मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका जिल्ला ब्युरो र राजनीतिक ब्युरोको रिपोर्ट काठमाडौं
२०७७ जेठ ३० शुक्रबार ०४:४४:००
Read Time : > 11 मिनेट
मुख्य समाचार

सामाजिक सञ्जालबाट सडकमा युवा : ‘मृत्युअघि नै चाहियो पिसिआर, स्वास्थ्य सामग्रीमा किन भ्रष्टाचार ?’

Read Time : > 11 मिनेट
नयाँ पत्रिका जिल्ला ब्युरो र राजनीतिक ब्युरोको रिपोर्ट काठमाडौं
२०७७ जेठ ३० शुक्रबार ०४:४४:००

मृतक १६ मध्ये १३ जनाको पिसिआर रिपोर्ट मृत्युपछि, ३३ हजार ६४६ नमुना प्रयोगशालामा पेन्डिङ

लगातार ८० दिन लकडाउन गर्दा पनि कोरोना रोकथाम र उपचारमा सरकारले प्रभावकारी काम नगरेको भन्दै नागरिक सडकमा उत्रिएका छन् । कुनै राजनीतिक दलको ब्यानरविना देशभर एकैपटक नागरिकले सरकारको कमजोर नीति र तयारीप्रति आक्रोश पोखेका छन् ।

लकडाउन खुकुलो भएकै दिन हजारौँ युवाले प्रधानमन्त्री निवासबाहिर प्रदर्शन गरेका छन् । राजधानीबाहिर पनि सबै प्रमुख सहरमा नागरिक शान्तिपूर्ण विरोधमा उत्रिएका छन् । कोरोना परीक्षणलाई नियन्त्रित गरेर संक्रमणलाई अनियन्त्रित बनाएको भन्दै प्रदर्शनकारीले सरकारको विरोध गरेका छन् । 

क्वारेन्टाइनका नाममा नागरिकलाई अमानवीय रूपमा राखिएको र उनीहरूको पिसिआर परीक्षण नगरिएकोमा नागरिकको विरोध छ । तर, स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै नागरिकले सरकारसँग खर्चको हिसाब पनि मागेका छन् । 

माघमा प्रक्रिया सुरु गरे पनि सरकारले दुई महिनासम्म निर्णय नगरी सो प्रक्रिया रद्द गरेर अचानक नयाँ प्रक्रियाबाट ११ चैतमा स्वास्थ्य सामग्री खरिदको ठेक्का दिएको थियो । तर, अपारदर्शी रूपले ठेक्का दिएर भ्रष्टाचार भएको प्रश्न उठेपछि सरकारले तत्कालै ओम्नीसँगको ठेक्का रद्द गरेको थियो । 

ठेक्का रद्द भएपछि अर्को पारदर्शी कदम अघि बढाउनुको सट्टा सरकारले स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिएको थियो । महामारीको वेला दुई महिना लगाएर सेनाले ल्याएको स्वास्थ्य सामग्रीको मूल्यमा पनि प्रश्न उठेको छ । सामान्य अवस्थामा नेपाली बजारमा १० रुपैयाँमा पाइने सर्जिकल मास्क सरकारले ओम्नीसँग ३५ रुपैयाँमा किनेको थियो । यस्तो खरिद भ्रष्टाचार हो भनेर नागरिकले आवाज उठाएपछि सस्तोमा ल्याउने जिम्मा लिएको सेनाले एउटा सर्जिकल मास्कमा ५२ रुपैयाँ ५२ पैसा खर्च भएको विवरण प्रस्तुत गरेको छ । जब कि ओम्नीको ठेक्का रद्द भएपछि र सेनाले सामग्री ल्याउनुअघि स्वास्थ्य सेवा विभागले सर्जिकल मास्क १५ रुपैयाँमा किनेको थियो । यसरी एउटा मास्कमा ३७ रुपैयाँ ५२ पैसाका दरले महँगो पारेर ७० लाख मास्क खरिद गरिएको छ । 

