१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ जेठ ३० शुक्रबार १६:२७:००
Read Time : > 2 मिनेट
समाचार

रानीपोखरी पुनर्निर्माण तीव्र गतिमा, पोखरी भर्न झन्डै साढे तीन करोड लिटर  पानी चाहिने

Read Time : > 2 मिनेट
२०७७ जेठ ३० शुक्रबार १६:२७:००

रानीपोखरी पुनर्निर्माणको काम लकडाउनका बीच पनि चलिरहेको छ । 

कोरोना भाइरस महामारीको कारण बीचमा केही समय रोकिएको रानीपोखरी पुनर्निर्माणको कामले महामारीकै बीचमा पनि गति पाएको छ । 

भूकम्पपछि पुनर्निर्माण कार्य सुरु गरिएको रानीपोखरीको काम पटकपटक विभिन्न कारणले गर्दा अहिलेसम्म सम्पन्न हुन सकेको छैन । 

पुनर्निर्माणको काम छिटो सकेर गत १२ वैशाखमा रानीपोखरीको उद्घाटन गर्ने भनिए पनि कोरोना भाइरसबाट उत्पन्न समस्या कारण निर्माण कार्य रोकिनुका साथै उद्घाटन समेतपछि  पर थकेलिएको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका तर्फबाट जिम्मा पाएका सम्पदाविद् राजु मालन्धरका अनुसार  यतिवेला रानीपोखरीमा पानी जमाउनका लागि माटो र इँटा छाप्ने काम तीव्र गतिमा भइरहेको छ । 

माटोको छाप्ने काम सकिएपछि रानीपोखरीमा पानीको जोहो हुने उनले बताए ।

यसरी जुटाइनेछ पानीकाे स्रोत 
पुनर्निर्माण प्राधिकरणले रानीपोखरीमा निरन्तर पानीलाई जोगाइराख्नका लागि चारवटा पानीको  स्रोतको  व्यवस्था गरेको छ ।

पहिलो स्रोतका लागि रानीपोखरीको दुईवटा कुनामा बोरिङ खनिएको छ । खनिएको बोरिङको काम लगभग अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ । 

दोस्रो स्रोतका रूपमा आकाशको पानी जम्मा गर्न छुट्टै ट्यांकीसमेत निर्माण गरिएको छ । आकाशबाट वर्षा भएको पानी जम्मा गरी आवश्यक परेको वेलामा प्रयोग गरिने जनाइएको छ । 

त्यसैगरी तेस्रोे स्रोतका रुपमा टुँडिखेल भित्रको इनारबाट पनि पानी ल्याइने छ । 

टुँडिखेलमा भूकम्प जानुअघि एउटा इनार खनिएको थियो । उक्त इनार विशेषगरी असन र इन्द्रचोकमा पानी पूर्ति गर्ने उद्देश्यले खनिएको थियो । सोही टुँडिखेलको इनारबाट विगतमा रानीपोखरीमा पानी सुक्दा पनि प्रयोग गरिएको मानन्धर बताउँछन् । 

चौथाे स्रोतमा मेलम्चीबाट आउने खानेपानी जोड्ने प्राधिकरणले तयारी थालेको छ । मेलम्चीको पानी आएको खण्डमा रानी पोखरीमा पनि जोड्ने मालन्धरले बताए । 

रानीपोखरीमा पानीको  सतह र माटोमा पानी कत्तिको रहन्छ भन्ने परीक्षणका लागि पोखरीको छेउमा हाल नमुना पोखरीको निर्माणसमेत गरिएको छ । 

पोखरीमा  पानीको  हालिसकेपछि नमुना पोखरीलाई भत्काइनेछ ।

तीन करोड लिटर पानीको  जोहो
रानीपोखरीमा पानी भर्नका लागि कति पानीको आवश्यक पर्ला ? यसका लागि  प्राधिकरणले  अनुमानित रानीपोखरीमा लाग्ने पानीको  निष्कर्ष निकालेको छ । 

सम्पदाविद् राजु मालन्धरका अनुसार रानीपोखरीमा पानी भर्नका लागि तीन करोड ४० लाख  लिटर पानीको आवश्यक पर्ने बताउँछन् ।

पोखरीमा पहिलोपटक सम्पूर्ण रूपमा पानी भर्नका लागि यति पानी लाग्ने भएको  हो । मालन्धर भन्छन्, ‘यो काठमाडौंको ठाउँमा चुनौती पक्कै छ, पहिलोपटक केही चुनौती भए पनि पछि विभिन्न स्रोतमार्फत पानी भर्न सकिन्छ ।’

तीन चरणमा पोखरीको निर्माण कार्य 
पहिलो चरणमा पोखरीको निर्माण, दोस्रो चरणमा बाल गोपालेश्वर मन्दिर र तेस्रो चरणमा रानीपोखरीभित्रको सौन्दर्यीकरण गरी तीन चरणमा रानीपोखरी पुनर्निर्माण हुँदै छ । 

पोखरीभित्र कालोमाटो भर्ने र इँटा छाप्ने कामले पनि गति लिएको छ । 

विगतमा जस्तो पानीको फोहोरा फाल्दा जमिनमुनिबाट बालुवा निस्किन नदिन र पानी सोस्न नदिन कालोमाटो र इँटाको प्रयोग गरिएको राजु मानन्धर बताउँछन् ।

त्यस्तै विगतमा झैँ पानीको फोहोरा फाल्ने ‘वाटर फाउन्टेन’ भने रानीपोखरीमा नराखिने भएको छ । तर, यसको साटो नयाँ प्रयोग गरिने भएको छ । 

विगतमा राखिएका यस्ता १४ वटा फाउन्टेनले बालुवासमेत निकालेपछि यसलाई पुनर्निर्माणका क्रममा नराखिएको मानन्धरले प्रस्ट्याए । 

फाउन्टेनको सट्टामा अरू कुनै आकर्षक वस्तु राखिने तयारीमा रहेको  मालन्धरले बताए ।

गत चैतमै रानीपोखरीको निर्माणको काम सकी भूकम्पको स्मृतिको दिन पारेर १२ वैशाखमा उद्घाटन गर्ने प्राधिकरणको तयारी रहेको थियो । 

कोरोना भाइरस त्रासपछि रोकिएको निर्माण कार्य पछिल्लो समयमा तीव्रताका साथ अघि बढाइएको छ ।