मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
भैरहवा भन्सार कार्यालयबाट जाँचपास भई भित्रिएको २७ हजार लिटर क्षमताको नयाँ रिफ्युलर ।
२०७७ जेठ २६ सोमबार २०:४७:००
Read Time : > 1 मिनेट
अर्थ

त्रिभुवन विमानस्थलमा हवाई इन्धन भर्न थपिए नयाँ चार रिफ्युलर

Read Time : > 1 मिनेट
२०७७ जेठ २६ सोमबार २०:४७:००

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बढ्दो हवाई इन्धन मागलाई सम्बोधन गर्न चार नयाँ रिफ्युलर (हवाईजहाजमा इन्धन भर्ने ट्यांकर) थप गरेको छ । विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्नका लागि आउने विदेशी विमान कम्पनीमा इन्धन भर्न २७ हजार लिटर क्षमताका चार नयाँ रिफ्युलटर थप गरेको निगमका निर्देशक मनोज ठाकुरले बताए । 

‘२७ हजार लिटर क्षमताको दुईवटा रिफ्युलर लकडाउनअघि नै आएका थिए । लकडाउनले रोकिएका थप दुईवटा रिफ्युलटर सोमबार दिउँसो भैरहवा भन्सार कार्यालयमा जाँचपास भई काठमाडौंका लागि हिँडिसकेका छन्,’ उनले भने । 

सामान्य अवस्थामा अन्तर्राष्ट्रिय उडान भर्ने विमान कम्पनीले दैनिक पाँच लाख लिटर इन्धन खपत गर्दै आएका छन् । यो इन्धन भर्न निगमसँग सातवटा रिफ्युलर मात्र छ ।

‘चारवटा १६ हजार लिटर र एउटा ११ हजार लिटर क्षमताको रिफ्युलर प्रयोगमा छ,’ ठाकुरले भने, ‘दुईवटा रिफ्युलर भने इन्डियन आयल कर्पोरेसन (आइओसी)ले फिर्ता गरिदिने सर्तमा निःशुल्क चलाउन दिएको हो । अब नयाँ रिफ्युलर सञ्चालनमा आएपछि आइओसीले दिएको पुरानो रिफ्युलर फिर्ता गरिदिन्छौँ ।’

नयाँ आएका चारवटै रिफ्युलरको सबै परीक्षण सकेपछि सञ्चालनमा ल्याउने उनले बताए । अन्तर्राष्ट्रिय उडान भर्ने विमान कम्पनीले एकैपटक ठूलो परिमाणमा इन्धन भर्ने भएका कारण निगमले ठूलो क्षमताको रिफ्युलर थपेको हो । निगमको सिनामंगलस्थित हवाई इन्धन डिपोका अनुसार सबैभन्दा धेरै टर्किस एयरलाइन्सले एकपटकमा ६० हजार लिटर इन्धन भर्ने गरेको छ । सामान्य अवस्थामा टर्किस एयरलाइन्स दैनिक उडान भर्न आउने गर्छ । त्यसैले टर्किसमा इन्धन भर्न ४–५ वटा रिफ्युलटरमा इन्धन ओसार्नुपर्ने बाध्यता छ ।

टर्किसपछि कोरियन विमानले एकपटकमा २८ देखि ३० हजार लिटर इन्धन भर्ने गर्छ । कतार एयरलाइन्सलगायत मध्यपूर्वी देशहरूमा उडान भर्ने विमान कम्पनीले एकपटकमा १८ देखि २० हजार लिटर इन्धन भर्ने गर्छन् । ‘विदेशी विमानहरूले एकैपटकमा ठूलो परिमाणले इन्धन भर्ने भएका कारण हामीलाई ठूलो क्षमताको रिफ्युलरको खाँचो थियो । अहिले थपिएका चारवटै रिफ्युलर अन्तर्राष्ट्रिय उडानतर्फ प्रयोग गरी विदेशी विमानमा चाँडो इन्धन भर्ने व्यवस्था मिलाउँछौँ,’ ठाकुरले भने ।

त्रिभुवन विमानस्थलमा आन्तरिक उडान भर्ने विमान कम्पनीले सामान्य अवस्थामा दैनिक एक लाख लिटर इन्धनको माग गर्ने गरेका छन् । उनीहरूको माग पूरा गर्न सानो क्षमताको रिफ्युलर प्रयोग हुँदै आएको छ ।
पुरानो १४ वटा रिफ्युलरलाई विस्थापित गर्न सोही संख्यामा नयाँ रिफ्युलरको टेन्डर भएको छ । निगमका अनुसार चारवटा २७ हजार लिटर क्षमताको रिफ्युलर खरिदका लागि टेन्डर भएको छ । ‘भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सकिन लागेर उडान भर्ने तयारी भइरहेका कारण हामीले यी दुईवटा विमानस्थलका लागि लक्षित गरी दुई–दुईवटा ठूलो क्षमताको रिफ्युलर खरिद प्रक्रिया अघि बढाएका हौँ,’ ठाकुरले भने, ‘१० वटा रिफ्युलर १६ हजार लिटर क्षमताका हुन् । यी आन्तरिक उडान भर्ने विभिन्न विमानस्थलमा प्रयोग गर्छौँ ।’

आयल निगमले समयमै रिफ्युलर खरिद गर्न नसक्दा २४ देखि ४१ वर्षसम्मका पुराना १४ रिफ्युलर प्रयोग गरिरहेको छ । जीर्ण अवस्थामा पुगेका यी रिफ्युलरको कार्यक्षमता खस्कँदै गएका कारण नयाँ खरिदका लागि निगमलाई दबाब बढेको हो ।