यसरी एकातिर खर्च अपारदर्शी भएको र अर्कोतिर पर्याप्त मात्रमा पिसिआर परीक्षण नगरेर नागरिकको स्वास्थ्यमाथि खेलबाड भएको भन्दै नागरिक सडकमा उत्रिएका हुन् । तर, सरकार भने जनताको आवाज दबाउने प्रयासमा लागेको छ । राजधानीमा बिहीबार भएको प्रदर्शनमा प्रहरीले दमन गरेको छ । प्रदर्शनकारीमाथि पानीको फोहोरा मात्र होइन, लाठी पनि प्रहार भएको छ । तर, बालुवाटारमा प्रदर्शनकारीमाथि दमन भएलगत्तै न्युरोडमा अर्को प्रदर्शन भएको थियो । 

अब प्रदर्शन गरे जरिवाना तिराउने र थुनामा राख्ने चेतावनी गृह मन्त्रालयले दिएको छ । संक्रामक रोग नियन्त्रण ऐनअनुसार प्रदर्शनकारीलाई सरकारले एक सयदेखि ६ सयसम्म जरिवाना र एक महिनादेखि ६ महिनासम्म थुनामा राख्‍ने गरी कारबाही गर्न सक्ने प्रावधान रहेको व्यहोरा गृहले स्मरण गराएको छ । 

मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय र मातहत सुरक्षा निकायहरूलाई लकडाउन उल्लंघन गर्ने, संक्रमणको जोखिम बढाउने र सामाजिक सद्भाव खलबल्याउने गरी कुनै पनि गतिविधि गर्न नदिन निर्देशन दिएको छ । 

मन्त्रालयले कानुन उल्लंघन गर्ने, संक्रमणको जोखिम बढाउने र सामाजिक सञ्जालमार्फत मानिसलाई भड्काउन संगठित हुने गतिविधि कसैलाई पनि गर्न नदिन प्रस्ट पार्दै यसका लागि प्रभावकारी कदम चाल्न प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएको छ । काठमाडौंमा प्रदर्शनकारीमाथि भएको धरपकडसँगै सरकारको सम्भावित कदम पनि सतहमा आएको छ । 

नागरिकको स्वतस्फुर्त प्रदर्शनले दलका नेताहरूको पनि ध्यानाकृष्ट गरेको छ । सत्तारुढ दलका वरिष्ठ नेता झलनाथ खनाल सरकारले जनताको असन्तुष्टि र आक्रोश तत्कालै सुन्नुपर्ने बताउँछन् । ‘पहिलो कुरा सरकारको कामबाट जनता सन्तुष्ट हुन सकिरहेका छैनन्, जनताभित्र असन्तोष, विरोध र आक्रोश बढ्दै गएको छ । जनताभित्र गुम्सिरहेको असन्तुष्टि प्रकट हुन थालेको छ । जनताको आक्रोश जुलुस र नाराबाट प्रकट हुन थालेकोे छ । जनताको यो अभिव्यक्तिलाई एउटा लोकतान्त्रिक सरकारले अत्यन्त गम्भीरतापूर्वक लिनुपर्छ,’ खनालले नयाँ पत्रिकासँग भने, ‘जनताको आवाज समयमै सम्बोधन गर्न बुद्धिमतापूर्वक प्रयत्न अघि बढाउनुपर्छ । सम्बोधन गरिएन भने त्यसले विस्फोटको रूप लिन्छ भन्ने समयमै बुझ्नुपर्छ । आवश्यकता परे छानबिन पनि गर्नुपर्छ र सत्यतथ्य कुरा के हो जनताको बीचमा आउनुपर्छ ।’ 

