१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ जेठ २६ सोमबार ०५:५५:००
Read Time : > 3 मिनेट
मुख्य समाचार

दुई महिनादेखि विद्यालय बन्द, ढुंगामाटो खेल्दै बालबालिका 

Read Time : > 3 मिनेट
२०७७ जेठ २६ सोमबार ०५:५५:००

लकडाउनले विद्यालय बन्द भएपछि जिल्लाका बालबालिकाको पठनपाठनमा असर परेको छ । बालबालिका अहिले पठनपाठनभन्दा पनि बढी घरायसी कामका साथै गिटी फुटाउने काममा देखिन्छन् ।

बालबालिकाको पठनपाठनको सुधारका लागि अनलाइन अध्ययनको बहस चले पनि कर्णालीजस्तो दुर्गम ठाउँमा यसको सम्भावना निकै कम देखिन्छ । यहाँका अधिकांश बालबालिका इन्टरनेटको पहुँचमा छैनन् । बालबालिकाको हातमा इन्टरनेटसहितको ल्यापटप र मोबाइलको व्यवस्था गर्न सक्ने अभिभावकको हैसियत छैन । 

चन्दननाथ नगरपालिकाले कक्षा ४-१० सम्मका विद्यार्थीलाई सामुदायिक रेडियोमार्फत रेडियो अडियो पढाइ सुरु गरेको छ । बन्दाबन्दीले विद्यार्थीको पढाइमा प्रभावित पारेकाले सामुदायिक रेडियोमार्फत पढाउन सुरु गरिएको नगरपालिका उपप्रमुख अप्सरादेवी न्यौपानेले बताइन् । अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिक विषयको रेडियो अडियो कक्षा सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । 

अनलाइन पठनपाठन कठिन

जुम्लाका आठवटै स्थानीय तहमध्ये चन्दननाथ नगरपालिका मात्र इन्टरनेटको पहुँचमा छ । सात गाउँपालिका इन्टरनेटको पहुँचभन्दा बाहिर छन् । बालबालिकाको पढाइ अनिश्चित बनेपछि अनलाइन अध्यापन गर्न थालिए पनि जुम्लामा अनलाइन प्रविधिबाट पठनपाठन सम्भव नदेखिएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए ।

जिल्लाका सबै स्थानीय तहका वडामा इन्टरनेट सुविधा नपुगेकाले विद्यार्थी, शिक्षक र अभिभावक इन्टरनेट साक्षरतामा अभ्यस्त नहुँदा विद्यार्थीलाई अनलाइन प्रविधिबाट अध्यापन गराउने सम्भव नदेखिएको हो । स्थानीय तहका जनप्रतिनिधिले अनलाइन प्रविधिबाट बालबालिकालाई अध्यापन गराउन असम्भव हुने भन्दै विकल्पको खोजी गर्न थालेका छन् । 

लकडाउनका कारण बालबालिकाको पढाइ एक वर्ष पछि धकेलिने अवस्था देखिएको छ । अनलाइन पठनपाठनको बहस भए पनि हिमाली जिल्लामा यो प्रविधि उपयुक्त छैन । निजी आवासीय विद्यालय संगठन (प्याब्सन) जुम्लाका सचिव रतनबहादुर शाहीले सदरमुकाम खलंगाका बालबालिकामध्ये १० प्रतिशत मात्र इन्टरनेटको पहँुचमा रहेको बताए । जिल्लामा निजी र संस्थागत विद्यालयमा गरी ६ हजार बालबालिका अध्ययनरत छन् ।

विद्यार्थीहरू घाँसदाउरामै व्यस्त, दुर्गममा अनलाइन शिक्षा आकाशको फलजस्तै

हुम्लामा २६ उच्च मावि र एक सय १८ वटा आधारभूत विद्यालय छन् । जसमध्ये दुईवटा विद्यालयमा नियमित पठनपाठन चलिरहेको छ । अन्य विद्यालय महिनौँदेखि बन्द छन् । बालबालिकाहरू घाँसदाउरा र खेतबारीमा व्यस्त हुँदै आएका छन् ।

लकडाउनले विद्यालय बन्द भएपछि एसइईका कक्षा दुईवटा रेडियोमार्फत पढाउन थालिएको छ । जेठ, असार, साउन महिना मात्रै खुल्ने लिमीका विद्यालयका शिक्षक गाउँ नै छाडेर आ-आफ्ना घर फर्किएका छन् । 

नेपालका केही निजी विद्यालय र काठमाडौंका खुला विश्वविद्यालयका लागि अनलाइन शिक्षा नौलो नभए पनि दुर्गमका शिक्षक, विद्यार्थी र अभिभावकका लागि आकाशको फलजस्तै भएको रारा बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख लालकेशर रोकाया बताउँछन् । ‘कर्णालीका दुर्गम जिल्लाका बालबालिकाको दिनचर्या केही फरक छ । बिहान उठेर बेलुकीसम्म घरको काम सघाउने, दिनभर गाई चराउने अनि साथमा एक भारी दाउरा पनि लिएर आउनुपर्ने बाध्यता छ,’ रोकायाले भने । 

