई बाँकी राख्दैनन् । खेत र नजिकको जंगलमा उनीहरू मात्र देखिन्थे । त्यसपछि ज्यान जोगाउन पाँच राउन्ड गोली चलायौँ । तीनजनालाई गोली लाग्यो । त्यसपछि उनीहरू घाइतेलाई घिसार्दै भारततर्फ भागे ।

त्यही मौकामा हाम्रो हतियार बोकेर भाग्दै गरेका नवलकिशोर रायलाई नियन्त्रणमा लिएर हतियार खोस्न सफल भयौँ । केही मिनेटमा भएको यो घटना अझै सपनाजस्तै लागिरहेको छ । हामीहरूले त बाँच्ने आस मारिसकेका थियौँ । गोली नचलाएको भए उनीहरूले हामीलाई कुटीकुटी मार्थे । उनीहरूको भिड देख्दा गोली चलाएर पनि भाग्न नसक्ने अवस्था थियो । तर, गोली तथा हवाईफायरको आवाज सुनेर नेपालबाट समेत स्थानीय जम्मा भएपछि भने उनीहरू भारततर्फ भागे । धन्न बाँचियो । 

सीमा क्षेत्रका तस्करहरूको टाउको दुखाइ 

सीमा क्षेत्रका तस्करहरूका लागि सशस्त्र प्रहरी टाउको दुखाइको विषय बनेको छ । वर्षौँदेखि सामान तस्करी गर्दै आएका भारतीय तस्करलाई लकडाउनका कारण सीमा क्षेत्रकोे आवागमनमा लगाएको रोक चित्त बुझेको छैन । 

अधिकांश सीमा क्षेत्रका भारतीय बजारको व्यापार नेपालीका कारण हुने गरेको छ । लकडाउनले त्यसमा प्रत्यक्ष प्रभाव पारेको छ । अर्कोतर्फ भारतबाट नेपालतर्फ सामान तस्करी गर्नेसमेत समस्यामा परेका छन् । तस्करी गर्न नपाएकै कारण उनीहरूले बारम्बार सशस्त्र प्रहरीलाई तारो बनाएको सशस्त्र प्रहरीका एसपी गंगाराम श्रेष्ठले बताए ।

लकडाउनपछि सशस्त्रले सीमामा कडाइ गरेपछि भारतीयहरू आक्रोशित बन्दै गएको पर्सा गाउँपालिका–३ नारायणपुरका दिलीपकुमार साहले बताए । ‘उनीहरूको दैनिक सामान ओसार्ने, पैसा कमाउने धन्दा सबै बन्द छ । भारतीयहरू जसरी भए पनि सशस्त्रलाई सीमाबाट लखेट्न चाहन्छन्,’ उनले भने । 

भारतीय नागरिकले वेलावेलामा नेपालतर्फ आएर दुःख दिने गरेको स्थानीय बताउँछन् । विनाकारण नेपालीलाई कुटपिट गर्ने गरेको स्थानीय सुनीता रामले बताइन् । ‘भारततिरका मान्छे साह्रै बदमास छन् । कैयन्पटक हाम्रो गाउँमै आएर कुटपिट गर्ने, धम्क्याउने गरेका छन्,’ उनले भनिन्, ‘बन्दुक बोकेर आउँछन्, हामी केही गर्न सक्दैनौँ ।’