मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७५ माघ १४ सोमबार १०:५०:००
Read Time : > 2 मिनेट
विश्व

भेनेजुएला संकट, विभाजित विश्व

Read Time : > 2 मिनेट
एजेन्सी
२०७५ माघ १४ सोमबार १०:५०:००

युरोपेली राष्ट्रहरूले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई आठ दिनभित्र निर्वाचन मिति घोषणा नगरे आधिकारिक रूपमा विपक्षी नेता हुँवा गुएइदोलाई राष्ट्रपतिको मान्यता दिने चेतावनी दिएका छन् । राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकमा युरोपेली राष्ट्रका प्रतिनिधिहरूले सो चेतावनी दिएका हुन् । सो चेतावनीसँगै भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो थप दबाबमा परेका छन् । बुधबार विपक्षी नेता गुएइदोले सडकबाटै आफूलाई कार्यबाहक राष्ट्रपति घोषणा गरेका थिए । अमेरिकालगायत दर्जनौँ राष्ट्रले गुएइदोलाई समर्थन गरिसकेका छन् । आइतबार सुरक्षा परिषद्का स्थायी सदस्य फ्रान्स, बेलायत, जर्मनीलगायत अन्य राष्ट्रहरूले भेनेजुएलामा ताजा निर्वाचनको माग गरेका हुन् । 

मदुरोलाई सेनाको साथ 
भेनेजुएलाको शक्तिशाली सेनाले राष्ट्रपति निकोलस मदुरोलाई पूर्ण समर्थन रहेको जनाएको छ । सेनाको जनरलसमेत रहेका रक्षामन्त्री भ्लादिमिर पाड्रिनोले ५६ वर्षीय मदुरो नै मुलुकको ‘वैधानिक राष्ट्रपति’ रहेको बताएका छन् । उनले सम्भावित ‘सत्ता विद्रोह’विरुद्ध जस्तोसुकै कदम चाल्न भेनेजुएलाको सेना दृढ रहेको बताएका छन् । पाड्रिनोको घोषणालगत्तै अरू आठजना जनरलले पनि राष्ट्रपतिको पक्षमा समर्थन जनाएका छन् । विपक्षी नेता गुएइदोले भेनेजुएली सेनाको उच्च नेतृत्वको विश्वास जित्न सकेका छैनन् ।

न्यायिक निकायको समर्थन पनि मदुरोलाई
देशको सर्वोच्च अदालतलगायत न्यायिक निकायले मदुरो नै वैधानिक राष्ट्रपति भएको जनाएका छन् । मदुरोका समर्थक न्यायाधीश रहेको सर्वोच्च अदालतले मदुरोलाई समर्थन रहेको जनाएको छ । ‘विदेशी सरकारहरूको उक्साहटमा भेनेजुएलामा सत्ताविद्रोहको तयारी भइरहेको हामीलाई लागेको छ,’ अदालतले भनेको छ ।

अमेरिकाले थप प्रतिबन्ध लगाउन सक्ने
अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलाविरुद्ध थप आर्थिक नाकाबन्दी लगाउने संकेत गरेका छन् । प्रदर्शनकारीमाथि सरकारले सैनिक शक्ति प्रयोग गरेको भन्दै ट्रम्पले ‘सबै विकल्प खुला रहेको’ चेतावनी दिएका छन् । भेनेजुएलामा उत्पादन हुने एकतिहाइ इन्धन अमेरिका निकासी हुने गर्दछ । विश्लेषकहरूले तेल आयातमा कुनै किसिमको नाकाबन्दी लगाइए त्यसले अमेरिकी अर्थतन्त्रमा समेत असर पर्ने बताएका छन् ।
ट्रम्पले भेनेजुएला विवादमा डेमोक्र्याटिक पार्टीको समर्थन पाएका छैनन् । डेमोक्र्याटिक पार्टीका वरिष्ठ सदस्य एवं सिनेटर बर्नी स्यान्डर्सले भने, ‘हामीले विगतका पाठबाट सिक्नुपर्दछ र कुनै मुलुकको सत्ता परिवर्तनमा अल्झिनु हुँदैन वा कुनै किसिमको सत्ताविद्रोहलाई समर्थन गर्नु हुँदैन । विगतमा चिली, ग्वाटेमाला,  ब्राजिल र डोमिनिकन रिपब्लिकमा अमेरिकी प्रयत्न खासै फलदायी नरहेको उदाहरण हाम्रै सामु छर्लंग छ ।’ मदुरोले अमेरिकामा रहेको भेनेजुएलाको राजदूतावास र वाणिज्य दूतावास बन्द गर्ने घोषणा गरेका छन् ।