शिक्षक, विद्यार्थी र अभिभावकबीच छैन समन्वय

लमजुङ जिल्लाका सबै ठाउँमा इन्टरनेटको पहुँच नहुँदा अनलाइन शिक्षा सञ्चालन गर्न नसकिएको बेँसीसहर नगरपालिका–७ स्थित जनविकास माविका प्रधानाध्यापक रत्नमान श्रेष्ठ बताउँछन् । बन्दाबन्दीका कारण आफ्ना गाउँघरमा फर्केका कारण कुनै पनि विद्यार्थी र अभिभावक सम्पर्कमा आएका छैनन् ।

उनका अनुसार विद्यालयले एसइई परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि भने सम्बन्धित विषय शिक्षकले निरन्तर सम्पर्क गर्दै शैक्षिक परामर्श प्रदान गरिरहेका छन् ।

‘महामारीका वेला दूरशिक्षा, भर्चुअल लर्निङलगायत प्रविधिमा आधारित सिकाइलाई प्राथमिकता दिनुपर्ने देखिन्छ,’ जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख वीरबहादुर गुरुङले भने, ‘हाम्रो विद्यमान संरचना एवं स्रोतसाधनको अभावका कारण सबैको पहुँच नपुग्नु चुनौतीपूर्ण बनेको छ ।’

उनका अनुसार लमजुङमा तीन सय ३४ वटा सामुदायिक विद्यालय छन् । आठ स्थानीय तहमध्ये बेँसीसहर नगरपालिकाले मात्र रेडियो शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । अन्य स्थानीय तहले विद्यार्थीका लागि कुनै कार्यक्रम सञ्चालन गरेका छैनन् । 

विद्यार्थीले पढेको बिर्सिए

रसुवाकाे गोसाइँकुण्ड गाउँपालिका–६ का राजकुमार देवकोटा ६ चैतदेखि सञ्चालन हुने एसइई परीक्षामा सहभागी हुने तयारीमा थिए । परीक्षा दिन उनी ५ गते नै आफ्नो घरदेखि १५ किलोमिटर टाढा परीक्षा केन्द्र रहेको स्याफ्रुबेँसी पुगेका थिए । बेलुकीको खाना खाएर परीक्षाको तयारी गर्दै थिए । घरबाट उनको दाजुको फोन आयो । भोलिदेखि सुरु हुने भनिएको एसइई परीक्षा रद्द भयो, भोलि बिहानै बस चढेर घर फर्किनू । राम्रो तयारी गरिरहेका उनलाई परीक्षा रद्द हुनेबित्तिकै नरमाइलो लाग्यो ।

भोलिपल्ट बिहानै उनीसँगै गएका साथीहरूसँग घर फर्किए । घर फर्किएपछि त्यसअघिका जस्तो दिन रहेन । हिजोआज उनका दिनहरू आमाबुबालाई घरको काममा सघाउने, टिभी हेरेर बित्ने गरेको छ । भन्छन्, ‘यताउति गफ गरेको सुन्यो खाली कोरोना भाइरसको कुरा मात्र । कोरोनाले धेरैजनाको मृत्यु भइरहेको जस्ता समाचारले पढाइमा त्यति ध्यान दिन सकिरहेको पनि छैन ।’ एसइई दिन मिहिनेतका साथ जति तयारी गरेका थिए, त्यो सबै अहिले बिर्सिसकेको उनी बताउँछन् ।

गोसाइँकुण्ड गाउँपालिका–५ की छिरिङ तामाङ पनि एसइईका लागि गरेको तयारी अहिले सबै बिर्सिसकेको बताउँछिन् । टिभी हेर्ने, साथीहरूसँग गफ गरेर बस्ने, परिवारका सदस्यसँग बसेर रमाउने उनको दिनचर्या बन्न थालेको छ । ‘एसइई दिने वेलामा जति तयारी गरेकी थिएँ सबै बिर्सिसकेँ, बिहान–बेलुका किताब हेर्छु, तर पढ्न मन लाग्दैन,’ उनी भन्छिन् ।

सामुदायिक विद्यालयसँग छैन नयाँ योजना

सिराहा सदरमुकामको चन्द्र माध्यमिक विद्यालय कक्षा ११ र १२ मा अनलाइन पठनपाठन गर्ने तयारीमा जुटेको छ । कक्षा ११ र १२ मा ६ सय विद्यार्थी रहेकाले सबैलाई समेट्ने गरी अनलाइन माध्यमबाट पठनपाठन गराउने तयारीमा जुटेको हो । ११ र १२ बाहेक अन्य कक्षाको पठनपाठन सुचारु गर्न विद्यालयले कुनै पहल गरेको छैन । जिल्लाका चार सय ३५ सामुदायिक विद्यालयमा पठनपाठन ठप्प छ ।

विद्यालयहरूले वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरे पनि नयाँ शैक्षिक सत्रलाई कसरी अगाडि बढाउने बारेमा कुनै प्रयास गरेका छैनन् । शिक्षा विकास तथा समन्वय एकाइ सिराहाका प्रमुख विजयकुमार मण्डलले पठनपाठनलाई कसरी अगाडि बढाउनेबारे स्थानीय तहले निर्णय गरेको कुनै जानकारी नआएको बताए । ‘जारी लकडाउन र लकडाउनपछि कसरी पठनपाठन हुन्छ त्यसबारे स्थानीय तहले कुनै निर्णय गरेको जानकारीमा छैन,’ उनले भने ।