कोरोनाविरुद्धको लडाइँमा सरकारको असफलताले जनतालाई सडकमा जान बाध्य बनाएको कांग्रेसको ठहर छ । कांगे्रस नेता कृष्णप्रसाद सिटौलाले जनताको माग हल गर्न सरकारलाई सुझाब दिए । ‘जनतामा धेरै गुनासो छ । त्यसैले स्वतस्फुर्त जनता सडकमा आएका हुन् । यस्ता प्रदर्शन राज्यले दमन गरेर दब्दैन,’ सिटौलाले भने, ‘सरकार असफल भएकाले नै देशैभर एकैपटक प्रदर्शन भएको हो । अब सरकारले दमनबाट होइन, माग सम्बोधन गर्नुपर्छ । सरकारले जनतालाई दमन गर्ने होइन, हामी साथमा छौँ भन्ने हो । सरकारले सुध्रिएर पारदर्शी र जवाफदेही भएर काम गर्नु नै समाधानको उत्तम उपाय हो ।’ 

तर, सरकारले भने अहिलेको विरोधमा कुनै तुक देखेको छैन । कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले भनिन्, ‘सरकारले जनताको चासो सुनिरहेको छ । त्यसैले मन्त्रिपरिषद्बाट निर्णय गरिसकेको छ । पिसिआर परीक्षणको दायरा वृद्धि गर्ने, देशभरका क्वारेन्टाइनहरूको स्तर वृद्धि गर्ने भनिसकेको छ । आरडिटी भनेको त प्रारम्भिक परीक्षण गर्ने भनिएको मात्र हो, त्यो अन्तिम परीक्षण होइन । आरडिटी टेस्ट गरेर पिसिआर नगरेको भए अहिले उठेका कुरा जायज हुन्थ्यो । त्यसैले अहिलेको विरोधको तुक छैन ।’ 

देशभर उठेको असन्तुष्टिबारे नेकपा वरिष्ठ नेता झलनाथ खनाल भन्छन्– लोकतान्त्रिक सरकारले जनताका आवाज सुन्नुपर्छ

पहिलो कुरा सरकारको कामबाट जनता सन्तुष्ट हुन सकिरहेका छैनन्, जनताभित्र असन्तोष, विरोध र आक्रोश बढ्दै गएको छ ।

जनताभित्र गुम्सिरहेको असन्तुष्टि प्रकट हुन थालेको छ । जनताको आक्रोश जुलुस र नाराबाट प्रकट हुन थालेकोे छ ।जनताको यो अभिव्यक्तिलाई एउटा लोकतान्त्रिक सरकारले अत्यन्त गम्भीरतापूर्वक लिनुपर्छ ।

जनताको आवाज समयमै सम्बोधन गर्न बुद्धिमतापूर्वक प्रयत्न अघि बढाउनुपर्छ । सम्बोधन गरिएन भने त्यसले विस्फोटको रूप लिन्छ भन्ने समयमै बुझ्नुपर्छ ।

आवश्यकता परे छानबिन पनि गर्नुपर्छ र सत्यतथ्य कुरा के हो जनताको बीचमा आउनुपर्छ ।

अहिलेसम्म पार्टी बैठक नराखिएकाले नेकपाले पार्टीका रूपमा कुनै पनि विषयमा आफ्नो मत जाहेर गर्न पाएको छैन ।

त्यो मत जाहेर गर्नका लागि बैठकहरू हुन अनिवार्य छ । अहिले मैले भनेका कुरा सबै व्यक्तिगत विचार मात्र हुन् । 

कांग्रेस नेता सिटौला भन्छन्– जनताको आवाज दमनले दब्दैन, सरकार सुध्रनुपर्छ

कोरोना महामारी रोकथाममा सरकारले ठीक व्यवस्थापन दिन सकेन । क्वारेन्टाइन, पिसिआर परीक्षण, बिरामीको उपचार र अस्पतालको राम्रो व्यवस्था भएन ।

राहत वितरण प्रभावकारी र निष्पक्ष भएन । राहत वितरणमा एकद्वार पद्धति भनेपछि इच्छुकले पनि वितरण र सहयोग गर्न पाएनन् । अन्य बिरामीले पनि उपचार पाएनन् । कतिपय ठाउँमा गम्भीर बिरामी सडकमै मर्ने अवस्था आयो । सरकार गम्भीर जवाफदेही बन्नुपर्ने हो । तर, स्वास्थ्य सामग्री खरिद गर्दा कमिसन र भ्रष्टाचारको विषय बाहिर आए । सरकारले उचित जवाफ दिन सकेन, सकेको छैन । यस्ता विषयमा जनताले सन्तोष मान्ने अवस्था छैन ।

