Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ जेठ २८ बुधबार १८:२३:००
Read Time : > 1 मिनेट
समाचार

जसपाले भन्यो– ...नत्र सरिता गिरीमाथि कारबाही

नेकपा र कांग्रेसका युवा संगठनले भने– गिरीलाई कारबाही होस्

Read Time : > 1 मिनेट
२०७७ जेठ २८ बुधबार १८:२३:००

राष्ट्रियताका विषयमा आफ्नै अभिव्यक्ति र कदमका कारण सांसद सरिता गिरीको पद धरापमा परेको छ । पार्टीले सांसद  गिरीलाई व्यक्तिगत रूपमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ ।
 
पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति जारी गर्दै गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका छन् । 

संसदमा छलफलको क्रममा रहेको संविधान संशोधन प्रस्तावलाई खारेज गर्न माग गर्दै अर्को संशोधन प्रस्ताव संसदमा दर्ता गराएपछि समाजवादी पार्टीले गिरीमाथि कारबाही गर्ने चेतावनी दिएको हो । 

गिरी समानुपातिक सांसद हुन्, पार्टीले चाहेको अवस्थामा उनलाई जुनसुकै वेला पनि फिर्ता बोलाउन सक्छ । 

जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि प्रस्ताव फिर्ता लिन निर्देशन दिएको र फिर्ता नलिए कारबाही हुने बताएका छन् ।  संविधान संशोधनसम्बन्धी विषयमा पार्टीले समर्थन जनाए पनि गिरीले पार्टी नीतिविपरीत संविधान संशोधन प्रस्ताव दर्ता गरेकी थिइन् । 

लिम्पियाधुरासहितको नक्सा समेटिएको निसान छापसम्बन्धी संविधान संशोधन विधेयक नै खारेज हुनुपर्ने उनको प्रस्तावमा छ । गिरीले यस्तो प्रस्ताव दर्ता गराएपछि उनीमाथि कारबाही गर्न मागसमेत उठेको थियो ।

यसअघि, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ र प्रमुख प्रतिपक्षी दल कांग्रेसको युवा संगठन नेपाल तरुण दलले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी गिरीलाई कारबाहीको माग गरेका छन् । 

संघले गिरीलाई एकहप्ताभित्र आवश्यक कानुनी कारबाही अघि बढाउन आग्रह गरेको छ । कारबाही नगरे गम्भीरतापूर्वक लिने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयं गिरी र सम्बन्धित दलले लिनुपर्ने चेतावनी संघले दिएको छ । 

तरुण दलले गिरीलाई कारबाहीको प्रक्रिया थाल्नुको सट्टा मौन बसेको भन्दै सरकारको पनि आलोचना गरेको छ । सांसद गिरीलाई अन्तर्राष्ट्रिय तत्वको संज्ञा दिँदै तरुण दलले कारबाहीको लागि माग गरेको छ ।