१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २९ बिहीबार १७:१६:००
Read Time : > 4 मिनेट
समाचार

प्रदेश ५ का मुख्यमन्त्री असन्तुष्ट : निशाना कता ?

Read Time : > 4 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २९ बिहीबार १७:१६:००

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले लकडाउन खुकुलो बनाउने र विदेशबाट सबै मानिसलाई एकैचोटि ल्याउने विषयमा असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै भनेका छन्, ‘एकैचोटि विदेशकालाई उद्धार गर, लकडाउन पनि अन्त्य गर भन्ने कुरा कतिसम्म उचित हो ? मेरो विचारमा यस्तो असन्तुलित विचारले हामीलाई गम्भीर दुर्घटनामा नै लैजाने हो । तर, भइरहेको छ त्यही ।’

उनले सरकारको योजना र निर्देशनलाई अवज्ञा गर्ने कुरालाई प्रोत्साहित गर्ने हो भने स्थिति बिग्रन सक्नेतर्फ पनि सचेत गराएका छन् । उनले भनेका छन्, ‘चीनजस्ता मुलुकको सफलताबाट शिक्षा लिने हो भने राज्य प्रभावकारी हुनैपर्दछ । तर, अगुवा नै सरकारविरुद्धको जुलुसको नेतृत्वकर्ता हुने भने हो राज्य कसरी प्रभावकारी होला ? अगुवाले नै राज्यको निर्देशन अवज्ञा गरेको देखिँदा सर्वसाधारणले त्यसबाट के सिक्लान् ?’

गरिखाने वर्गले अझै सरकारको आदेश मानिरहेको छ, तर बचतको अवस्थामा रहेको वर्गलाई तुरुन्तै सामान्य अवस्थामा फर्कनुपरेको उनको तर्क छ । उनले भनेका छन्, ‘समाजमा एकातिर अवज्ञा र अर्कातिर भय र त्रासको मनोविज्ञान देखिँदै छ । यो विरोधाभाषपूर्ण अवस्थाको अन्त्य गर्ने कुरामा बौद्धिक वर्ग नै अगाडि आउनुपर्छ । अहिलेसम्म हाम्रो अवस्था राम्रो हुनुको अर्थ अहिलेसम्मका हाम्रा कार्यनीति सही हुनु नै हो । अब सरकारलाई नीति परिवर्तनका लागि बाध्य बनाउँदा अहिलेको अवस्थाभन्दा राम्रो हुने सुनिश्चितता हुनुपऱ्यो नि । तर, अहिले नै त्यस्तो अवस्था आइसकेको छ जस्तो लाग्दैन ।’

उनको स्ट्याटस जस्ताको तस्तै
नेपालमा कोरोना नियन्त्रण र उपचारका सन्दर्भमा लकडाउन मात्र लगाइयो केही भएन भनेर प्रचार सुरु भएको छ । अब सडकमा प्रदर्शन गरेर तयारीको कामलाई समेत प्रभावित गर्ने कोसिस पनि देखिँदै छ । विरोधका एजेन्डा सकारात्मक देखिए पनि त्यसको प्रभाव भने नकारात्मक पर्नेतर्फ ध्यान जानु जरुरी छ ।

स्थानीय सरकारले बाहिरबाट आउने सबैलाई क्वारेन्टाइनमा राखेका छन् । लकडाउनबाट प्रभावितलाई राहत वितरण गरेका छन् । कन्ट्रयाक ट्रेसिङ र परीक्षणमा सहजीकरण गरेका छन् । संक्रमितलाई आइसोलेसन केन्द्र पुऱ्याएका छन् । संख्या बढ्दै जाँदा आफैँले पनि आइसोलेसन केन्द्र बनाउँदै छन् ।

प्रदेश सरकारले कोभिड– १९ को नियन्त्रण र उपचारको प्रदेश स्तरको रणनीति बनाएर कार्यान्वयनमा ल्याएका छन् । केन्द्रको निर्देशनभन्दा अघि बढेर कोरोना विशेष अस्पताल र आइसोलेसन केन्द्र बनाएका छन्। प्रयोगशाला बनाएका छन्, विस्तार गर्दै छन्। सम्भव भएसम्म स्वास्थ्य सामग्री जुटाएका छन्। जिल्ला र पालिकाहरूलाई सहजीकरण गरेका छन्। समयसमयमा आर्थिक भरथेग पनि गरेका छन् ।