हामीले ध्यानाकर्षण पनि गराएका थियौँ । संसद्मा पनि आवाज उठाउँदै आएका छौँ ।श्रमिकको अवस्था अत्यन्त नाजुक छ ।

उद्धार गर्ने नाममा विकृति र कमिसनको खेलमा सरकार नै लागेको छ ।यस्ता कुरामा जनतामा गुनासो धेरै छन् । त्यसैले स्वतस्फुर्त जनता सडकमा आएका हुन् । सरकार असफल भएकाले नै देशैभर एकैपटक प्रदर्शन भएको हो । अ

ब सरकारले दमनबाट होइन, माग सम्बोधन गर्नुपर्छ । सरकारले जनतालाई दमन गर्ने होइन, हामी साथमा छौँ भन्ने हो ।

सरकारले सुध्रिएर पारदर्शी र जवाफदेही भएर काम गर्नु नै समाधानको उत्तम उपाय हो ।

तर, कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फे भन्छिन्– सरकारले माग सम्बोधन गरिसकेको छ, विरोधको तुक छैन

सरकारले जनताको चासो सुनिरहेको छ । त्यसैले मन्त्रिपरिषद्बाट निर्णय गरिसकेको छ । पिसिआर परीक्षणको दायरा वृद्धि गर्ने, देशभरका क्वारेन्टाइनहरूको स्तर वृद्धि गर्ने भनिसकेको छ ।

आरडिटी भनेको त प्रारम्भिक परीक्षण गर्ने भनिएको मात्र हो, त्यो अन्तिम परीक्षण होइन । आरडिटी टेस्ट गरेर पिसिआर नगरेको भए अहिले उठेका कुरा जायज हुन्थ्यो । त्यसैले अहिलेको विरोधको तुक छैन ।

यति हुँदाहुँदै पनि किन सडकमा मान्छे आए भन्ने कुरातिर मैले ध्यान दिएको छैन । निस्किनु एउटा कुरा हो, तर कसले के गर्न खोजिरहेको छ, को निस्किए, किन निस्किए मलाई थाहा छैन ।

बाहिर निस्किनेहरूले आरडिटी टेस्ट बन्द गर भन्नु उचित हुन्छ कि हुन्न बुझ्नुप¥यो । मिडियामा हेर्दाखेरि बाहिर निस्किनेहरूले फिटिक्कै सोसल डिस्टेन्समा ध्यान दिएको देखिँदैन । त्यो विषयमा नागरिक आफैँले ध्यान दिने हो । 

सरकारले गरेको खर्च कसले लुकाएर राखेको छ ? सरकारले सार्वजनिक गरेर पारदर्शी प्रक्रिया नै अपनाएको छ ।

यदि अहिलेको अवस्थामा पनि कसैले घोटाला नै गरेछ भने पनि के हामीसँग अख्तियार छैन ? उसले सबै छानबिन गरिहाल्छ । कि फलानोले यति, यसरी ग¥यो भनेर तथ्य प्रमाणसहित नै आउनुप¥यो । किनभने हामीले प्रमाणविना बोल्न मिल्दैन ।

होइन भने सरकारले, हामीले त्यस्तो गरिएको पाइए जोकोहीलाई कानुनी कारबाही गर्छौँ भनेकै छ । छुटकारा दिएको भए अहिले उठेका कुरा जायज हुन पनि सक्थ्यो । यद्यपि, यस्ता कुराहरू पारदर्शी हुनुपर्छ भन्ने जनताको आवाजचाहिँ स्वाभाविक छ । 

देशभर प्रर्दशनका तस्बिरहरु :

