मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
मोहन विष्ट
२०७५ पौष ३ मंगलबार १२:०९:००
Read Time : > 1 मिनेट
प्रदेश

सुरक्षागार्ड मृत्यु प्रकरण : ४२ घण्टापछि हाईपावर ट्रान्सफर्मरबाट निकालियो शव

Read Time : > 1 मिनेट
मोहन विष्ट
२०७५ पौष ३ मंगलबार १२:०९:००

कञ्चनपुर -  नेपाल विद्युत प्राधिकरण लालपुर विद्युत सव स्टेशनमा कार्यरत ५६ वर्षीय सुरक्षागार्ड चन्द्रदेव भट्टको ४२ घण्टापछि हाईपावर ट्रान्सफर्मरबाट शव निकाएको छ । सोमबार राती जिल्ला प्रशासनमा पीडित पक्ष, स्थानीय सरकार, विद्युत प्राधिकरण, प्रहरी प्रशासनबीच भएको सहमतिपछि पीडितपक्षले शव बुझेका हुन् । मृतक भट्टको शव अहिले महाकाली अञ्चल अस्पतालमा राखिएको छ । 

पीडितले शव बुझ्न नमान्दा दुईदिनदेखि अवरुद्ध भएको विद्युत सेवा पनि ४५ घण्टापछि सुचारु भएको छ । मंगलबार बिहान २ बजेतिरबाट कञ्चनपुरमा विद्युत सेवा सुचारु भएको हो । बेदकोट नगरका प्रमुख अशोक कुमार चन्दको पहलमा बसेको संयुक्त बैठकले चार बुँदै सहमपिछि समस्या समाधान भएको हो । बेदकोट नगरका प्रमुख चन्दसहित भीमदत्त नगर १९ का वडा सदस्य एव न्याय समिति सदस्य सन्तोषि साउद (ऐर) लगायतका स्थानीय जनप्रतिनिधी आफन्तले पीडित पक्षलाई सहमतिमा ल्याएका थिए । 

बेदकोट नगरका मेयर चन्दका अनुसार नेपाल विद्युत प्राधिकरणसहित सरकारले १० लाख, गोरखाली योद्दा सेक्युरेटी सुरक्षागार्ड कम्पनीले बिमासहित किरियाखर्च २ लाख २० हजार दिलाउने सहमति भएको छ । मृतक भट्ट परिवारका दुई जनालाई रोजगार दिने पनि सहमति छ । 

बैठकमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख कुवेर सिंह कडायतले घटनाको सत्यतथ्य छानबिन गरेर दोषी उपर कार्बाही प्रकृया अघि बढाउने वचन दिएका थिए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले घटनाको सत्यतथ्य छानविन, राहत दिलाउने विषयमा प्रशासनले पहल गर्ने प्रतिबद्धता दिएका थिए । प्रजिअ अधिकारीले विद्युत अवरुद्धका कारण अरु जनतामा परेको असरलाई पनि मध्य नजरगरिदिन आग्रह गरेका थिए । 

यसैविच मृतकका भतिजा प्रकास भट्टले सोमबार १४ जना विद्युतका कर्मचारीविरुद्ध किटानी जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख कुवेर सिंह कडायतले पीडितपक्षले कर्तव्य ज्यान अन्तर्गत दिएको  किटानी दर्ता भएको बताए । 

विद्युत प्राधिकरण सव स्टेशन लालपुरबाट विजुलीको तेल चोरी हुने गरेको थियो । केही महिना अगाडि तेल चोरीको विषयमा भट्टमाथि अन्य कर्मचारीले आरोप लगाएका थिए । मृतक आफन्तका अनुसार तेलचोरीको जिम्मा लिन भट्टलाई दवाव दिइएको थियो । कुन कर्मचारीले दवाव दिएको बारे उनीहरुले बताएनन् । 

कञ्चनपुर प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख कडायतले चार जना कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढिसकेको बताए । अहिले पनि लालपुर सव स्टेशन क्षेत्रका बाक्लो संख्यामा प्रहरी सुरक्षाकर्मी परिचालन गरेको छ ।