१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २९ बिहीबार ०३:५८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

सरिता गिरीलाई कारबाही गर्ने तयारीमा समाजवादी पार्टी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २९ बिहीबार ०३:५८:००

नेपालले आफ्नो भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नक्सा सार्वजनिक गरेकोमा लगातार आपत्तिजनक अभिव्यक्ति र पछिल्लोपटक यसको विरोधमा संसद्मा संशोधन प्रस्ताव दर्ता गराएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीको संसद् पद गुम्न सक्ने खतरा देखिएको छ ।

गिरीले बुधबार दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता नलिए उनीमाथि कारबाही गरिने तत्कालीन समाजवादी पार्टीले बताइसकेको छ । तर, गिरीले आफू आफ्नो अडानमा कायमै रहेको बताएकी छिन् । योसँगै नक्सा संशोधन खारेजको माग गर्दै संशोधन प्रस्ताव दर्ता गराएकी सांसद गिरीलाई पार्टीले कारबाही गर्ने सम्भावना बढेको हो ।

‘जनता समाजवादी पार्टी देशको गम्भीर र जिम्मेवार पार्टी हो । यसका नेता–कार्यकर्ता कसैले पनि देशको भौगोलिक अखण्डता, सार्वभौमिकता र राष्ट्रिय स्वाधीनतामा कुनै पनि प्रकारले आँच पुर्‍याउने कार्य गर्नुहुँदैन र गर्न सक्दैनन् । जो–कसैले गरे पनि त्यस्ता कार्य दण्डनीय हुन्छन् । कसैलाई कुनै भ्रम नहोस्,’ डा. बाबुराम भट्टराईले ट्विटमार्फत संकेत दिएका छन् ।

उनी तत्कालीन संघीय समाजवादी पार्टीबाट समानुपातिक कोटामा प्रतिनिधिसभामा सांसद भएकी थिइन् । पार्टीले चाहेको अवस्थामा उनलाई संसद् पदबाट फिर्ता बोलाउन सक्छ । तर, अहिले समाजवादी पार्टी र राजपाको बीचमा एकीकरण भएर जनता समाजवादी पार्टी गठन भइसकेको छ । पार्टी एकीकरण भए पनि संसद्मा राजपा र समाजवादी नै अहिले अस्तिवमा छन् ।

नक्सासम्बन्धी संशोधन सरकारले ल्याएसँगै गिरीले संसद्मा अनावश्यक रूपमा पार्टीलाई बदनाम गराएको भन्दै कारबाही गर्ने सक्ने नेताहरूले बताएका छन् । बुधबार समाजवादी संसदीय दलको प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति निकालेर गिरीलाई आफनो संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका छन् । 

तत्कालीन समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गिरीले आफूसँग कुनै सल्लाह नगरेको नयाँ पत्रिकालाई बताए । ‘उहाँले फिर्ता नलिएमा पार्टीले यस सन्दर्भमा आवश्यक निर्णय लिनेछ,’ यादवको भनाइ छ । 

नक्सा प्रकरणमा सुरुमै गिरीले विरोध जनाएपछि एकीकरण गरेको समाजवादी र राजपा आफूहरू नक्सासहितको संशोधनको पक्षमा रहेको कुरा संसद्मा बताएका थिए । समाजवादी र राजपा नेताहरूका अनुसार गिरीले संसद्मा बोलेको कुराहरू उनको नितान्त व्यक्तिगत भएको भन्दै पार्टीभित्र उनलाई कारबाही गर्ने मतसमेत बलियो भएर आएको छ । अध्यक्ष यादव पार्टी एकीकरण भइसकेकाले सबै शीर्ष नेताहरूको बीचमा यसबारे सल्लाह र छलफल गरेर निष्कर्षसम्म पुगिन सक्ने बताए । 

गिरीले बुधबार दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिने कि नलिने भन्नेबारेमा केही खुल्न सकेको छैन । बुधबार संसद् सचिवालयमा प्रस्ताव दर्ता गराएपछि साँझ गिरीले आफू आफ्नो अडानबाट पछि नहटने बताइन् । ‘मसँग पार्टीका महासचिव, प्रमुख सचेतकसहितका नेताहरूले भेटेका छन् । मैले उहाँहरूलाई प्रस्ट रूपमा आफ्नो अडानबारेमा भनिसकेकी छु,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘मैले आफ्नो संशोधन तथ्यपरक रूपमा राखेकी छु । विनाप्रमाण सरकारले नक्सासम्बन्धी संशोेधन ल्याएको छ । प्रमाण बाहिर देखाएर हुँदैन, संशोधनमा ती कुरा ल्याउनुपर्‍यो नत्र खारेज हुनुपर्छ ।’ 

नेता नवराज सुवेदीले अब सरिता गिरीका अगाडि दुई मात्र विकल्प रहेको बताए । ‘संशोधन प्रस्ताव फिर्ता गरी नेपालको पूर्ण नक्सासहितको निसान छाप संशोधन पक्षमा दृढतापूर्वक उभिने या कारबाही भोग्न (पार्टी छाड्न) तयार हुने,’ उनले भने ।

नेताहरूले गिरीकै अभिव्यक्ति र केही भनाइका कारण पार्टी आलोचित भइरहेको भन्दै उनलाई यस्तो नगर्न पनि आग्रह गरेका थिए । पार्टीका कतिपय शीर्ष नेताहरूले नै बोलाएर उनलाई यस्तो नगर्नसमेत सचेत गराएको पार्टी स्रोतले बताएको छ ।