बारा 

पर्सा

महोत्तरी

विराटनगर

पोखरा

जसले कोरोना लागेको पत्तै नपाई ज्यान गुमाए

कोरोनाको रिपोर्ट नहुँदा अस्पतालले भर्ना गरेन, घर फर्किंदा बाटोमै मृत्यु

अर्घाखाँची- क्वारेन्टाइनमा बस्दा बिरामी भएपछि अस्पताल भर्ना हुन गएका अर्घाखाँचीका एकजनाको बुधबार बाटोमै मृत्यु भएको छ । अस्पतालले भर्ना नगरेपछि क्वारेन्टाइनमा फर्किंदा मृत्यु भएका ५७ वर्षीयलाई कोरोना संक्रमण भएको बिहीबार रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय विकले बताए । 

१५ जेठमा भारतको मुम्बईबाट आएका उनी मालारानी गाउँपालिका– ४ को क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनमा बसेको एक सातापछि छाती दुख्ने, सास फेर्न गाह्रो हुने समस्या देखिएको थियो । त्यसपछि उनको कोरोना परीक्षणका लागि २३ जेठमा स्वाब संकलन गरेर भैरहवा प्रादेशिक अस्पताल पठाएको थियो । 

एक सातासम्म रिपोर्ट नआएपछि उनी २७ जेठमा उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क गएका थिए । जिल्ला अस्पतालले प्रादेशिक अस्पताल बुटवल रिफर गरेको थियो । त्यही दिन बुटवल पुगेका उनलाई अस्पतालले भर्ना गरेन । कोरोनाको रिपोर्ट आएपछि मात्रै भर्ना गर्ने भन्दै अस्पतालले भर्ना नगरेको उनका छोराले बताए । 

  • शव पौवामा राखेर पिसिआर रिपोर्ट पर्खदै अर्घाखाँचीको मालारानी गाउँपालिकाका स्थानीय

अस्पतालले भर्ना नगरेपछि उनी २८ जेठमा औषधि बोकेर फेरि क्वारेन्टाइनतर्फ फर्केका थिए । तर, क्वारेन्टाइनमा नपुग्दै बुधबार साँझ उनको बाटोमै मृत्यु भएको छ । 

यसअघि प्रादेशिक अस्पताल पठाएको उनको स्वाबको नमुना पनि हराएको खबर आयो । त्यसपछि पुनः मृत्यु भएपछि बुधबार स्वाब संकलन गरिएको मालारानी स्वास्थ्य संयोजक भविश्वर खनालले बताए । उनका आफन्त दुई दिन उनको शवलाई चौरमा राखेर बसेका थिए । 

बिहीबार कोरोनाको रिपोर्ट आएको छ । उनलाई कोरोना संक्रमण भएको रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विकले बताए ।

यसअघि पनि अर्घाखाँचीका ३७ वर्षीय युवकको मृत्यु भएपछि मात्रै कोरोना पुष्टि भएको थियो । भारतबाट फर्केका युवकको १० जेठमा कपिलवस्तुको कृष्णनगरनजिक बसभित्रै मृत्यु भएको थियो । उनको कपिलवस्तुमै स्वाब संकलन गरिएको थियो । 

उनको शव कपिलवस्तुबाट अर्घाखाँची ल्याएर अन्त्येष्टि गरिएको थियो । अन्त्येष्टि गरेको ६ दिनपछि कोरोना संक्रमण भएको रिपोर्ट आयो । त्यसपछि अन्त्येष्टिमा सहभागी सबैको कोरोना परीक्षण गरियो । उनको सम्पर्कमा आएका एकजना उपप्रमुखसहित ३१ जनालाई कोरोना देखिएको छ । उनीहरू सबैको अहिले आइसोलेसनमा राखेर उपचार भइरहेको छ । 

अन्तिम संस्कारपछि कोरोना भएको रिपोर्ट, सम्पर्कमा आएकाको एक सातासम्म स्वाब संकलन भएन 

धनगढी- सेती प्रादेशिक अस्पतालको डायलाइसिस सेन्टरमा डायलाइसिस गराउने क्रममा २३ जेठमा धनगढी उपमहानगरपालिका–४ की ५५ वर्षीयाको मृत्यु भयो । त्यो दिन ढिलाइ भएकाले अर्को दिन बिहान अन्तिम संस्कार गरे । ६१ जना मलामी घर फर्केपछि २४ गते दिउँसो कोरोना संक्रमण भएको रिपोर्ट आयो । 