अन्तर्राष्ट्रिय समुदाय दुई कित्तामा 
विपक्षी नेता गुएइदोको घोषणालाई अमेरिका, युरोपेली युनियन, ब्राजिल, पेरु, अर्जेन्टिना, कोलम्बियासमेतका केही दक्षिण अमेरिकी मुलुकहरूले समर्थन गरेका छन् । तर, भेनेजुएलामा सहयोग गरिरहेका चीन र रुसले राष्ट्र«पति मदुरोलाई समर्थन गरेका छन् । 
रुसी राष्ट्र«पति भ्लादिमिर पुटिनले मदुरोलाई टेलिफोन गरी समर्थन जनाएका छन् । भेनेजुएलामा उत्पन्न संकट बाहिरी मुलुकको उक्साहटमा भएको पुटिनले बताएका छन् । भेनेजुएलालाई सबैभन्दा बढी ऋण उपलब्ध गराउँदै आएको चीनले बाह्य शक्तिले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरेकाप्रति आपत्ति जनाएको छ । मदुरोलाई मेक्सिको, क्युबा र बोलिभियाका वामपन्थी सरकारहरूले विगतमा झैं समर्थन यथावत् रहेको जनाएका छन् ।

राजनीतिक तनाव अन्त्य गर्न राष्ट्रसंघको अपिल
राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकमा परिषद्का एक उच्च राजनीतिक अधिकारीले भेनेजुएलाको राजनीतिक संकट समाधान गर्न वार्ता तथा सहकार्यको खाँचो रहेको बताएका छन् । ‘भेनेजुएलाका जनतालाई शान्ति र समृद्धि तथा मानवअधिकारको प्रत्याभूति गराउन राजनीतिक समाधान खोज्नुपर्ने अवस्था आएको छ,’ राष्ट्र«संघका उच्च राजनीतिक तथा शान्ति निर्माण मामिला अधिकारी तथा उप–महासचिव रोजमेरी डिकार्लोले भने । 

राष्ट्रसंघका महासचिवले संकट समाधानका लागि पुनः आफू मातहतका निकायलाई निर्देशन दिएको बताउँदै उप–महासचिव डी कार्लोले भेनेजुएलाका जनताले मानवअधिकारको पूर्ण उपभोग गर्नेे वातावरण बनाउनुपर्नेमा जोड दिए ।

इयूको सर्त अमान्य : मदुरो
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले तत्काल निर्वाचन गराउन युरोपेली युनियन (इयू)को चेतावनीको विरोध गरेका छन् । भेनेजुएला इयूमा आबद्ध नरहेकाले उसको निर्देशन मान्न आफू बाध्य नहुने राष्ट्रपति मदुरोको भनाइ छ । ‘उनीहरूले तत्काल निर्वाचन गर्न भेनेजुएलालाई दिएको चेतावनीपूर्ण सर्तलाई फिर्ता लिनुपर्छ । एक सार्वभौम राष्ट्रलाई कसैले अन्तिम चेतावनी दिन सक्दैन,’ मदुरोले भने । स्वतन्त्र राष्ट्रलाई शक्तिराष्ट्रहरूले ताजा निर्वाचनको मिति तोक्न अल्टिमेटम दिन नमिल्ने मदुरोको तर्क छ । त्यस्तै, भेनेजुएलाका विदेशमन्त्री जर्ज अरेजाले न्युयोर्कस्थित राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गर्दै मदुरो वैधानिक राष्ट्रपति भएको र भनेजुएलालाई अन्य देशले ताजा निर्वाचनका लागि दबाब दिन नमिल्ने बताए । ‘कसैले पनि हामीलाई निर्वाचनका लागि अल्टिमेटम दिन मिल्दैन,’ अरेजाले भने । राष्ट्रपति मदुरो एक महिनाअघि सम्पन्न निर्वाचनमा पुनः निर्वाचित भएका थिए । विपक्षीको बहिष्कारबीच सम्पन्न सो निर्वाचनलाई अन्तर्राष्ट्रिय समुदायले भने मान्यता दिएको थिएन ।