केन्द्र सरकारले प्रत्यक्ष रूपमा मार्गदर्शन गरिरहेको छ । उपचार र परीक्षणको संयोजन गरेको छ। स्वास्थ्य सामग्री र परीक्षण किट उपलब्ध गराउँदै आएको छ। संकटग्रस्त ठाउँमा जनशक्ति पठाउने काम गरेको छ । प्रयोगशाला विस्तारमा सहयोग गरिरहेको छ। सीमाबाट हुने अनियमित प्रवेशलाई रोकेको छ ।

लकडाउन जारी भएपछि केन्द्र सरकारको मार्गदर्शनमा प्रदेश सरकार र स्थानीय सरकार मिलेर झन्डै दुई लाख बाहिरबाट आउनेको सुरक्षित ढंगले व्यवस्थापन गरेका छन् । अहिले पनि डेढ लाखलाई क्वारेन्टाइनमा राखेर समुदायलाई संक्रमणबाट जोगाउने प्रयास गरिरहेका छन् । केन्द्र सरकारले अनेकौँ समस्या झेल्दै यस अभियानको नेतृत्व गरिरहेको छ । एउटा प्रयोगशालाबाट सुरु भएको परीक्षण २२ वटा प्रयोगशालामा विस्तार भएको छ । सयौँको संख्यामा आइसोलेसन केन्द्र निर्माण भएका छन्। यसबीचमा परीक्षण, उपचार र निको हुने दर तीव्र रूपमा बढेको छ ।

तैपनि हाम्रो तयारीभन्दा भाइरसको गति तीव्र छ । महामारीको पूर्वतयारीमा विश्व नै थिएन । हामी तयार हुने अवस्था नै थिएन । यस्तो अवस्थामा अभाव देखिनु र समाधान गर्दै जानु कोभिड– १९ विरुद्धको संघर्षको विशेषता हो । हामीकहाँ भएको त्यस्तै छ ।

अहिले हामी जहाँ आइपुगेका छौँ, हिजोको तुलनामा धेरै प्रगति भएको छ । आवश्यकता जे छ त्यस हिसाबले अझै गर्न धेरै बाँकी छ । लकडाउनबाट हामीले धेरै नै उपलब्धि र काम गर्ने अवसर पायौँ । अहिलेको तयारी त्यसकै परिणाम हो । तर, पछिल्लो समय भारतको बढ्दो संक्रमणको असर प्रवासी श्रमिकले व्यहोर्नुपऱ्यो । उहाँहरू फर्कने क्रममा भित्रिएको भाइरसको संक्रमणले हामीलाई चुनौती दिइरहेको छ । भारतबाट आउनेको संख्याका आधारमा मात्र भन्ने हो भने यही चरणमा दश हजारभन्दा माथि नै संक्रमित संख्या पुग्न सक्छ । यस्तो अवस्थामा थप तयारीका लागि सरकारलाई सबैले प्रेरित र प्रोत्साहित गर्नुपर्ने होइन र ?

तर, हामीमा हौसला प्रदान गर्नेभन्दा विरोधको प्रवृत्ति हाबी छ । औषधि किन्न खोज्यो आउन नपाउँदै विरोध सुरु हुन्छ । सुरक्षा निकायलाई महामारीका विरुद्धमा परिचालन गऱ्यो, परिचालन नगर्दै विरोध हुन्छ, खर्च कम छुट्यायो भन्यो विरोध, खर्च धेरै भो भन्यो विरोध । समाजमा विरोधको प्रवृत्ति हाबी भएका कारणले प्रशासनयन्त्र निरुत्साहित छ ।

भाइरसका विरुद्धमा प्रयोग हुने कुन सामग्रीको मूल्य कति भन्ने कुराको कुनै टुंगो छैन । बजारमा अभाव हुँदा सामानको मूल्य बढिहाल्छ । अलिकति संक्रमण नियन्त्रणमा आउने अवस्था देखिँदा सामग्रीको मूल्य घट्न थालिहाल्छ । तर, हामी दिनदिनको मूल्य तुलना गरेर हतोत्साहित बनाउन खोज्छौँ । हिजो जसले सस्तोमा सामान दिन्छौँ भने, ती आज बेपत्ता छन् । कोटेसन आह्वान गर्दासमेत प्रस्ताव आउने गरेको छैन । अब त जिटुजीको पनि विरोध सुरु भइसक्यो । तल सामग्रीको अभाव छ । काठमाडौं मूल्यको बहसमा अल्झेको छ ।