कन्ट्याक्ट टे«सिङको टोलीमा सहभागी धनगढी उपमहानगरमा कार्यरत हेल्थ असिस्टेन्ट भूपेन्द्र महराका अनुसार मलामीमध्ये २० जना प्रत्यक्ष शवको सम्पर्कमा रहेको देखिएको छ । परिवारका सदस्य र मलामीको थ्रोट स्वाबको नमुना अहिले पनि संकलन हुन सकेको छैन । प्रयोगशालामै जाँच हुन बाँकी थ्रोट स्वाबका नमुनाको चाप रहेकाले संकलन हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले बताए । ‘अहिले प्रयोगशालामा नमुनाको चाप बढी छ, त्यही भएर मृतक महिलाको सम्पर्कमा रहेकाहरूको स्वाब संकलन हुन नसकेको हो । भिटिएमको पनि अभाव छ,’ धामीले भने, ‘शवको सम्पर्कमा रहेकाहरूलाई पिसिआर जाँच नभएसम्म होम क्वारेन्टाइनमै बस्न आग्रह गरेका छौँ ।’ मिर्गौला रोगबाट पीडित ती महिलाको डायलाइसिस गर्नुअघि आरडिटी जाँच गर्दा एन्टिबडी नेगेटिभ देखिएको थियो ।

यस्तै बाजुरामा १८ जेठमा कोरोनाको आशंकामा आइसोलेसनमा राखिएकी दुई वर्षीया बालिकाको मृत्यु भयो । मृत्यु भएको एक दिनपछि मात्रै बालिकामा कोरोना रहेको पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि नेपाली सेनाको टिमले सुरक्षित तरिकाले शवको अन्त्येष्टि गरेको थियो । मृतक बालिका आमाबुबासँगै भारतबाट फर्केकी थिइन् । उनकी आमामा पनि संक्रमण देखिएको छ ।

सुदूरपश्चिममा हालसम्म आठ हजार दुई सय ५२ जनाको थ्रोट स्वाबको नमुना जाँच गरिएकोमा एक सय ८८ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका अनुसार एक हजार ६ सय ७२ वटा थ्रोट स्वाबका नमुना जाँच हुन बाँकी छ । प्रदेशभर सेती प्रादेशिक अस्पतालमातहतको प्रयोगशालामा मात्रै पिसिआर जाँचको सुविधा छ । प्रयोगशालामा दैनिक साढे दुई सय नमुना जाँच हुने गरेको छ । थ्रोट स्वाबको नमुना थुप्रिएर भण्डारण गर्न समस्या भएपछि पाँच दिनदेखि थ्रोट स्वाबको नमुना संकलन नै रोकिएको छ । प्रदेशभर एउटै प्रयोगशाला भएकाले नमुनाहरू थुप्रिन थालेपछि स्वाब संकलन रोक्नुपरेको प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताएका छन् । 

थ्रोट स्वाबको जाँच सुस्त हुँदा कोरोनाको लक्षण देखिएका र आरडिटी पोजेटिभ देखिएकाहरूको पिसिआर जाँच हुन सकेको छैन । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आरडिटी पोजेटिभ देखिएका ढेड हजारभन्दा बढीको पिसिआर जाँच हुन बाँकी रहेको छ । कोरोनाको लक्षण देखिएकालाई पनि पिसिआरबाट परीक्षण गर्न नपाएको स्थानीय तहका जनप्रतिनिधिको गुनासो छ । ‘पिसिआरका लागि प्रदेशले किट छैन भन्छ । जाँच नभएकाले क्वारेन्टाइनमा बस्ने अवधि पुगेर उनीहरूलाई घर पठाउन सकेका छैनौँ,’ कैलालीको चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकाले भने ।

