मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ जेठ २८ बुधबार १६:५१:००
Read Time : > 1 मिनेट
अर्थ

करको दरबारेको सूचना चुहावट भएको भए छानबिन गर्न सकिन्छ : अर्थमन्त्री खतिवडा

Read Time : > 1 मिनेट
२०७७ जेठ २८ बुधबार १६:५१:००

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट निर्माणका क्रममा करका दरको सूचना चुहावट भएको भए छानबिन गर्न सकिने बताएका छन् । 

संघीय संसद् प्रतिनिधिसभाको बुधबारको बैठकमा ‘आर्थिक विधेयक २०७७’ माथिको सामान्य छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै विद्युतीय सवारीको कर बढाउने विषयमा चुहावट भए–नभएको छानबिन गर्न सकिने बताएका हुन् । 

विधेयकमाथिको सामान्य छलफलका क्रममा सांसदहरूले बजेट सार्वजनिक हुनुभन्दा पहिले नै विद्युतीय सवारीसाधनमा कर बढाउने विषय चुहावट गरिएको भन्दै प्रश्न गरेका थिए । 

अर्थमन्त्री खतिवडाले जेठ १ देखि ७ गतेसम्म ७५ वटा र १६ गतेसम्म १९ वटा विद्युतीय गाडी भन्सारबाट छुटेको र कुनै पनि व्यावसायवक घरानाको प्रभावमा परी कर बढाउने विषय चुहावट नभएको स्पष्ट पारे । 

उनले करको चुहावट गरी विद्युतीय गाडी छुटाइएको भन्दै अर्थ मन्त्रालको व्यावसायिकता र व्यक्तिको चरित्रसँग जोडेर भ्रामक कुरा नगर्न आग्रह पनि गरे । 

उनले करको विषय कसैले चुहाएको रहेछ भने त्यसलाई छानबिन गर्न सकिने उल्लेख गरे । 

उनले भने, ‘जेठ १ देखि ७ गतेको बीचमा ७५ वटा गाडी आए, त्यसपछि १६ गते १९ वटा गाडी आएर समग्रमा ९३ वटा गाडी आए, त्यहीवेला एक सय ७९ वटा पेट्रोलियमका गाडी पनि छुटे । यसलाई कुनै व्यक्तिको निष्ठासँग जोडेर अर्थ मन्त्रालयको व्यावसायिकतासँग जोडेर व्यक्तिको चरित्रसँग जोडेर यसरी व्याख्या गर्दा अन्याय पनि त हुँदो हो नि । यसको सबै विवरणहरू सिस्टममा छ, अर्थ मन्त्रालयको गाडीको विवरण सबै । माननीय सदस्यहरूलाई म देखाइदिन्छु कुन–कुन दिन कति गाडी छुटेका छन् भनेर । भ्रम नफैलाऔँ यथार्थ कुरा त्यही नै हो ।’

अर्थमन्त्री खतिवडाले करका अंकहरू परिवर्तन १४ जेठको राति मात्रै हुने भएकाले चुहावट हुने कुनै ठाउँ नरहेको बताए । 

उनले आफ्नो दुई दशक लामो व्यावसायिक जीवनमा कुनै व्यावसायिक घरानाका लागि काम नगरेको र अब पनि नगर्ने स्पष्ट पारे । 

उनले बजेट आउनुभन्दा अघि पेट्रोलियम पदार्थबाट चल्ने गाडीहरू एक सय ७९ वटा छुटेको बताए । 

१४ गते दिउँसो दुईवटा विद्युतीय गाडी मात्रै छुटेकाले सयौँ गाडी छुट्यो भन्ने भ्रममा नपर्नसमेत अर्थमन्त्री खतिवडाले आग्रह गरे ।