अहिले प्रदेश र स्थानीय तह निजी क्षेत्रलाई गुहारेर चन्दाका रूपमा सामग्री पाउने कोसिस गर्दै छन् । पैसा भएर पनि स्वास्थ्य सामग्री किन्ने आँट प्रशासनले गरिरहेको छैन । आँट गरोस् पनि कसरी ? सञ्चारमाध्यममा आशंका र विरोधको बाढी छ । के यति वेला हामी भन्न सक्दैनौँ, जसरी हुन्छ जनताको जीवनको रक्षा गर । हिसाबकिताब समय आएपछि गरौँला । खोज्ने निकाय पनि छँदै छन् । खोजिरहेका पनि छन् । प्रणालीप्रति विश्वास गरौँ, विश्वास बढाऔँ ।

अहिले सबैभन्दा बढी संक्रमण प्रदेश २ र ५ मा देखिएको छ । अहिले त्यहाँ देखिएको संक्रमणको संख्याभन्दा तेब्बर वृद्धि हुने देखिन्छ । तर, अहिलेसम्म देखिएको संक्रमितको संख्यामा भारतबाट आउनेको हिस्सा ९२ प्रतिशतभन्दा माथि छ । समुदायमा पुगेको संक्रमितको संख्या निकै कम छ। त्यो पनि पहिचान भएको अवस्थामा छिट्टै नियन्त्रणमा आएका छन्। अझै पनि हाम्रो अवस्था नियन्त्रणबाहिर पुगेको छैन ।

तर, सरकारको योजना र निर्देशनलाई अवज्ञा गर्ने कुरालाई प्रोत्साहित गर्ने हो भने स्थिति बिग्रन सक्छ । चीनजस्ता मुलुकको सफलताबाट शिक्षा लिने हो भने राज्य प्रभावकारी हुनैपर्दछ । तर, अगुवा नै सरकारविरुद्धको जुलुसको नेतृत्वकर्ता हुने हाे भने राज्य कसरी प्रभावकारी होला ? अगुवाले नै राज्यको निर्देशन अवज्ञा गरेको देखिँदा सर्वसाधारणले त्यसबाट के सिक्ला ?

मेरो विचारमा गरिखाने वर्गले अझै सरकारको आदेश मानिरहेकै छ। तर, बचतको अवस्थामा रहेको वर्गलाई तुरुन्तै सामान्य अवस्थामा फर्कनुपरेको छ । एकैचोटि विदेशकालाई उद्धार गर, लकडाउन पनि अन्त्य गर भन्ने कुरा कतिसम्म उचित हो ? मेरो विचारमा यस्तो असन्तुलित विचारले हामीलाई गम्भीर दुर्घटनामा नै लैजाने हो । तर, भइरहेको छ त्यही ।

समाजमा एकातिर अवज्ञा र अर्कातिर भय र त्रासको मनोविज्ञान देखिँदै छ। यो विरोधाभाषपूर्ण अवस्थाको अन्त्य गर्ने कुरामा बौद्धिक वर्ग नै अगाडि आउनुपर्दछ । अहिलेसम्म दक्षिण एसियामा हामीभन्दा राम्रो अवस्थामा भुटान र श्रीलंका मात्र छन्। यसको कारण ती देशमा वैदेशिक रोजगारीमा जानेको संख्या तुलनात्मक रूपमा हाम्रोभन्दा कम भएको कारणले पनि संक्रमण नियन्त्रण गर्न सहज भएको हो। हाम्रो देशको भन्दा राम्रो क्षमता भएका मुलुकको अवस्था हाम्रोभन्दा अझै खराब छ । अहिलेसम्म हाम्रो अवस्था राम्रो हुनुको अर्थ अहिलेसम्मका हाम्रा कार्यनीति सही हुनु नै हो । अब सरकारलाई नीति परिवर्तनका लागि बाध्य बनाउँदा अहिलेको अवस्थाभन्दा राम्रो हुने सुनिश्चितता हुनुपऱ्यो नि । तर, अहिले नै त्यस्तो अवस्था आइसकेको छ जस्तो लाग्दैन ।

त्यसैले सरकारको निर्देशनलाई पालन गरौँ । सामाजिक दूरी कायम गरौँ । बाहिरी मान्छेसँग सम्पर्कमा आउँदा अनिवार्य रूपमा मास्कको प्रयोग गरौँ । बाहिर जाँदा हातले कुनै वस्तु नचलाऔँ । चलाउनुपरेमा तत्काल स्यानिटाइजर प्रयाेग गरौँ वा साबुनपानीले हात धोऔँ । यसमा सिंगो समाज अभ्यस्त भएमा एक महिनापछि स्थितिलाई सहज बनाउँदै लान सकिन्छ । त्यसपछि आउने चुनौतीलाई बनेको संरचनाले पनि सामना गर्ने अवस्था सिर्जना हुनेछ ।