डायलाइसिस गर्न नपाएर मृत्यु, पछिमात्रै कोरोना संक्रमण भएको पुष्टि

पोखरा- मिर्गौलाको उपचारका लागि भारत गएका स्याङ्जाको वालिङ– ३ का ६० वर्षीय वृद्ध २३ जेठमा स्वदेश फर्किएका थिए । उनलाई भारतबाट आएकाले आइसोलेसनमा राखिएको थियो । 

उनको अवस्था गम्भीर भएपछि २५ जेठमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । लामो समयदेखि मिर्गौलापीडित उनलाई प्रेसर र सुगरको पनि समस्या देखिएको थियो । उनको रक्तचापलाई ठीक अवस्थामा ल्याउन नसक्दा डायलाइसिस गर्न सकिएको थिएन । डायलाइसिस गर्न नपाउँदै त्यही दिन राति ११ः२५ बजे मृत्यु भयो । उनको पनि मृत्यु भएपछि मात्रै कोरोना संक्रमण भएको रिपोर्ट आयो । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार उनलाई सुरुमा प्रि–आइसोलेसन वार्डमा राखेर परीक्षण गरिएको थियो । उनको अन्य बिरामीसँग सम्पर्क नभएको अस्पतालले जनाएको छ । 

सुनौलीमा मृत्युपछि कोरोना पुष्टि

भैरहवा- भारतको मुम्बईबाट फर्केका नवलपरासी पश्चिमको सुस्ता गाउँपालिकाका ३५ वर्षीय युवक बुधबार बिहान ४ बजे सुनौली नाका पुगेका थिए । उनको ५ बजे मृत्यु भयो । 

मृत्यु भएपछि उनको स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना पुष्टि भएको इलाका प्रहरी कार्यालय बेलहियाका इन्स्पेक्टर ईश्वरी अधिकारीले बताए । बिहीबार उनको दाहसंस्कार हुन सकेको छैन । त्यसका लागि छलफल भइरहेको स्थानीय प्रशासनले जनाएको छ । 
उनीसँगै भारतबाट एउटै गाडीमा ४८ जना आएका थिए । उनीहरूसँगै सुनौली नाकाबाट बुधबार बिहान तीन सय ६७ जना नेपाल प्रवेश गरेको प्रहरीको रिकर्ड छ । अहिले उनीसँगै गाडीमा आएका ४८ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीहरू कसैको पनि ठेगाना खुलेको छैन । 

कर्णालीमा दुई सातामा तीनको मृत्यु, सबैको मृत्युपछि मात्रै कोरोना पुष्टि

सुर्खेत-कर्णालीमा हालसम्म कोरोना संक्रमणबाट तीनजनाको मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिका– ११ का ३५ वर्षीय पुरुषको १७ जेठमा दुल्लुस्थित विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा मृत्यु भयो । मृत्युपछि उनको स्वाब परीक्षण गर्दा १८ जेठमा कोरोना संक्रमण भएको रिपोर्ट आयो । 

सुर्खेतको पञ्चपुरी नगरपालिका– १ खानीडाँडाका २० वर्षीय युवक भारतबाट फर्किएपछि १५ दिनसम्म जनता माविको क्वारेन्टाइनमा बसेका थिए । उनको आरडिटी नेगेटिभ आएपछि घर पठाएको थियो । घर पठाएकै दिन २२ जेठमा मृत्यु भयो । उनको मृत्युपछि स्वाब संकलन गरियो । २३ जेठमा आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भयो । 

त्यस्तै, डोल्पाको जगदुल्ला गाउँपालिका– ३ का ५८ वर्षीय पुरुषको २० जेठमा होम क्वारेन्टाइनमा मृत्यु भयो । उनको मृत्यु भएको चार दिनपछि २४ जेठमा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आयो । 

कर्णालीमा सुर्खेतको पशुपछी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरी दुई प्रयोगशालाबाट कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म कर्णालीका १२ हजार नौ सय सातको परीक्षण गरिएको छ । सुर्खेतमा एक हजार र जुम्लामा नौ सय ७५ गरी जम्मा एक हजार नौ सय ७५ नमुना परीक्षण गर्न बाँकी रहेको कर्णाली स्वास्थ्य निर्देशनालयका निर्देशन रिता भण्डारीले जानकारी दिइन् । 

बाँके र बर्दियामा एक–एकजनाको मृत्यु

बाँके-कोरोनाका कारण दाङ र बाँकेमा एक–एकजनाको मृत्यु भएको छ । दुवैजनाको मृत्युपछि मात्रै कोरोना भएको रिपोर्ट आएको छ । 

बाँकेको नरैनापुर गाउँपालिका–५ नयाँबस्तीका २५ वर्षीय युवकको ४ जेठ बिहान क्वारेन्टाइनमा मृत्यु भयो । भारतको मुम्बईबाट आएका युवालाई ३० वैशाखमा नरैनापुर गाउँपालिका–५ स्थित दीपेन्द्र प्राथमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो । मृत्यु भएपछि भेरी अस्पताल नेपालगन्जमा कोरोना जाँच गर्दा उनमा कोरोना देखिएको थियो । उनको मृत्युअघि सोही क्वारेन्टाइनमा रहेका आठजनामा पनि कोरोना पुष्टि भएको थियो । 

यसैगरी, भारतको नयाँदिल्लीमा व्यवसाय गर्दै आएका घोराही उपमहानगरपालिका–१८, दाङका एक व्यक्तिको पनि मृत्युपछि कोरोना पुष्टि भएको छ । लामो समयदेखि दम र सुगर रोगबाट पीडित ५९ वर्षीयको मृत्युपछि कोरोना पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

नयाँदिल्लीमै उपचारका क्रममा मृत्यु भएका उनको शव २४ जेठमा दाङ ल्याएर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको थियो । अन्तिम संस्कारका लागि गृहजिल्लामा ल्याइएको उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।

गुल्मीका युवकको मात्रै मृत्युअघि कोरोना पुष्टि

रूपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा ८ जेठमा मृत्यु भएका गुल्मीको मदाने गाउँपालिकाका ४१ वर्षीय युवकको मात्रै मृत्युअघि कोरोना संक्रमण भएको रिपोर्ट आएको थियो । उनी १ जेठमा अस्पताल भर्ना भएका थिए । 
सुरुवातमा उनको आकस्मिक कक्षमा उपचार भएको थियो । कोरोनाको लक्षण देखिएपछि २ जेठमा स्वाब संकलन गरिएको थियो । ५ जेठमा आएको रिपोर्टमा कोरोना संक्रमण भएको देखिएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै ७ जेठमा मृत्यु भएको थियो । 

पिसिआर मेसिन किन्न वीरगन्जमा चन्दा संकलन

एकातिर स्वास्थ्य सामग्री खरिदमा खर्च अनियन्त्रित छ भने कोरोनाको हटस्पट पर्सामा पिसिआर मेसिन किन्न चन्दा संकलन सुरु भएको छ । वीरगन्ज महानगरपालिकाले किन्न लागेको पिसिआर मेसिनका लागि रकम अपुग हुने भन्दै स्वैछिक चन्दा मागिएको छ । रकम जुटाउनका लागि कोरोना कोष सञ्चालन गरिएको छ । 

कोषमा अहिलेसम्म एक करोड ५७ लाख जम्मा भएको छ । वीरगन्ज उद्योग वाणिज्य संघले ७० लाख सहयोग गरेको छ । पिसिआर मेसिन खरिद गरी नारायणी अस्पतालमा जडान गर्ने महानगरपालिकाको योजना छ । प्रदेश २ को वीरगन्ज, सप्तरी र जनकपुरमा पिसिआर ल्याब छ । तर, परीक्षण निकै सुस्त छ । प्रदेश २ मा बिहीबारसम्म १५ हजार नमुना रिपोर्टको प्रतीक्षामा छन् । जब कि यो प्रदेशमा भएका तीन प्रयोगशालाबाट दिनमा आठ सय ७२ नमुना मात्र परीक्षण हुन्छ । अहिलेको गतिमा परीक्षण भए संकलित नमुनाको रिपोर्ट दिन मात्र १७ दिने लाग्नेछ ।